
अघिल्लो पटक पनि नेकपा माओवादी केन्द्रले तत्कालीन मौलापुर नगर प्रमुख रिना कुमारी साह, कटहरिया नगर प्रमुख सियाराम कुशवाहा, फतुवा विजयपुरकी उपमेयर कान्ती देवी महतो, देवाहिगोनाहीकी उपमेयर परानिया देवी पटेल, यमुनामाई गाउँपालिका तत्कालीन उपप्रमुख गीता देवी साहलगायत माथि पार्टी परिवर्तन तथा अनुशासन सम्बन्धी कारबाही गरेको थियो
सञ्जय मिश्रा
रौतहट ।
मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहले नेकपा एमाले पार्टी छोडेको भन्दै पार्टीकै सिफारिसमा मंगलवार निर्वाचन आयोगले मेयर पदबाट मुक्त गरेको छ ।
एमाले केन्द्रीय कमिटी बैठकको निर्णयसहित दिइएको निवेदनका आधारमा छानबिन गरी मंगलबार निर्वाचन आयोगले मौलापुर नगरपालिकाकी मेयर प्रभु साहपत्नी रिनाको पद स्वतः रिक्त भएको जानकारी गराएको हो । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम नगर प्रमुख साहको पद स्वतः रिक्त भएको मंगलवार गोरखापत्रमै सूचना दिएर सार्वजनिक गरेको हो ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे र निर्वाचन आयोगको कदमबारे जानकारी पाएको बताउँदै मेयर साहले एमालेले आफूमाथि गरेको अन्यायविरुद्द कानुनी बाटोमा न्यायालयतर्फ जाने सरसल्लाह भइरहेको बताइन् । उता प्रभु साह नेतृत्वको आमजनता पार्टीले दलीय सिन्डिकेटको आवरणमा लोकतन्त्रको हत्या भएको टिप्पणी गरेको छ ।
एमालेले पनि अनैतिकताको पराकाष्ठा देखाएको आमजनता पार्टीको ठहर छ । ‘मौलापुर नगर नेतृत्वको कारण स्थानीयस्तरमा आमजनतालाई सरकारको प्रत्याभूतिसँगै सामाजिक न्याय, सुशासन र विकासले आफ्नो एउटा छुट्टै मोडल स्थापित गरिरहेको बताइएको छ । एउटा कर्तव्यनिष्ठ महिला मेयर साहलाई दलीय सिन्डिकेटको आवरणमा केवल आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको धर्मपत्नी भएकै नाताले मात्र एमालेले पदमुक्त गर्ने दुस्प्रयास एवम् षड्यन्त्र गरेको छ, यो घटना आमजनभावना विपरीत, लोकतन्त्रको उपहास एवम् अनैतिकताको पराकाष्ठा देखिन्छ,’ रहेको आमजनता पार्टीले भनेको छ ।
‘स्थानीय निर्वाचनमा पूर्वमन्त्री प्रभु साह र उनको टिमको अथक प्रयास एवम् प्रभावको बलमा एमाले पार्टीले अनगिन्ति स्थानमा चुनाव जितेको विषय जगजाहेर नै छ,’ पार्टीले भनेको छ, ‘तर आज एमाले पार्टीले नैतिकताका आधारमा हाम्रो मत फिर्ता गर्नुको सट्टा उल्टै उहाँको पत्नीलाई कागजी कार्यवाहीको डन्डा देखाई तर्साउने कार्य गर्नु अनैतिकताको पराकाष्ठा मात्र नभई दलीय निरंकुशताद्वारा वास्तविक लोकतन्त्रको हत्या पनि हो ।’
माओवादी पृष्ठभूमिका नेता प्रभु साहपत्नी रिना मौलापुर नगरपालिकाको प्रमुखमा दोस्रोपटक निर्वाचित भएकी हुन् । यसअघि उनी नेकपा माओवादी केन्द्रको टिकटबाट मेयर पदमा निर्वाचित भएकी थिइन् । निर्वाचनपछि माओवादी र एमाले मिलेर नेकपा बनेको थियो । पछि तत्कालीन पार्टीका दोस्रो अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताले पार्टी छोड्दा प्रभु साह भने एमालेमै बसेका थिए ।
त्यस समयमा पनि माओवादी केन्द्रले तत्कालीन मौलापुर नगर प्रमुख रिना कुमारी साह, कटहरिया नगर प्रमुख सियाराम कुशवाहा, फतुवा विजयपुरकी उपमेयर कान्ती देवी महतो, देवाहिगोनाहीकी उपमेयर परानिया देवी पटेल, यमुनामाई गाउँपालिका तत्कालीन उपप्रमुख गीता देवी साहलगायत माथि पार्टी परिवर्तन तथा अनुशासन सम्बन्धी कारबाही गरेको थियो । मधेश प्रदेशमा राम्रो पकड़ भएका नेता प्रभु साह गत निर्वचनमा एमालेको टिकट गोजीमा राखेर स्वतन्त्र प्रतिनिधिसभा सदस्य पदका लागि रौतहट क्षेत्र ३ बाट स्वतन्त्र उम्मेद्वारी दिन आए ।
एमाले छाडेर स्वतन्त्र उमेद्वारी घोषणा गरेपछि माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा प्रभु साहलाई तत्कालीन कांग्रेससहित सत्तापक्षको गठबन्धनले आफ्नो आधिकारिक उम्मेद्वार भनेको थियो । चुनावका नतिजा आएपछि उनी माओवादीमै फर्किने जानकारहरुले आँकलन गरेका थिए । तर विभिन्न प्राविधिक कारण देखाएर उनले माओवादीमा फर्किनुको सट्टा आफ्नै नेतृत्वमा आमजनता पार्टी दर्ता गराएका थिए । एमालेले यही प्रतिशोध साँध्न रिनाको पदमुक्तका लागि निर्वाचन आयोग गुहारेको बुझिएको छ ।






