
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सर्लाही र सिरहाका लागि १२ वर्ष पुरानो मोडलको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको विषयमा मुख्यमन्त्री सरोजकुमार यादवले चासो लिएका छन् । शुक्रबार मधेशदृष्टि दैनिकले समाचार प्रकाशन गरेपछि यादवले कमीकमजोरी भएको भए यसमा कारबाही प्रक्रिया अघि बढ्ने भन्दै स्वास्थ्य उपचारकरण व्यवसायीलाई ढाढस दिएका हुन् ।
स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. मनीष पाण्डेसहितको संलग्नतामा हस्पिटेक कम्पनीले मात्रै स्पर्धा गर्न मिल्ने गरी गरिएको सिटी स्क्यान खरिद प्रकरणबारे व्यवसायीले शुक्रबार मुख्यमन्त्री यादवलाई मौखिक जानकारी गराएका हुन् । मुख्यमन्त्री यादवले शुक्रबार स्वास्थ्य मन्त्रीसँग कुराकानी हुन नपाएको र यस विषयमा मन्त्रीसँग बुझेर सत्यतथ्य पत्ता लगाइने प्रतिवद्धता जनाएका हुन् ।
यता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामका स्थायी बायोमेड इञ्जिनियर शैलेन्द्र यादवको सरुवा गरी करारमा नियुक्त बायोमेड इन्जिनियर बन्दना मिश्रले एक हप्तामै आफूले पहिला कार्य गरेको कम्पनीलाई मिल्ने गरी स्पेस लक गरेको खुलेको छ । कुनै पनि नयाँ कर्मचारीले एक हप्तामै यति ठूलो निर्णय लिने कुरा सेटिङविना सम्भव नहुने स्वास्थ्य व्यवसायीहरु बताउँछन् । स्वास्थ्य उपकरण व्यवसायी नारायण कार्की भन्छन्, ‘१२ वर्ष पुरानो मोडलको उपकरण ल्याउन कर्मचारीसमेत सेटिङ गरेर टेण्डर गर्न मिल्ने गरी खोलिएको प्रकरणमा कम्पनीकै पूर्वकर्मचारीको संलग्नता देखिएको छ ।’
मिश्रले नै तयार पारेको परियोजनाका आधारमा २० करोड रुपैयाँको सिटी स्क्यान मेसिन खरिदका लागि ‘रुमसहित मेशिनका लागि स्पेलक’ खोलिएको हो । यादवको सरुवा माघ १५ गतेदेखि लागु हुने गरी भएपछि मिश्र करारमा नियुक्त भएकी हुन् । उनी फिलिप्स कम्पनीको उपकरण बेच्ने कम्पनी हस्पिटेकका पूर्वकर्मचारी मात्रै होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कैयौँ उजुरी परेर बयान दिइरहेकी स्वास्थ्य सेवा विभाग, व्यवस्थापन विभागकी बायोमेड पद्मा मिश्रकी बहिनी पनि हुन् । विभागका खरिद भएका कैयौँ उपकरणको अख्तियारमा उजुरी छन् र मिश्रको संलग्नता देखिएकामा मधेश प्रदेशमा पनि उनकै बहिनीलाई करारमा नियुक्त गरिनु अर्को शंकास्पद घटना बाहिरिएको छ भने उनी टेण्डर पर्ने कम्पनीकै पूर्वकर्मचारी भएको खुलेकै छ ।
काठमाडौँस्थित ‘हस्पिटेक’ कम्पनीले मात्रै टेण्डर भर्न मिल्ने गरी सन २०१२ अर्थात १२ वर्ष पुरानो उपकरण मधेशको सिरहा र सर्लाहीमा जडानका लागि १०–१० करोडका टेण्डर आह्वान भएको छ । यो मेसिन बजारमा बढीमा ६ करोड रुपैयाँ भन्दा बढी नपर्ने बताइएको छ । मधेशदृष्टिमा समाचार प्रकाशन भएपछि मुख्यमन्त्री यादवसँगै प्रमुख प्रतिपक्षी नेकपा एमाले, जनमत पार्टीले पनि यस विषयमा चासो लिएका छन् । स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. मनीष पाण्डे अप्ठेरोमा परेका छन् ।






