
सञ्जय मिश्रा
रौतहट ।
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले असक्षम फिरंगी नेताहरु नेतृत्वमा पुग्दा पनि रौतहट समग्र विकासमा पछाडी परेको टिप्पणी गरेका छन् । सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको व्यवस्था हटाउन पार्टीद्वारा आयोजित बृहत्त भेलालाई सम्बोधन गर्दै उनले सधैं बाहिर बसेर चुनावको समयमात्र रौतहट सम्झने नेताहरुको नेत्रृत्वकै कारण रौतहट पछी परेको उनले टिप्पणी गरेका हुन् ।
उनले २०१५ सालदेखि देशको ठूला ठूला आन्दोलन, राजतन्त्रबिरुद्धको आन्दोलनमा समेत रौतहटको भूमिका महत्वपूर्ण तथा अग्रणी रहेको भन्दै जिल्लाबासीको सराहना गरेका थिए । तर, पछिल्लो समय केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण जिल्लाको नाम बदनाम मात्र नभइ कलंकित पनि भईरहेको भन्दै अध्यक्ष साहले दुःख व्यक्त गरे । उनले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रति आक्रोस व्यक्त गर्दै देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडी पर्नु फिरंगीपनको पहिचान भएको बताए । पूर्वकालदेखि उर्वरभूमि मधेश भूमि उजाड हुनुमा मुख्यतः नेता नेपाल, मधेशवादीको नाम बेचेर मधेश लुट्ने उपेन्द्र यादव रहेको बताए ।
अध्यक्ष साहले भने, ‘संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सता चलाएको छ । तर, यत्रो बर्षमा मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिन्छ ।’ नेता नेपाल र यादव सधै सत्ता र कुर्सीको लागि देश जनताको साथ गद्दारी गर्दै आएको उनले आरोप लगाए । गौर हत्याकाण्डमा अहिलेसम्म पीडितले न्याय पाउन नसकेको बताउँदै उनीहरुलाई न्याय दिलाएरै छोड्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा नेता साहका साथै आम जनता पार्टीका मधेश प्रदेश ईन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकाण्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए ।






