

जनकपुरधाम ।
आज अर्थात् बुधबार, संविधान दिवस । आजैका दिन देशले संविधानसभाबाट संविधान पाएको थियो आठ वर्षअघि । संविधान प्राप्तिकै खुशीमा सरकारले वार्षिक क्यालेन्डरमै प्रकाशन गरेर सार्वजनिक बिदा पनि दिँदै आएको छ । संघीय सरकार र प्रादेशिक सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउन थालेको पनि दशक पुग्ने अवस्थामा छ ।
मधेशमा भने फरक दृश्य छ । सरकारसँगै केही राजनीतिक दलले संविधान दिवस मनाइरहँदा कुनै दलले विरोधमा ‘असोज तीनः कालो दिन’ भन्दै प्रदर्शनको तयारी गरेका छन् । कुनै राजनीतिक दलले आफूहरुले उठाउँदै आएको मागबमोजिम संविधान संशोधन भइनसकेको भन्दै उत्सव मनाउने बेला आइनसकेको तर्क गरेका छन् र सरकारको नेतृत्व गरिरहेको बेला विरोधमै उत्रिहाल्ने अवस्था पनि नरहेकाले फरक तरिकाले दिवस मनाउने योजना बनाएका छन् ।
संविधान जारी भएयता मधेश प्रदेशमा दोस्रो कार्यकालका लागि गठन भएको सरकारको लागि पहिलो संविधान दिवस हो आज । मुख्यमन्त्री सरोज कुमार यादवले संविधान दिवस मनाउन प्रमुख सचिवलाई निर्देशन दिएका छन् । तर, आफैँ भने सहभागी भइरहेका छैनन् । यसो भनिरहँदा विरोधको कार्यक्रममा पनि उनी सहभागी नहुने र नैतिकरुपमा विरोध गर्न पनि नसक्ने अवस्था छदैँछ ।
‘मधेश प्रदेश सरकारका तर्फबाट संविधान दिवसका अवसरमा बिहान सरसफाइ र साँझ दीप प्रज्ज्वलन कार्यक्रम तय भएको छ । यी कार्यक्रम सञ्चालनका लागि प्रमुख सचिवको संयोजकत्वमा समिति बनाएका छौँ,’ मुख्यमन्त्री यादवले मधेशदृष्टिसँग भने, ‘म त कार्यक्रममा सहभागी हुन सक्दिनँ । बुधबार बिहानै काठमाडौँ जाँदैछु ।’ प्रमुख सचिवको संयोजकत्वमा आयोजना हुन लागेका कार्यक्रम भने प्रदेश सरकारको आधिकारिक कार्यक्रम भएको उनको भनाई छ ।
‘संविधान दिवसकै दिन बिहानै काठमाडौँ जादैछु भन्दैहुनुहुन्छ, त्यो भनेको संविधान दिवसको बहिष्कार गर्न लागेको बुझ्दा हुन्छ ?’ मधेशदृष्टिको प्रश्नमा मुख्यमन्त्री यादवले भने, ‘त्यसरी अथ्र्याउन मिल्दैन । म आज मुख्यमन्त्री छु, त्यहीँ संविधानले बनाइदिएर भएको हुँ । संविधान राम्रो छ पनि भन्छु म । हो, सर्वमान्य हुन सकेन । सबैले अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्छ भनेर हामीले अहिलेसम्म वकालत गर्दै आएका हौँ ।’
संविधान राम्रो तर सर्वमान्य नभएको भन्नुको तात्पर्यबारे मधेशदृष्टिको जिज्ञासामा मुख्यमन्त्री यादवले भने, ‘सिंगो संविधानलाई दोष लगाएर हुँदैन । संविधान राम्रो हो । तर, जारी हुने बेला केही संविधानसभा सदस्यले हस्ताक्षर नै गर्न नमानेको विषयलाई पनि त हरिनुपर्यो नि भनेको हुँ मैले । यसर्थमा संविधानको विरोधमै जाने पनि हुँदैन तर, सर्वमान्य बनाउन पहल भने गर्नुपर्छ ।’ संविधान दिवसकै दिन काठमाडौँ जानुपर्ने आफ्नो बाध्यता भएको बताउँदै उनले बिरामी भएको कारण उपचारका लागि जानुपरेको बताए ।
मुख्यमन्त्री यादवले अप्रत्यक्षरुपमा संविधान दिवस मनाइरहँदा उनले प्रतिनिधित्व गर्ने राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसलाई फरक तरिकामा मनाउने योजना बनाएको छ । ‘विरोध भन्दैमा हामीले कालो झण्डा बोकेर सडकमा प्रदर्शन गर्न जादैनौँ । विरोध नगर्ने भनेपछि मुख्यमन्त्रीले भनेजस्तो दीप प्रज्ज्वलन पनि गर्दैनौँ,’ जनता समाजवादी पार्टीका मधेश प्रदेश नेता दिनेश यादवले मधेशदृष्टिसँग भने, ‘आज जुन संविधानले एउटा प्रदेशमा सरकारको नेतृत्व गर्ने र संघीय सरकारको मन्त्रालय चलाउने अवसर दिएको छ, त्यही संविधानको विरोध गर्न नैतिकताले दिँदैन । तर, संविधान पूर्ण भइसक्यो भन्ने पनि नभएकाले संशोधनका विषयमा जनतासँग अन्तरक्रिया गर्ने हाम्रो कार्यक्रम छ ।’
जनता समाजवादी पार्टीकै सहयात्री लोकतान्त्रिक समाजवादी पार्टीले भने संविधानको विरोधमा ‘असोज तीनः कालो दिन’ घोषणा गरी सशक्त विरोधका कार्यक्रम आयोजना गरिरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका धनुषा अध्यक्ष परमेश्वर साहले दिउँसो कालो झण्डा र ब्यानरसहित विरोध प्रदर्शन तथा साँझ ‘ब्ल्याकआउट’ गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले भने, ‘हामीले हिजो पनि कालो दिन भन्यौँ, आज पनि भन्दैछौँ र भोलि पनि भन्ने हो ।’
त्यो भनेको संविधान संशोधन भइसकेपछि पनि कालो दिन नै मनाइरहने हो त भन्ने जिज्ञासामा साहले भने, ‘संविधान जारी भएकै दिन पनि मधेशका आन्दोलनकारी मारिएका छन् । हामीले विरोध गर्दागर्दै पनि अपूरो संविधान लाद्ने काम भयो, त्यसको विरोधमा हामीले असोज तीनलाई सधैँ कालो दिनकै रुपमा मनाइरहने हो । यो सांकेतिक विरोध हो ।’
तमलोपाले पनि ‘कालो दिवस’ मनाउने
मधेशदृष्टि
जनकपुरधाम ।
सरकारले असोज ३ गते संविधान दिवस मनाउने भव्य तयारी गरिरहेका बेला मधेशकेन्द्रित दल हरुले सोही दिन कालो दिवस मनाउने घोषणा गरेका छन् ।मधेशकेन्द्रित दलकै रुपमा रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले कालो दिवस मनाउने घोषणा गरेको हो । जनकपुरधामस्थित तमलोपाको केन्द्रीय कार्यालयमा बसेको बैठकले असोज ३ गते मधेश र मधेशीलगायतकाका लागि कालो दिन रहेकाले यस दिनलाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले बताए ।
असोज ३ गते कालो दिन मनाउने भएकाले बुधबार बिहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा राखिने र बेलुकी जनकपुरधामस्थित भानु जनकचोकमा सार्वजनिकरुपमा विरोध कार्यक्रम गरी असोज ३ः कालो दिन मनाउने निर्णय भएको उनले बताए । उनले आमसमुदायलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे ।
२०७२ साल असोज ३ गते त्रुटिपूर्ण संविधान जारी भइरहँदा तराई मधेशलगायतका क्षेत्रमा अधिकार प्राप्ति आन्दोलनमा प्रहरीले बलप्रयोग गर्दै निहत्था आन्दोलनकारीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट ज्यान गुमाएकाहरुको स्मरण गर्दै मधेशमा हरेक वर्ष कालो दिनका रुपमा मधेशकेन्द्रित दलले लिँदै आएका छन् ।
मधेश प्रदेशका ८ जिल्लामा सरकारीस्तरबाट पनि संविधान दिवसका अवसरमा प्रभावकारी कार्यक्रम देखिँदैन । प्रदेश सरकार नै संविधान दिवसप्रति उदाशीन रहेकाले सरकारीस्तरबाट उत्साहपूर्ण ढंगले कार्यक्रम मनाइने अवस्था कम देखिएको हो । मधेशमा संविधानको विरोध भइरहेकै बेला राजावादीको ट्याग भिरेको राप्रपा नेपालले पनि असोज ३ गतेदेखि नै देशव्यापी विरोध प्रदर्शन घोषणा गरेको छ ।






