भाटभटेनी भिडको सन्देशः जनकपुरमा छैन मनोरञ्जनस्थल

[mashshare]

सुरेश यादव
जनकपुर ।

भाटभटेनी सुपर मार्केटको २५ औँ शाखा असार ६ गते जनकपुरमा सञ्चालनमा आयो । भारतको सीमानजिक रहेको जनकपुरका नागरिक भाटभटेनीमा किनमेल गर्न जान्छन् त ? धेरैले आंकलन गरिरहेका थिए । भवन ठडिएर उद्घाटनको मितिसमेत तोकिइसकेपछि पनि भाटभटेनीको सफलता र असफलताबारे चियोचर्चा चलिरहयो । अघिल्लो २४ शाखा सञ्चालनमा रहेको भन्दा फरक भूगोल र सामाजिक संरचना रहेको जनकपुरका धेरैजसो उपभोक्ता यसअघि भारतीय सीमावर्ती बजारमा आस्रित थिए । त्यसैले भाटभटेनीले ग्राहक पाउने कि नपाउने भन्ने विषय चर्चाको विषय बनेको थियो ।

जब सञ्चालनमा आयो अनि बजारको अनुमान विपरित दृश्य देखिन थाले । उद्घाटन भएकै दिन अस्वाभाविक भिड थियो । ग्राहक आकर्षित गर्न भाटभटेनीले विद्यालय त्था सरकारी कार्यालयका कर्मचारीलाई स्पेशल छुट कार्डसहित आमन्त्रण गरेको थियो । यस आधारमा पनि उद्घाटनका दिन भिड बढ्नु नौलो थिएन । तर, जसरी दिन बित्दै गयो, मार्केटमा ग्राहकको भिड अस्वाभाविक रुपले बढ्न थाल्यो ।

गएको शनिबार त सर्वसधारणको भिड थाम्नै सकेन र दिउँसै मार्केट बन्द गर्न बाध्य भयो । करिब सवा एक बिघा क्षेत्रफलमा फैलिएको मार्केटले ग्राहकको रुपमा आएका सर्वसधारणको भिड थाम्न नसक्नु भनेपछि भिडको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । त्यति मात्रै होइन । भिड थाम्न नसकेपछि जब बजार बन्द भयो अनि सर्वसधारणले बन्द गरेको विरोधमा नाराबाजी गरे । यस्तो भिड ? के यो भिडमा देखिने सबैजना सामानै खरिद गर्न पुगेका हुन् त ? पक्कै पनि होइन । त्यसो भए नयाँ खुलेको मार्केटमा यत्रो भिड किन त ? प्रश्नको सहज जवाफ हुनुपर्छः केही किनमेल गर्न र धेरैजसो रमाइलो गर्न ।

अब प्रश्न आउँछः जनकपुरमा रमाइलो गर्ने अर्को स्थान छैन र ? जवाफ होः छैन र त भाटभटेनीमा यतिको भिड बढ्यो । जनकपुरस्थित प्रादेशिक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रविण तिवारी भन्छन्, ‘म पनि एक दिन मार्केट पुगेको थिएँ । केही मानिस त किनमेल गर्न पनि पुगेका हुन्छन्, तर अधिकांश रमाइलो गर्न त्यहाँ पुगेको सहजै अनुमान गर्न सकिन्छ ।’ उनका अनुसार मार्केट बाहिर र भित्र पनि टिकटक बनाउने उदेश्यले मात्रै पनि धेरै भाटभटेनी पुगिरहेका छन् ।

मधेश प्रदेश उद्योग वाणिज्य महासंघका संस्थापक अध्यक्ष शिवशंकर साह ‘हिरा’ ले जनकपुरमा मनोरञ्जन गर्ने स्थानको चरम अभाव भएको बताए । ‘जनकपुरमा मनोरञ्जनसम्बन्धी व्यवसायमा लगानीको व्यापक माग भएको थाम्न नसक्ने भिडकै कारण दिउँसै भाटभटेनी बन्द गर्नुपरेको घटनाले प्रमाणित गर्छ,’ साहले भने । उनले प्रादेशिक राजधानीको रुपमा जनकपुरमा व्यापार व्यवसाय सञ्चालन हुन नसक्नु दुखद् भएको बताउँदै यसका लागि जनकपुरधाम उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकता पाउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाले सर्वसाधारणको मागबमोजिम जनकपुरको व्यवसायले बजार विस्तार गर्न नसकेको बताइन् । दुनियाँ रंगिन भइरहेको बेला जनकपुरको बजार ब्ल्याक एण्ड ह्वाइटकै पारामा स्थिर रहेको उल्लेख गर्दै उनले थपिन्, ‘सबैलाई स्ट्यान्डर बजार चाहिएको छ, भाटभटेनीले त्यो पूरा ग¥यो र भिड बढेको हो । यसमा नौलो कुनै कुरै छैन ।’ खासगरी पहिला लिफ्ट नै नदेखेका भाटभटेनीमा चढ्न पुगिरहेको र नयाँ ठाउँ पाएपछि स्वाभाविक रुपमा अरुले पनि देखोस् भनेर टिकटक र सेल्फी लिएर पोष्ट्याउन पनि पुगिरहेको हुँदा स्वाभाविक भिड भएको उनको भनाइ छ । झाले जनकपुरमा अब पनि एडभान्स लेभलको मार्केट विस्तार गर्न उद्योगी, व्यवसायीलाई अग्रसर हुन सुझाइन् ।

भाटभटेनीका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले आफूहरुले सुरुवातीमा अपेक्षा गरेको भन्दा कम्तीमा दोब्बर कारोबार भइरहेको बताउँदै यसले निकै उत्साहित बनाएको बताए । शनिबार भएको भिडले झनै उत्साहित बनाएको बताउँदै भट्टराईले भने, ‘एउटा बजारमा ग्राहकको भिड बढ्नु अत्यन्तै खुशीको कुरा हो । अस्तिको भिडले पनि हामी उत्साहित थियौँ तर भिड अस्वाभाविक बढेपछि प्रहरीको टोली आयो । उनीहरुले पनि सम्हाल्न नसक्ने अवस्था आएपछि उनीहरुकै आग्रहको कारण तत्काल बन्द गर्नुपरेको थियो ।’ सर्लाहीदेखि सप्तरीसम्मको ग्राहक जनकपुरको भाटभटेनीमा किनमेल गर्न आइरहेको बताउँदै उनले शनिबार २० देखि २५ हजार ग्राहक जम्मा भइदिएपछि थेग्न नसकेर बजारै बन्द गर्नु पर्ने अवस्था आएको उनले बताए । भट्टराईले जनकपुरको प्रारम्भिक बजारमा देखिएको ग्राहकको चापले स्वीमिङ पुलसहितको अझ विस्तारित बजारको आवश्यकता महसुस भएको बताए । उनले भने, ‘म बाल्यावस्थादेखि नै जनकपुरदेखि नजिक छु । यहाँ जानकी मन्दिरबाहेक घुम्ने ठाउँ नै कहाँ छ र ?’ तर अब जनकपुरको बजार र व्यवसायलाई व्यापक विस्तारको आवश्यकता रहेको ग्राहकको उत्साहले देखाएको उनको भनाइ छ ।

जनकपुरको युवा उद्यमी वजरंग यादवले यति ठूलो लगानी गरेर जनकपुरमा एड्भान्स बजारको माग प्रमाणित गरिदिएको भन्दै भाटभटेनी व्यवस्थापन पक्षलाई धन्यवाद दिँदै उसले बजार आसपासको सडकलाई सजाएर यो सहरलाई गुण लगाएको बताए । यो बजारले यहाँको उपभोक्तामा लुकेको क्रय क्षमता पनि उजागर गरिदिएको उल्लेख गर्दै उनले थपे, ‘आज मधेश प्रदेशमै एउटा रिसोर्ट छैन, जनकपुरमा फनपार्क छैन । यी सबै क्षेत्रमा लगानीकर्ताको ध्यानाकर्षण भएको छ ।’ अब तत्कालै त्यो आवश्यक्ता पूर्ति गर्ने गरी लगानीको ओइरो लाग्ने उनको आँकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button