प्रसाईंको सभाले मधेश पनि तरंगित

[mashshare]

सरकारले बिहीबार ४ हजार ७ सय ८३ प्रहरी, एक हजार ५ सय ८८ सशस्त्र प्रहरी र ३ सय ५१ राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गर्ने भएको छ । ६ हजार ७ सय २२ सुरक्षाकर्मी परिचालन मात्र होइन बुधबार साँझदेखि काठमाडौँ जाने सबै नाकामा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएको छ । मंसिर ९ गते झापामा स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह नबोलेसम्म राजतन्त्रको हावा चलिरहने देखिन्छ ।

मधेशदृष्टि
जनकपुरधाम ।

नेपाली समुदायले चलाउने अधिकांश सामाजिक सञ्जालमा एक हिसाबले ‘भाइरल’ दुर्गा प्रसाईं र नेकपा एमालेको युवादस्ता युवा संघ नेपालले आज बिहीबार काठमाडौँमा छुट्टाछुट्टै सभा आयोजना गरेका छन् । मंगलबार वीरगंज आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत युवासंघको सानो सभा देखेर ‘केहीले निकै कसरत गरिरहेको’ भन्ने टिप्पणी गरेपछि यसले मधेशमा पनि तरंग ल्याएको छ । एकातिर दुर्गा प्रसाईं केपी ओली र महेश बस्नेतको गुण्डागर्दीविरुद्ध यो व्यवस्था नै फालेर राजतन्त्र ल्याउने भनेर हिँडिरहेका छन् भने उनलाई राजावादी शक्तिहरुको साथ देखिएपछि कतै व्यवस्था नै बदलिने वातावरण बनेको हो कि भनेर मधेशी समाज तरंगित भएको छ ।

झापाको बिएण्डसी मेडिकल कलेजका मालिक प्रसाईंले ऋण तिर्न नपर्ने, मिनाह गर्नुपर्ने, बैंक तथा वित्तीय संस्था र उद्योगका नाममा ठूलो ऋण लिने मारवाडी समुदाय लखेट्नु पर्नेजस्ता अभिव्यक्तिले मधेशमा पनि प्रसाईंको चर्चा चुलिएको हो । बुधबार उनले ‘झापा आउन केपी ओलीले र भक्तपुर छिर्न महेश बस्नेतले दुर्गा प्रसाईंलाई सोध्नु पर्ने बनाइदिन्छु’ भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जाल चलाउँदै गरेको मधेशको समाजमा पनि भाइरल बनेपछि कतै राजतन्त्रको पुनरागमनमा भित्रभित्रै खिचडी पाकिरहेको त होइन भनेर मधेशका सर्वसाधारण पनि चनाखो बनेका छन् ।

वैशाखदेखि दुर्गा प्रसाईंले देशका प्रमुख सहरमा कार्यक्रम गरेर जनताको ध्यान आफूतिर ताने । २० लाख रुपैयाँ भन्दा कम ऋण सरकारले मिनाह गर्नु पर्छ भन्ने मुद्दाले एकाएक उनको लोकप्रियता चुलियो । जनता लघुवित्तको ससाना ऋणको ब्याज र हर्जानाबाट आजित भइरहँदा प्रसाईंले कहिले विदेशमा मरेकाको शव ल्याउन जाने त कहिले अनेक लोकल्याणका मुद्दा उठाएर सिंगो देशको ध्यान आफूतिर ताने । वीरगंजमा पनि उनले कार्यक्रम गरेका थिए । राप्रपाले समेत आँट गर्न नसकिएरहेको राजतन्त्र र हिन्दूको मुद्दा उनले बोक्दा जनताको ठूलो सहूको साथ थियो । व्यवस्था खराब, नेताहरु खराब भन्दै उनले भएभरका जनतालाई आफूतिर तान्न सफल भएपछि राप्रपा र राजावादीहरु पनि प्रसाईंको कार्यक्रमलाई साथ दिन थाले । यहीबेला सरकारले बुधबार मात्रै राष्ट्रपति, प्रधानमन्त्रीलगायतका स्थानमा पनि निषेधाज्ञा लगाएपछि गाउँगाउँमा सन्देश पुग्यो कि साँच्चै दलका नेताहरु डराए । राजा फर्कन्छन् कि भन्ने संशयले सर्वसाधारण मात्र होइन व्यापारी, उद्योगी पनि सोच्न थाले । के यस्तो अवस्था आइसकेको हो र ?

यसरी मधेशमा सोच्नु पर्ने अवस्था आउनुमा भने केन्द्र सरकारको हतास, हल्ला र निषेधको राजनीति पनि हो । राष्ट्रपति, प्रधानमन्त्री, सिंहदरबारमा निषेधाज्ञासँगै सरकारले पहिलोपटक सामान्य दुई समूहको आमसभाका लागि झण्डै ७ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । यति ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन के का लागि ? साँच्चै व्यवस्था खतरामा परेको हो ? सत्ता जोगाउनै पर्ने अवस्था बनेको हो भन्ने प्रश्न जनजनमा उब्जिएको छ । सरकारले बिहीबार प्रसाईं र युवासंघको कार्यक्रम लक्षित गरेर ४ हजार ७ सय ८३ प्रहरी, एक हजार ५ सय ८८ सशस्त्र प्रहरी र ३ सय ५१ राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरेको छ । ६ हजार ७ सय २२ सुरक्षाकर्मी परिचालन मात्र होइन बुधबार साँझदेखि काठमाडौँ जाने सबै नाकामा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएको छ । कागजात हेरेर मात्र काठमाडौँ छिर्न दिइएको छ । यो सबै घटनाक्रमले व्यवस्था बदलिन लागेको भन्दै जनमानसमा तरंग फैलिएको छ । के होला बिहीबार काठमाडौँमा ? सबैको ध्यान केन्द्रित छ । राजतन्त्रको हावा देशभर बगेको छ । यो हावा मंसिर ९ गते झापामा स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह नबोलेसम्म चलिरहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button