
वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले व्यक्तिमा आफनो विकास गर्ने परिपाटी मात्रै देखिएका कारण मुलुकमा भ्रष्टाचार बढेको बताएका छन् । उनले व्यक्तिमा सामाजिक दायित्व नबढेसम्म व्यक्तिगत विकास मात्रै केन्द्रित रहने भए मुलुकमा भ्रष्टाचार जति रोक्न खोजिए पनि सम्भव नरहेको जिकिर गरे । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिले आयोजना गरेको मधेश विकास सम्मेलनमा सभामुख मण्डलले अहिलेको विकास मोडेल नै गलत रहेका कारण चाहेर पनि विकास सम्भव नभएको जिकिर गरे । उनले भने, ‘अहिलेको विकास जुन रुपमा भइरहेको छ, त्यसले मुलुकको विकाससमेत सम्भव छैन, व्यक्तिको समाजप्रतिको दायित्व हराउन थालेको छ भने व्यक्तिसमेत समाजको विकास भन्दा पनि आफ्नो विकासमा बढी केन्द्रित देखिएका छन ।’
सभामुख मण्डलले निर्वाहमुखी उत्पादन प्रणालीले देशले उन्नति गर्न नसक्ने बताए । उनले विगतमा समेत यस्तै किसिमले नीति निर्माण गरिएका कारण विकास हुन नसकेको र अहिले पनि यस्तै टुक्रे नीतिलाई नै आत्मसात् गरिएका कारण समस्या आएको बताए । उनले अहिलेको पुँजीवादी समाजमा पनि टुक्रे विकास प्रणालीलाई नै महत्व दिएर काम गरिए जनतालाई केही लाभ दिन नसकिने बताए । उनले जनताको आवश्यकताका आधारमा विकासका काम गर्नुपर्नेमा जोड दिए । मण्डलले गैरसरकारी संस्था गैरम्ुनाफामुखी भए पनि उनीहरुको काम गर्ने प्रवृत्ति ठीक नभएको बताए । उनले भने, ‘गैरसरकारी संस्था गैरनाफामूलक संस्था हो भन्छन् तर उनीहरु लुकेर काम गरिरहेका छन् र यो उचित हुन नसक्ने भएकाले जनताका लागि काम गर्नु पर्ने बेला आएको छ ।’
कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले मधेश प्रदेश सबै क्षेत्रमा पछाडि परेको बताउँदै यसलाई सबैको सहयोगबाट विकास गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले मधेशको विकासमा दातृनिकायले समेत ध्यान दिनपर्ने आवश्यकता रहेको बताए । उनले विकासको लागि गैरसरकारी संस्थालाई अगाडि आउन आग्रह गर्दैै यसमा देखिएको समस्या प्रदेश सरकारले आफ्नो तर्फबाट समाधान गर्न तयार रहेको बताए । यादवले विश्वमा विकासका लागि प्रदेशको आर्थिक स्रोत व्यवस्थापन केन्द्रले प्रदेशको आर्थिक, सामाजिक, अन्य सूचकाङ्क तथा जनसंख्यालाई आधार बनाएर गरे पनि नेपालमा भने त्यसो नभएको बताए ।
खेलकुद तथा समाजकल्याण मन्त्री सुरिताकुमारी साहले मधेशको विकासमा दातृनिकायलाई अगाडि आउन आग्रह गरिन् । उनले मधेशको विकासमा सबैको हातोमालो खाँचो रहेको बताइन् । अर्थ तथा योजना समितिका सभापति सतिषकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख बबिता राउत ईसर, मधेश प्रदेश सभाका विभिन्न समितिका सभापतिले समेत आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा कृषि समितिका सभापति संजय कुमार महतो, युएन एजेन्सीको तर्फबाट डा. नरेन्द्र कुमार मिश्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका तर्फबाट भगवान् श्रेष्ठले प्रस्तुति गरेका थिए ।
सम्मेलनले पाँच बुँदाको जनकपुरधाम प्रतिबद्धता पत्र पारित गर्दै सम्पन्न भएको छ । प्रतिबद्धतापत्रमा प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग योजना निर्माण, कार्यान्वयन, संयुक्त अनुगम, वार्षिक कार्यप्रगति समीक्षा, विकास साझेदारको डाटाबेस निर्माण गरी विकास साझेदारको विज्ञताअनुरुप नव प्रवर्तन असल अभ्यास, अनुभवलाई मधेश प्रदेशको विकासको नीति कार्यक्रम र बजेटको मूल प्रवाहीकरण गर्ने उल्लेख छ । नेपालको संविधानले तय गरेको सङ्घीयताको अवधारणाअनुरुप मधेश प्रदेश सरकारको प्राथमिकतालाई तीनै तहका सरकारबाट पहिचान र कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै प्रदेश तथा स्थानीय तहको क्षमता विकास लक्षित वर्गमा विकासको पहुँच पु¥याउन नीतिगत समन्वय र सहकार्य गरिने उल्लेख छ ।






