

मानव सभ्यताको विकाससंग संगै धार्मिक रहन सहनको समेत विकास भएको छ । मानवले आफनो दैनिकीलाई उत्तिकै महत्वको साथ धार्मिक कृतलाई समेत गरेको पाइन्छ । चाहे त्यो प्राकृतिक होस वा अहिलेको धार्मिक आचरण र व्यवहार । तर रहेक ठाउमा मानवको बसाई र रहन सहनले समेत उसको धार्मिकतामा फरक पर्ने गरेको छ । रहेक जात जातिको आ आफनो धार्मिक पहिचान रहेको छ । जसले बहुवादी समाजको निर्माण समेत गरेको छ । यसो त महोत्तरी जिल्ला धार्मिक सम्पदाले भरिपुर्ण अवस्था रहेको छ । कुनै समयमा महोत्तरीमा ठाकुरवंशको राज्य नै थियो जसले मिथिलामा आफनो विशिष्ठशताको शासन व्यवस्था समेत चलाएका थिए । तर समग्र महोत्तरी जिल्ला भन्दा पनि बर्दिवास क्षेत्रको धार्मिक सम्पदाहरुको विषयमा चर्चा गरौँ ।
महोत्तरीको दक्षिणवर्ती गाउ औरही, गौशाला,रामगोपालपुर लगायतका ठाउबाट दोश्रो मुलुक भारतीय क्षेत्रबाट पनि मानिसहरु चुरे क्षेत्रबाट काठ ढुवानी गर्दा विश्रामस्थलको रुपमा बर्दिवासलाई लिने गरेका थिए । बर्दिवासमा रहेको कामेश्वरनाथ महादेव मन्दिर तथा पोखरी रहेकै स्थानहरुलाई प्रयोग गरिने गरिएको थियो । काठ ओसार्नको लागि सर्वसधारणहरु सवारीको रुपमा गोरुलाई प्रयोग गरिने गर्दथे । मैथिली भाषामा गोरुलाई बरद भन्ने गरिन्छ भने त्यसलाई राखिने ठाउलाई वास स्थान भनिन्छ । अर्थात बरदवासबाट अपभ्रंग हुदै बर्दिवास भन्ने गरिएको एक थरिको कथन रहेको छ । अर्को कथन अनुसार भारतबाट जागिरको कम्रमा घर फर्कने पहाडतिरिका सिपाहीले बर्दि खोलेर बास बस्ने गरेको हुनाले यस ठाउको नाम बर्दिवास रहन गएको कतिपयको कथन रहेको छ । बर्दिवासमा मिश्रीत बसोवास भएको कारणले गर्दा समेत धार्मिक रितिरिवाज समेत विविधतायुक्त नै रहेको छ ।
बर्दिवास क्षेत्र वरिपरि रहेको केही धार्मिक स्थलहरुको चर्चा गरौँ ।
टुटेश्वरनाथ महादेव मन्दिर
बर्दिवास क्षेत्रको सबै भन्दा बढि चर्चित धार्मिक स्थलको रुपमा रहेको टुटेश्वरनाथ महादेव मन्दिर । चुरे जंगलको बिचमा रहेको यस मन्दिर वरिपरि जंगल नै जंगल भएको कारणले निकै आकर्षण समेत रहेको छ । खास गरेर साउन महिनामा यस मन्दिरमा जलाभिषेक गर्नको लागि नेपाल भारतबाट लाखौको संख्यामा श्रद्धालुहरु आउने गरेका छन । यसबाट टाढाटाढा सम्म देखिने गरिएको वनजंगलको प्रकृतिक वातावरणले जोकोहीको मनलाई लोभ्याउने गरिन्छ । जंगलको बिचमा रहेको कारणले श्रद्धालुहरुको लागि एउटा आकर्षणको केन्द्र रहेको छ । यो मन्दिरमा आएर भागल गर्दा सबै मनोकामना पुरा हुने भएपछि श्रद्धालुहरुको लागि समेत यो एउटा महत्वपुर्ण आस्थाको केन्दको रुपमा रहेको छ । नदी र खहरे खोलाको शिखर(कैलाश पर्वत)मा रहेको टुटेश्वरनाथ महादेव मन्दिरलाई वरिपीको सालको जंगलले अकार्षक र मनमोहक बनाइदिएको छ । जहाँ हजारौं हजार प्रेम जोडीहरुको टुटेको मन जोड्ने काम टुटेश्वर महादेवले गर्दै आएको धार्मिक जन विश्वार छ ।
मानिस घर शान्ति, शन्तानको दिर्घायु, बैवाहीक जीवन खुशीयाली बनाउन, मनोकामना लिएर भक्तजन मन्दिरमा आउने गर्छन् । मनोकामना पुरा भएपछि बोलबम आउने, लड्डु चढाउने, सुन चाँदी दान गर्ने , भौतिक संरचना बनाइने जस्ता भाकलहरु गर्ने गरेका छन् । महोत्तरी जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको छ । यस मन्दिरमा पूजा गर्न विभिन्न देशहरूबाट हिन्दु धर्मावलम्वीहरू धर्म गर्न, इच्छाहरू पूरा गर्न आउदछन् । लाखौं लाख मानिसहरू साउन महिनामा आफ्नो भाकल पुरा गर्न र जल चढाउन आउदछन् । यस मन्दिरमा साउन महिनामा मात्र नभइ अन्य दिनहरू जस्तै हरितालिका तिज मेला, एकादशी मेला, शिव रात्री मेलामा पनि भिड भाड हुने गर्दछ ।
प्रेम जोडीले आफ्नो प्रेमको चिनो टुटेश्वर महादेव मन्दिर साक्षी राखी मायाको चिनो साटासाट गर्ने गरेका छन् । एकअर्काप्रति समर्पित भएर टुटेश्वरनाथको शिव लिंङ्गमा झुकेर कसम खाने, मन्दिर वरिपरी रहेको रुखमा, पाटिपौवामा प्रेम जोडीहरुले सम्झनाका लागि नाम लेख्ने गरेका छन ।मन्दिरले पहाडी र मधेसी समुदायबीचको समाजिक सद्भावको गाँठोलाई हरके बर्ष बलियो बनाउने काम गरेको छ । किंवदन्ति अनुसार प्राचिन समयमा एक वसाहाले स्थानिय किसानको वालि खादै गर्दा उक्त किसानले बसाहालाई लखेट्न थाले र रिसले चुर भई खुकुरी प्रहार गरे । वसहाको कान टुट्यो । भगवानरूपी वसाहा भाग्ने क्रममा जंगल प्रवेश गरी अदृष्य हुनु भयो । किसान छक्क पर्दै बसाहाको रगत र पाइलाको आधारमा पछ्याउदै जाँदा जीउ भरि सितै सित र तोरीको फुल टाँसिएको दाहिने पट्टीको कान काटिएको अवस्थामा ढुङ्गाको रूपमा रहेको साँढेलाई देखी किसान डराई डराई मैले गल्ती गरेछु भन्दै भगवानसँग क्षमा मागे र गाउँमा गएर सुनाउदा गाउँलेहरू अचम्मित मान्दै हेर्न जादा सत्य घटना फेला पारेपछि घटना स्थलमा ढुङ्गाको कान फेला पारे । त्यस कानलाई लगेर साँढेका कानसँग मिलाउँदा ठ्याक्कै मिल्न गएकोले यस स्थानलाई टुटेश्वर गाउँ नामाकरण भइ टुटेश्वरनाथ मन्दिरको स्थापना गरिएको जन विश्वास छ ।
पंचधुरा मन्दिर
महोत्तरीको अर्को प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको छ पंचधुरा मन्दिर । श्री पञ्चधुरा महादेव मन्दिर जिल्ला महोत्तरी बर्दिबास नगरपालिका वडा न. ४ माईस्थान चोक भन्दा १ कि. मि. उत्तर सुन्दर रमणिय डाडाँमा अवस्थित छ । यस मन्दिरको महत्व समेत निकै रहेको छ । खास गरेर जंगलकै बिचमा रहेको कारणले शान्त र एउटा अनुपम अनुभति समेत यहा आउने भक्तजनले प्राप्त गर्ने गरेका छन । यस क्षेत्रमा हुने गरिएको रहेक धार्मिक कार्यक्रममा आउने भक्तजनहरुले यस मन्दिरमा नछुटटाई दर्शन गर्ने गरेका छन । यो मन्दिर श्रद्धालुहरुको लागि निकै आकर्षणको केन्द्र रहेको छ । श्रद्धालुहरुको भाकल समेत पुरा हुने गरिएको कारणले श्रद्धालहरुको संख्यामा रहेक वर्ष वृद्धि हुने गरिएको छ । यस मन्दिरको स्थापनाकाललाई केलाउदा आधिकारिक मिति थाहाँ नभए पनि लिच्छिविकालअघि नै यस मन्दिरको स्थापना हुन सक्ने मन्दिर संरक्षण समितिकासोम बहादुर कार्की बताउनु हुन्छ ।
जीर्ण अवस्थामा र धार्मिक महत्व रहेको यस मन्दिरको जीर्णोद्दार करिव ५८ वर्ष अघि महोत्तरी जिल्ला रामनगर गाविस निवासी नीरबहादुर बाबुसाहेबले गरेको कुरा बताउनु हुन्छ ।उहिले यस क्षेत्रमा घना जङ्गल रहेको र सो जङ्गलमा फडानी गरी वस्ती बसाउने क्रममा तामाङ जातीका मानिसहरूले झाडीभित्र अति जीर्ण अवस्थामा एउटा मन्दिर फेला पारेको बुझिन्छ । सोही क्रममा उनीहरूले त्यस मन्दिरको नामाकरण पचधुरा गरेका थिए जसमा पाँच प्राणीहरूको वली दिने गरिन्थ्यो । यसरी यो पचधुरा शब्द अपभ्रश हुदै आज पन्चधुरा हुन गएको जन विश्वास छ ।
वडा दशैको सप्तमी (फुलपाती) देखि नवमीका दिनसम्म विशेष मेला लाग्ने यस मन्दिरमा हजारौ सङ्ख्यामा बोका, राँगा, हाँस, परेवा, कुखुराको वली दिने गरिन्छ । भारतको विहार राज्यदेखि नेपालका अधिकांश जिल्लाबाट पन्चधुरामाईको दर्शन गर्न हजारौ सख्यामा भक्तजनहरूको घुइचो लाग्ने गर्दछन् । मनको ईच्छ पुरा गरिदिने, मागेको फल पाइने हुनाले यस मन्दिरमा पुजापाठ गर्न भक्तजनहरू आउने गर्दछन् । मन्दिरलाई निकै सौनदर्यीकरण गरिएको कारणले यहा आउने गरिएको श्रद्धालुहरुले केही समय भएपनि निकै रमाउने गरेका छन । मन्दिर आफैमा निकै आकर्षणको केन्द्र रहेको छ । मन्दिरमा आउने श्रद्धालुहरुले यहा आउदा असिमखालको शान्ति पाउने गरेको बताउने गरेका छन । यसले दिनप्रतिदिन श्रद्धाहरुको संख्यामा वृद्धि भईरहेको छ ।
रायमण्डल डाँडा
प्रकृतिक रुपमा बर्दिवास वरिपरिका रहेक ठाउ आफैमा एउटा आनन्दीत ठाउ हुन । शान्त र प्राकृतिकले भरिपुर्ण यस स्थानमा आउने जो कोहीलाई रमाउने गरिएको छ । बर्दिबास नपा ३ रायमण्डल डाँडामा रामजानकी मन्दिर स्थापना गरिएको छ । पूर्व पश्चिम लोकमार्ग भन्दा लगभग ८ किमि उत्तरमा रहेको भव्सि राइमण्डल गाउँमा यो मन्दिर रहेको छ ।
वि.सं. २०७१ साल फागुन १७ गते पुजारी बसन्त बलम्पाकीको पहलमा स्थानिय गाउँलेको चन्दा संकलन र पूजाआजाको भेटी संकलन गरी यो मन्दिर स्थापना मुनि भव्सि खोलाको किनारमा भएको बस्तु कराएको जस्तो आवाज आउने, पाखा सुसाएको जस्तो आवाभ आउने, हरेक पूर्णिमामा साँझ पख बत्ति बल्ने गरेको स्थानियवासीले थाहा चाए पछि भाकल पूजा गर्न थाले शान्त भएकोले त्यसैबेला देखि भाकल पुग्ने जनविश्वासमा मन्दिर स्थापना गरिएको स्थानियको भनाई छ । प्राकृतिक रूपमा रहेको डाँडाको स्वरूप जनकपुरको रामजानकी मन्दिरको जस्तो देखिन गएकोले यस मन्दिरलाई रामजानकी मन्दिर नामाकरण गरिएको छ । हाल उक्त मन्दिरमा प्रत्येक मंगलवार भक्तजनहरू आई पूजा पाठ गर्ने र पूर्णिमामा विशेष गरी मेला लाग्ने गर्दछ । यस ठाउमा पुग्दा एक प्रकारको आनन्दको अनुभति समेत हुने गरिएको छ । यस भेगका वरिपरि समेत निकै आकर्षणको वातावरण रहेको छ ।
बर्दिवासमा सबै धर्मका व्यक्तिहरुको वसोवास रहेन गरिएको कारणले गर्दा समेत मस्जिद र चर्चहरु समेत रहेको छ । अर्को तर्फ बौद्ध धर्मको अनुयायीहरुको लागि गुम्बा समेत रहेको छ। ऋर्थात यहा सबै धर्मावलम्बीको लागि आ आफनो धार्मिक स्थल रहेको छ । जसको निकै महत्व रहेको छ ।
साम्रगी श्रोत
बर्दिवास बिम्ब
गुगल






