कार्यकक्षमै थुनिए नगर प्रमुख

[mashshare]

मधेशदृष्टि
सप्तरी ।

डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले समय नसकिँदै पोखरीको ठेक्का लगाएको भन्दै स्थानीयले उनलाई नगरपालिकामै थुनेर विरोध प्रदर्शन गरेका छन् । बुधबार मेयरको निर्णयविरुद्ध नाराबाजी गर्दै नगरपालिकाको कार्यालय पुगेका स्थानीयले कार्यालयमा तालाबन्दी गर्दा उनीसहित कर्मचारी भित्रै थुनिएका थिए ।

वडा नम्बर ६ मा रहेको ८ वटा पोखरी पहिल्यै ठेक्का लगाइएकोमा मेयर मलाहले फेरि अर्को ठेक्का लगाएपछि सम्बन्धित व्यक्ति आक्रोशित भएका थिए । उनीहरु आफूहरुले समितिमार्फत पोखरीमा माछापालन गरिरहेको र करिब १४ लाख रुपैयाँ बराबरको माछा पोखरीमा हुँदाहुँदै अर्कै ठेकेदार पठाएर मेयर मलाहले अन्याय गरेको भन्दै प्रतिवादमा उत्रेका हुन् । ‘ठेक्काको अवधि तीन वर्ष बाँकी छ, मेयरले बदमासी गरेर अर्कैलाई ठेक्का दिएपछि आन्दोलन भएको हो,’ स्थानीय कांग्रेस नेता प्रमोद यादवले भने, ‘मेयरले जनताको कुरा सुनेनन्, त्यसपछि स्थानीय नगरपालिका घेर्न आए ।’

स्थानीयले तालाबन्दी गर्दा मेयर मलाहसहित कर्मचारीहरु कार्यकक्षमै थुनिएका थिए । बुधबार अबेर साँझ दुई पक्षबीच वार्ता गराउँदा कुरा मिलेको जिल्ला प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्यले मधेशदृष्टिलाई जानकारी दिए ।

नगर प्रमुख मनपरी गर्छन्ः उपप्रमुख
डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले नगर प्रमुख मलाहले एकलौटीरुपमा नगर सञ्चालन गर्दा समस्या भएको बताइन् । बुधबार भएको घटना आफ्नै वडामा रहेको पोखरीसम्बन्धी विषयमा भए पनि आफूसँगसमेत कुनै सल्लाह नगर्दा नगर प्रमुख मलाह विवादमा परेको उनको भनाइ थियो ।

सञ्चारकर्मीउपर हातपात
डाक्नेश्वरी नगरपालिकामा नगर प्रमुखलाई कार्यालय कोठाभित्रै थुनेर भएको विरोध प्रदर्शनक्रममा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीउपर प्रदर्शनकारीले हातपात गरेका छन् । पत्रकार संजिव विक्रम साहले समाचारकै विषयमा जनमत पार्टीका स्थानीय कार्यकर्ता अनिल यादव र अमरेन्द्र यादवले आफूमाथि हातपात गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button