
‘यो आर्थिक वर्षमा राष्ट्र बैंकले चैतमा ५ अर्ब रुपैयाँ, असार ७ गते १० अर्ब रुपैयाँ, असार १० गते २० अर्ब रुपैयाँ र असार १९ गते ४० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ भने बैंकहरु उद्योगीलाई फोन गरेर ऋण लगिदिनु प¥यो भन्न थालेका छन् तर बैंकको ब्याज र किस्ता तिर्न पनि मिटरब्याजीकहाँ पुग्नु पर्ने बाध्यता खेपिरहेका उद्योगी व्यवसायी भने धितोको ३० प्रतिशत रकम पनि ऋण नपाउने अवस्थाका कारण बैंकसँग कर्जा लिन डराइरहेका छन्’
मधेशदृष्टि
वीरगंज ।
दुई वर्ष कोभिड, एक वर्ष डेंगुले देश थिलोथिलो भयो । ठूलो जनधनको क्षति व्यहोरेको देश, प्रदेश, जिल्ला, सदरमुकाम हुँदै आम सर्वसाधारणमा यति चाँडै स्वतन्त्रतापूर्वक बाँच्न र घुम्न पाइएला भन्ने कल्पना पनि थिएन । र, कोरोनाले पारेको आर्थिक समस्यामा डेंगु थपिँदा झन धेरै जनधनको क्षति भयो । जुरुक्क उठेर फेरि अघि बढ्न अनेक व्यवधानमध्ये पहिलो व्यवधान बन्यो आर्थिक समस्या ।
कमाइ भएन । उद्योगधन्दा बन्द भए । अन्तर्राष्ट्रिय संघसंस्था आफ्नै देश फर्किए । यहीबेला चुनाव भएर अलि अलि पैसा बजारमा आउने अनुमान पनि फेल खायो । जनतासम्म पैसा नै पुगेन । अर्थात् नेताहरुले अघिल्ला चुनावहरुमा जसरी गएको चुनावमा पैसा निकाल्न पनि सकेनन् । यस्तो आर्थिक संकट प¥यो कि कोरोनाको किट्स अर्थात् पञ्जा, सेनिटाइजर, मास्कमै हाम्रो कमाइको ठूलो हिस्सा सकिएछ । बजार नै बन्द भएकाले उत्पादन खेर गए । बजारमा भएको लगानी उठाउन बैंक, लघुवित्त र सहकारीले त सकेनन् भने आम जनताको काम परेको पैसा पनि आउने वातावरण भएन । भएको रोजगारी गुम्यो ।
आर्थिक संकटका अनेक समस्याले उद्यमी आत्महत्या गर्न थाले । लगानीकर्ता पलायन भएन । वैदेशिक लगानी आउन सकेन । यो बीचमा झण्डै २ हजार ७ सयले आत्महत्या गरे । प्रधानमन्त्रीको सवारी अगाडि संघीय संसद भवनमै आगो लगाएर मर्न चाहने पनि देखिए । यावत समस्यामा देश गुज्रिरहँदा विकास बजेट पनि खर्च हुन नसकेपछि बजारमा देखिएको तरलताले नागरिक ऋणको भारले मनोरोगी हुन थाले । कुनै पनि बेला आगो लगाएर मर्ने अवस्थामा पुगे । बिरामी पर्न थाले । बेरोजगारीले परिवार तोडिने अवस्था बन्यो । कैयौँ परिवारकै सम्पर्कबाट बाहिर छन् ।
तर यतिखेर भने बैंकमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंक स्वयम् चिन्तित भएको छ । उसले असारमा मात्रै चौथो पटक पैसा तान्ने काम अर्थात् ‘रिभर्स रिपो’ जारी गरेको छ । हो, ऋण माग्नेहरू नभएपछि बैंकमा ४० अर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएर बसेर अर्को समस्या बनेको छ । एकातिर केही काम गरौँ भने नागरिकसँग रकम छैन, अर्कातिर बैंकमा पैसा बढी भएर ऋण लैजाने र उद्योग धन्दा गर्ने नागरिक नै छैनन् ।
यसरी बैंकमा रकम थुप्रिन थालेपछि राष्ट्र बैंकले मौद्रिक औजार अर्थात् रिभर्स रिपो जारी गरेर पैसा जम्मा गर्न लागेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकबाट तान्न रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकमा पैसा राख्न बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्ने समय पाए ।
यो आर्थिक वर्षमा राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको यो चौथो पटक हो । यसअघि असार ७ गते १० अर्ब रुपैयाँको, १० गते २० अर्ब रुपैयाँको र गएको चैतमा पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी भएको थियो । पैसा थुप्रिन थालेपछि अहिले बैंकहरूले धमाधम ग्राहक खोजिरहेका छन् । केही बैंकले त ठूला उद्योगीलाई फोन नै गरेर ऋण लैजान आग्रह गरेका छन् ।
ठूला उद्योगी, व्यापारीले पनि किस्ता तिर्न नसकेर बैंकसँग भागेर बसेको अवस्था छ । पछिल्लोपटक बनेका आर्थिक र मौद्रिक नीति तथा ब्याजदरले पनि व्यवसायी, उद्योगी सजिलै बैंकसँग रकम लिन सक्ने अवस्थामा छैनन् । धितोको ३० प्रतिशत रकम लिन पनि कठिन अवस्था बनेपछि बैंकमा जम्मा भएको रकम उद्योगी, व्यवसायीले लिन अनिच्छुक भएका हुन् । महँगो धितोमा थोरै कर्जा र चर्को ब्याज तथा किस्ताको तनावले पनि बैंकको ऋण प्रवाहमा समस्या बनेको छ । अर्कातिर बैंकको किस्ता तिर्न मिटरब्याजीसँग चर्को ऋण लिनु पर्ने अवस्थामा पुगेका उद्योगी, व्यवसायीको बैंकप्रतिको आकर्षण अरु घटेको छ । यस्तो अवस्थामामा बैंकमा भने गएको चैत यता रकम थुप्रिन थालेको छ ।






