
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला निरीक्षण गरी सेवाप्रवाहबारे जानकारी लिएका छन् ।

प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो लिँदै मुख्यमन्त्री यादवले त्यहाँ पुगेर सेवाग्राहीसित सेवाप्रवाहबारे जानकारी लिएका थिए । एउटामात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउण्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिए ।

‘सेवाप्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्,’ मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई निर्देशन दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । प्रदेश सरकारको लगानीमा सञ्चालित प्रयोगशालाले दैनिक सैयौँ बिरामीको जाँच गर्दै आएको छ ।







