महतो अलग्गिने भएपछि असन्तुष्ट फकाउँदै ठाकुर

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पार्टी अध्यक्ष महन्थ ठाकुरको क्रियाकलापप्रति असन्तुष्ट बन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालनमा सरिक हुने भएका छन् । पहाडका दलित र शोषितलाई समेटेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाउने र अभियानबाटै नयाँ पार्टी स्थापनाको तयारीमा महतो छन् । उनले कार्यकर्तामाझ अभियानका विषयमा खुलेर चर्चा गर्ने गरे पनि नयाँ पार्टीका विषयमा भने मौनता साँध्ने गरेका छन् । महतो लोसपामा आफ्नो भविष्य नरहेको निष्कर्षमा पुगेका छन् ।

पछिल्लोपटक अध्यक्ष ठाकुरले नयाँ कार्यसमिति विस्तार गरेसँगै महतो ठाकुरविरुद्ध खनिएका छन् । तर अध्यक्ष ठाकुर महतोको अन्सन्तुष्टि सम्बोधनको साथै उनलाई बेवास्ता गर्न थालेपछि महतो लोसपामा नबस्ने मनःस्थितिमा पुगेका हुन् । महतोनिकट मानिएका धेरैजसो कार्यकर्ताले साथ छाडेपछि लोसपामा समेत महतो कमजोर बनेका छन् । आफ्नानिकटका नेताले पार्टी छाडेपछि महतो कमजोर मात्रै भएनन्, लोसपा निर्माणमा महत्वपूर्ण भूमिका खेलेका उनी पार्टीमा समेत कमजोर भएका छन् । समकालीन राजनीतिमा उपस्थिति बलियो बनाउन र नयाँ पार्टी गठनपूर्व उनले अभियान चलाउने तयारी गरेका हुन् ।

तर एक्कासि पार्टी विभाजन गरेर अगाडि बढ्दा आफैँलाई प्रत्युतपादक हुने भएपछि महतो अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेका छन् । उनले मधेशकेन्द्रित दलहरु निकै कमजोर भएको र उनीहरुले आफ्नो एजेण्डासमेत बिराउन थालेका कारण अभियानमार्फत सबै शोषित समुदायलाई एकठ्ठा गरेर अभियान चलाउन लागेको कार्यकर्तामाझ बताएका छन् । अभियानलाई मूर्त दिन मधेशका विभिन्न जिल्ला पुगेर निकटका कार्यकर्ता भेलासमेत गरेर छलफलमा महतो जुटेका छन् । यसका लागि मधेशदेखि राजधानी काठमाडौँसम्ममा उनले आफ्नो शक्ति देखाउन विरोध प्रदर्शनसम्मको तयारी गरेका छन् ।

लोसपाका वरिष्ठ नेता एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो उत्पीडित वर्ग, जातिको पूर्ण अधिकारका लागि संयुक्तरुपमा राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्ने बताउँछन् । यो विभेदविरुद्ध मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिम, दलित सबैले साझारुपमा लड्न राष्ट्रिय मुक्ति क्रान्ति गर्न वैचारिक, राजनीतिक अभियान सुरु गर्नुपर्ने उनको कथन छ । महतोले सोही अभियानका लागि विभिन्न जिल्लामा भेला थालेका छन् ।

महतोसँग सम्बन्ध चिसिएपछि महन्थ ठाकुरसमेत सम्बन्ध पुनः सुधारेर जाने मनस्थितिमा छैनन् । बरु पुरानो असन्तुष्टलाई एकठ्ठा गरेर लैजाने पक्षमा देखिएका छन् । उनले यसका लागि पार्टी एकतादेखि सहकार्यसम्मको प्रस्ताव विभिन्न असन्तुष्टलाई पठाउन थालेका छन । अध्यक्ष ठाकुरनिकट स्रोतका अनुसार, विगतमा असन्तुष्ट भएर अलग हृदयेश त्रिपाठी र वृशेषचन्द्र लालसँग पार्टी एकतादेखि सहकार्यसम्मको तयारी गरेका छन् । ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टी सहकार्यका लागि अन्तिम तयारीमा जुटेका छन् । केही दिनमै यस विषयमा छलफल गरेर अगाडि बढने तयारीमा उनीहरु छन् ।

लोसपाका नेता जितेन्द्र सोनलले राजनीतिमा असम्भव केही नभएका कारण विगतमा आफूसँग अलग भएका नेतासँग सहकार्यको तयारीमा आफूहरु लागेको बताए । उनले भने, ‘मधेशको मुद्दामा कतिपय शक्ति एक हुन चाहेको अवस्था रहेकाले हामीसँग विगतमा सहकार्य गरेर कुनै कारणवश अलग भएकासँग सहकार्यका लागि छलफल भइरहेको छ ।’ सोनलले महतोले सुरु गरेको कार्यमा पार्टी सहमत नरहेको र उनको गतिविधिबारे पार्टीमा छिट्टै छलफल हुने बताए । २०६३ मा मधेश आन्दोलनका दौरान नेपाली कांग्रेसको कोषाध्यक्षबाट राजीनामा गर्दै महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन भएको थियो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा मन्त्री रहेकै बेला ठाकुरले पार्टी परित्याग गर्दै पार्टी गठन गरेका थिए । त्यसैक्रममा नेपाल सद्भावना पार्टी परित्याग गरेर हृदयेश त्रिपाठी पनि तमलोपामा आबद्ध भएका थिए । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका त्रिपाठीले २०७४ सालको स्थानीय चुनावक्रममा ठाकुरको साथ छाडेका थिए ।

त्यसैगरी, वृषेशचन्द्र लालसमेत ठाकुरसँग अलग भएर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए । उनीहरुले ठाकुरको साथ छाडेपछि महतोको दरिलो साथ ठाकुरले पाएका थिए । तर अहिले महतोले साथ छाडेपछि पुराना सहयात्रीलाई ठाकुर फकाएर र फर्काएर फेरि शक्तिशाली बन्ने तयारीमा छन् । यसको पहिलो चरणमा त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वबीच सहकार्यलाई समेत लिन सकिन्छ ।

लालले भने, ‘लोसपासँगको सहकार्यको प्रस्ताव औपचारिकरुपमा आएको छैन तर विभिन्न माध्यमबाट कुराकानी भइरहेको छ ।’ उनले पार्टी गठन गरिसकेको अवस्थामा पार्टी एकता वा सहकार्यका लागि सोहीअनुसारले प्रस्ताव आउनु पर्ने तर नआएको बताए । अनौपचारिकरुपमा कुराकानी भने भइरहेको बताए ।

सहकार्यका लागि ५ बुँदे सहमति
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा ५ बुँदे सहमति भएको छ । बुधबार भएको सहमतिको पाँचबुँदामा ‘नेपालको संविधान रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण, तराई–मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति, विद्यमान सबै प्रकारका विभेद अन्त्य, निरन्तर बिग्रँदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन तथा लाल आयोगको प्रतिवेदन सार्वजननिक तथा कार्यान्वयन गराउन’ उल्लेख गरिएको छ । यस विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका दललाई पनि सहकार्यका लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button