सामाजिक सद्भाव कायम गराउन सर्वपक्षीय सहमति, कर्फ्यु जारी

[mashshare]

वर्षौँदेखिको शान्त वीरगंजमा नेपाली जनताबीचको सुसम्बन्ध र एकता विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयास विफल पार्न सामूहिक प्रयास गरिने निर्णय गरेका छौँ ।
राजेशमान सिंह, नगरप्रमुख,
वीरगंज महानगरपालिका

धार्मिकस्थलमा नाराबाजी, जुलुशलगायतका विरोधका कार्यक्रम नगर्ने र गरिए कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमति भएको छ ।
शिव लम्साल, प्रवक्ता,
जिल्ला प्रशासन कार्यालय पर्सा

मधेशदृष्टि
वीरगंज ।
सोमबार दिउँसो एकाएक हिन्दू र मुस्लिम समुदायको शक्ति प्रदर्शनसहितको जुलुश बजारमा निस्किएपछि बढेको तनावले वीरगंजको जनजीवन दुई दिनदेखि प्रभावित भएको छ । स्थानीय प्रशासनले कर्फ्यु लगाएर स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सडकमा विरोधको आवाज रोकिएको छैन । मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकले वीरगंजलाई शान्त बनाउने विषयमा सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा सम्पन्न बैठकले मुलुकको प्रमुख आर्थिक तथा व्यापारिक नगरी वीरगंजमा सदियौँदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबीचको एकता र सद्भाव अरु मजबुत बनाउने निर्णय गरेको छ । बैठकले नेपाली जनताबीचको सुसम्बन्ध र एकता विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयास विफल पार्न सामूहिक प्रयास गरिने निर्णयसमेत भएको बैठकमा सहभागी वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताए ।

बैठकमा वीरगंजका धार्मिकस्थलमा नाराबाजी, जुलुशलगायतका विरोधका कार्यक्रम नगर्ने–नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । बैठकले खुल्लमखुलारुपमा डिजे तथा चर्काे स्वरमा माइक बजाउने, राँके जुलुश, लठ्ठिभाला, हतियार प्रदर्शनसहितको जुलुश निकाल्नेलगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको लम्सालले बताए ।

जिल्लाको शान्तिसुरक्षा र अमनचयनमा खलल पर्ने किसिमका धार्मिक र सामाजिक सद्भाव बिगार्ने एवम् द्वन्द्व उक्साउन अवाञ्छित गतिविधिका साथै धार्मिक, साम्प्रदायिक ¥याली, जुलुश, बन्द हड्ताललगायतका गतिवधि कुनै पनि संघसंस्था र समुदायले नगर्ने सहमति भएको छ । यस्तो गतिविधिमा कुनै पनि दल, नागरिक समाज र संघसंस्थाको सहभागिता नहुने सहमति पनि बैठकमा भएको लम्सालले बताए । यस्तै, सामाजिक सञ्जालमा कुनै पनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक सामग्री पोष्ट गर्ने–गराउनेलाई पनि प्रशासनले कडा कारबाही गर्ने, सञ्चारमाध्यममा आपसी सद्भाव बढाउने किसिमका सञ्चार सामग्री निर्माण गरी प्रकाशन–प्रसारण गर्ने निर्णय गरेको छ ।

सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सांसद प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीरगंज महानगरपालिका नगरप्रमुख सिंहको उपस्थिति थियो । यस्तै, नेकपा एमालेका जिल्ला संयोजक विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका नेता नरेन्द्र साह, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको सहभागिता थियो । बैठकमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापा, लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, राप्रपाका पन्नालाल पटेलको उपस्थिति थियो । यस्तै, पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यलगायतको सहभागिता थियो ।

अनिश्चितकालीन कर्फ्यु जारी
स्थिति सहजै शान्त नहुने वातावरण देखिएपछि वीरगंज महानगरपालिका क्षेत्रमा सोमबारदेखि जारी अनिश्चितकालीन कर्फ्यु कायमै राखिएको छ । दोस्रो दिन मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु हटाइए पनि पुनः १० बजेदेखि लगाइएको हो । बिहान सर्वसाधारणलाई थप सहज होस् भन्ने उद्देश्यले ४ घण्टा कर्फ्यु हटाइएको र १० बजेबाट पुनः जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । कर्फ्यु आदेश जारी भए पनि वीरगंजका सरकारी कार्यालय तथा बैंक खुलेका थिए भने बजार, यतायात, हुलहुज्जत भएर हिँडडुल, नाराजुलुस गर्न पूर्णरुपमा बन्देज लगाइएको थियो ।

वीरगंजमा जारी कर्फ्यु आदेश पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापकरुपमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख कुमार विक्रम थापाले दोस्रो दिनको कर्फ्यु पालना गराउन प्रत्येक मुख्य सडक, चोक एवम् संवेदनशील ठाउँमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।

यसैबीच पर्सा प्रहरीले महानगरपालिकाभित्र कर्फ्यु आदेश जारी रहेको समयमा उच्शृंखल गतिविधि गरेको भन्दै विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । कर्फ्यु बेवास्ता गरेर टायर बाल्दै प्रदर्शन तथा नाराबाजी गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको निगरानीमा राखिएको छ ।

किन कर्फ्यु ?
रौतहटको ईशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगंजमा सोमबार निकालेको प्रदर्शनक्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । सर्वसाधारणको सहजताका लागि मंगलबार बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा लगाइएको छ । महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार क्षेत्रलगायत मुख्य चोक तथा गल्लीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button