सखुवाप्रसौनीमा निर्लज्ज भ्रष्टाचार

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो वर्षको कार्यकाल सुरु भएको छ । अघिल्लो वैशाख अन्तिममा भएको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले एक वर्षमा के के गरे भनेर उपलब्धी सार्वजनिक गर्ने होडबाजी पनि चलेको छ । कैयौँ कार्यक्रममा जनप्रतिनिधि गुनासो गर्छन्, ‘हामीले जनताका लागि राम्रो काम गरेका थियौँ तर सञ्चारले नराम्रो मात्रै देखायो, लेख्यो, भन्यो, राम्रो काम पनि ओझेलमा परे, हामी पनि जनताका नजरमा बदमासजस्ता भयौँ ।’ कुनै पनि जनप्रतिनिधिलाई आफूले गरेको काम पक्कै चर्चा होस् भन्ने चाहना हुन्छ । हामी मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमा भइरहेका कार्यलाई मसिनोसँग अध्ययन गरिरहेका पनि छौँ । यति मात्र होइन, जनप्रतिनिधिले गरेका बदमासीलाई निडर भएर बाहिर ल्याउन पनि चाहन्छौँ ।

सबैको अपेक्षा थियो, ‘युवाले जितेपछि पर्साको सखुवाप्रसौनी गाउँपालिकामा अब विकास हुन्छ, राम्रो हुन्छ, युवाले मौका पाएका छन्, मौका हामीले दिएका हौँ, उनी हाम्रो गाउँको विकासमा गम्भीर भएर लाग्नेछन् । तर यो एक वर्षमा अपेक्षा गरिएका पालिका अध्यक्ष जसवन्त यादवको कार्यकाल अत्यन्त विवादित भएको पाइएको छ । उनले कैयौँ बदमासी गरेका कागजात हामीसँग सुरक्षित छन् । मधेशदृष्टिले गरेको सुक्ष्म अध्ययनमा युवा अध्यक्ष यादवले विभिन्न शीर्षकमा बदमासी गरेको पाइएको छ । उनको बदमासीलाई साथ दिएका छन् प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका केही बदमासीका शीर्षकहरु हामी देखाउन चाहन्छौँ ।

तथ्यांकमा सखुवाप्रसौनी पालिका
स्थापनाः २०७३
जम्मा वडाः
जनसंख्याः ३२,४४८
क्षेत्रफलः ७४.२७ ( वर्ग किमि)
समावेश साविकका गाविसहरूः सखुवाप्रसौनी, देउरबाना, महुवन, लखनपुर मधुवन मथौल रकौवावन कटैया

नातेदार भर्ती केन्द्र
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले आफन्त, नातेदार, पार्टीका कार्यकर्तालाई नियम मिचेरै जागिरे बनाएका छन् । उनले गरेको बदमासीमा आफ्ना पनि केही नातेदार भर्ती गरेर प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले साथ दिएका छन् । पालिकामा कार्यरत अदितप्रसाद यादव पालिका अध्यक्ष यादवका नातेदार हुन् ।

यस्तै, ६ नम्बर वडा कार्यालयमा कार्यरत दीपराज प्रसाद यादव पार्टीका कार्यकर्ता हुन् । कृपा सिन्धु गौरो पनि पार्टी कार्यकर्ता हुन् । अरु त अरु, रमाइलो त यो छ कि, जोशजाँगर भएका र आशा गरिएका युवा अध्यक्षले मालपोत कार्यालय वीरगंजमा लेखनदास बनेर बसिरहेको भेटिने कन्जन सहनीलाई पनि जागिर दिएका छन् । मालपोत कार्यालयमा भेटिए पनि उनको खातामा पालिकाले ३२ हजार ५ सय २१ रुपैयाँ ५० पैसा तलब पठाइरहेको छ । सुपरभाइजर पदमा राखिएका नागेन्द्र प्रसाद यादव पनि पालिका अध्यक्षका मान्छे हुन् ।

मधेशदृष्टिको लामो खोजपड्तालमा यो पनि भेटियो कि अध्यक्ष जसवन्त यादवले आफ्ना साला सुनिलकुमार यादवलाई कम्प्युटर शाखामा जागिर दिएका छन् । उनलाई कम्प्युटरको ज्ञान भने नभएको पाइएको छ । उनले मासिक ३४ हजार ३ सय ८२ रुपैयाँ ७० पैसा तलब खान्छन् । यस्तै, सन्नीप्रसाद महतो पनि अध्यक्ष यादवका नाता पर्ने कर्मचारी हुन् ।

११ महिनामा इन्धनमा ९२ लाख ?
जम्मा ६ वटा वडा भएको सखुवाप्रसौनीमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु जनताको काममा हिँड्नु नै पर्छ । पक्कै उनीहरुलाई पालिकाले इन्धन, यातायात, भत्ता दिनैपर्छ । तर सखुवाप्रसौनीका अध्यक्ष यादवले गरेको इन्धन खर्च हेर्ने हो भने उनी २४ सै घण्टा जनताको काममा हिँडेको जोड्दा पनि पुग्दैन कि भनेर शंका गर्ने ठाउँ छ । उनले वैशाखसम्ममा इन्धनमा मात्रै ९२ लाख ५ हजार ३९ रुपैयाँ सकाएका छन् । पालिकाको इन्धनको मासिक खर्च विवरण यस्तो छः

२०७९ भदौः ७,७४,४५४
२०७९ असोजः ५,७७,०६०
२०७९ कात्तिक २ गतेः ५,९८,८०७
२०७९ कात्तिक १७ गतेः ७,२०,०६०
२०७९ मंसिरः ८,७६,५८२
२०७९ पुसः ४,८८,१३४
२०७९ माघ २३ः ५,७९,३३८
२०७९ माघ २८ः ७,४४,४५५
२०७९ फागुनः ३,५३,११९
२०७९ चैत १४ः २,०३,०१७
२०७९ चैत १४ः ६,६०,१०७
२०८० वैशाखः ७,३०,६९०
२०८० जेठ १०ः ६,३२,७६१

गाडी मर्मतमा पनि उस्तै बदमासी
स्करपिओ मर्मतमा पालिका अध्यक्ष जसवन्त यादवले गरेको खर्च आँकडा हेर्दा पक्कै जनता पनि ‘अध्यक्षज्यूले के गरे यस्तो’ भन्नेछन् । हेर्नुहोस् तथ्यांकः

स्करपिओ मर्मत खर्चः
२०७९ जेठ १६ गतेः १,९१,०१६
२०७९ असार १९ गतेः २,०७,०९०
२०७९ भदौ २० गतेः २,४०,४५१
२०७९ पुस ९ गतेः ३,८१,५७५
२०७९ पुस १० गतेः ४६,२४९
२०७९ माघ १२ गतेः १,७९,७७५
२०८० जेठ १४ गतेः ६०,२१०
२०८० जेठ १७ गतेः ६०,२७५

एम्बुलेन्स मर्मत खर्च
सखुवाप्रसौनी गाउँपालिकामा दुई वटा एम्बुलेन्स छन् । एम्बुलेन्स मर्मत खर्च हेर्नुहोस्ः

२०७९ मंसिर २३ गतेः १,४९,९८७ (महुवन एम्बुलेन्स)
२०७९ भदौ १७ गतेः ५८,६६१ (महुवन एम्बुलेन्स)
२०७९ असोज ५ गतेः ७२,६१७ (मधुवन मथोल एम्बुलेन्स)
२०७९ असोज ५ गतेः ८९,१९६ (महुवन एम्बुलेन्स)
२०७९ असोज २६ गतेः ८९,१९६ (महुवन एम्बुलेन्स)
२०७९ असोज ३० गतेः १,५०,००० (व्यक्तिगत)
२०७९ मंसिर २३ गतेः १,३०,४९४ (मधुवन मथोल एम्बुलेन्स)
२०७९ पुस १९ गतेः ७,४७,६५० (मधुवन मथोल एम्बुलेन्स)
२०७९ फागुन १७ गतेः २६,८०० (मधुवन मथोल एम्बुलेन्स)
२०७९ चैत ३० गतेः २२,००० (महुवन एम्बुलेन्स)
२०८० जेठ ७ गतेः २,६३,९७६ (महुवन एम्बुलेन्स)
२०८० जेठ ७ गतेः १,३९,२९०

टिपर मर्मत खर्च
२०७९ जेठ १६ गतेः १,३०,२००
२०८० जेठ ७ गतेः ३३,०००

दमकल मर्मत खर्चः
२०८० वैशाख ५ गतेः १,३७,६९०

जेसिबी मर्मत खर्च
२०७९ असोज ५ गतेः ४,०८,००९
२०७९ पुस १२ गतेः ७०,३४२
२०८० वैशाख ५ गतेः ७५,९६९
२०८० वैशाख ७ गतेः २७,७००
२०८० वैशाख २५ गतेः १,१५,४९७
२०८० जेठ १२ गतेः ४८,१६०

फर्निचरमा पनि किन बाँकी राख्नु ?

सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले पालिकामा फर्निचरमा पनि उस्तै बदमासी गरेका छन् । उनले केही फर्निचर आफ्नै घरमा लगेको पाइएको छ । केही फर्निचर नकिनी भुक्तानी गराएका छन् । दुईवटा ठूलो रकमको फर्निचर किन्न टेन्डरको सूचना नै लुकाएका छन् । हेरौँ फर्निचर खरिद विवरणः

फर्निचर विवरण
२०७९ पुस ८ गतेः ३ लाख
२०७९ माघ २२ गतेः ३ लाख
२०७९ माघ २२ गतेः १ लाख
२०७९ माघ २२ गतेः १ लाख (अर्को खाता)
२०७९ माघ २२ गतेः २० लाख (गोप्य टेन्डर, लुकाइयो, स्कुलको बेन्च किनेको भनिएको)
२०७९ माघ २२ गतेः २० लाख (अर्को गोप्य टेन्डर, लुकाइयो, स्कुलको बेन्च किनेको)
२०७९ चैत ९ गतेः १० लाख
२०७९ चैत २७ गतेः ३ लाख
२०७९ माघ २२ गतेः ३ लाख
२०८० जेठ १७ गतेः १ लाख (प्लास्टिकका कुर्सी, पशु सेवा शाखामा)

अन्य शीर्षक
गलैँचाः ३९ हजार
वाइफाइन नेटवर्कः ४६,३३०

एसी खरिदमा पनि घोटाला
पालिका अध्यक्ष जसवन्त यादवले पालिकामा किनेको एसीमा पनि बदमासी गरेको भन्दै अख्तियारमै उजुरी परेको छ । हाम्रो खोजमा भेटिएको छ कि, पालिका अध्यक्ष यादवले २०७९ कात्तिक ११ गते र पुस ८ गते दुई वटा एसी किनेका थिए । पालिकामा एउटा पुरानो एसी पनि थियो । अहिले नयाँ एसी किन्ने तयारी भइरहेको छ । उनले ३ लाखको फर्निचर घर लगेको पाइएको छ । पालिकामा भएको तीन वटा एसीमा एउटा अध्यक्षको कोठामा छ । अर्को नचल्ने एसी छ । एउटा नयाँ एसी कहाँ छ ? खोजी भइरहेको छ । अख्तियारले पनि एसीमा चासो दिएको छ ।

गाउँ नआउने पत्रिकाले कति लगे पैसा ?
सखुवाप्रसौनी गाउँपालिकाले आफ्नो बदमासी नदेखियोस् र पारदर्शी होस् भनेर पालिकाका सूचनाहरु पत्रिकामा छपाउने गरेको पाइएको छ । तर ती पत्रिकाहरु सखुवाप्रसौनी पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको टेबलमा मात्र पुग्ने गरेको छ । सखुवाप्रसौनीका जनताले आफ्नो पालिकाको सूचना छापिएको पत्रिका देख्न पाएका छैनन् । पत्रिकाको अनुहार हेर्न काठमाडौँ नै पुग्नु पर्ने हुन्छ या त कार्यकारी अधिकृतसँग सम्बन्ध हुनुपर्छ । पालिकाले पर्सा जिल्लामा नामै नसुनिएको चन्द्रसूर्यवाणी दैनिकलाई दिइएको भुक्तानी विवरण पनि हेर्नुहोस्ः

२०७८ फागुन ८ गतेः २० हजार
२०७८ फागुन २९ गतेः ४० हजार
२०७८ फागुन २९ गतेः २० हजार
२०७८ चैत २ गतेः २० हजार
२०७९ वैशाख १० गतेः ८० हजार
२०७९ जेठ ७ गतेः २० हजार
२०७९ असोज ५ गतेः १४ हजार
२०७९ कात्तिक २२ गतेः २० हजार
२०७९ फागुन ३ गतेः १९,७००

नोटः यहाँ केही पुराना मितिका भुक्तानी भएका छन्, जुन पालिकामा नआउने पत्रिकालाई सूचना र पैसा दिने कायम अघिल्लो नेतृत्वबाटै भएको र अहिलेसम्म उही कम्पनी र पत्रिकाले पैसा लगिरहेको पाइएको छ । उसले ३ लाख ७९ हजार ७ सय रुपैयाँ भुक्तानी लगेको छ ।

गोप्य सूचनामा १० लाख
पत्रिकाले सूचना पारदर्शी गर्नु पर्नेमा गुपचुप छापेर आर्थिक अनियमितता गरेको पाइएको छ । केही काम आफ्ना मान्छेलाई दिनका लागि पालिकाले गोप्य सूचना छापेको पाइएको हो । सूचना प्रकाशनबापत ९ लाख ८८ हजार रुपैयाँ भुक्तानी भएको छ ।

गोप्य सूचना निकाल्ने कम्पनीः जय मधेश मिडिया एन्ड सप्लायर्स

भुक्तानी मिति र रकम
२०७९ पुस ८ गतेः १,२७,७४७
२०७९ कात्तिक ६ गतेः १,२५,९९५
२०७९ कात्तिक १८ गतेः १,२५,९९५
२०८० वैशाख ६ गतेः ३,००,१८५
२०८० जेठ १४ गतेः ३,०८,३१८

कार्यकारी पनि के कम ?


सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले अध्यक्ष जसवन्त यादवको बदमासीमा साथ दिँदै आफ्नै सालीलाई पनि रोजगार सहायकको जागिर दिएका छन् । उनले साली पल्वीकुमारी साहलाई रोजगार सहायकमा नियुक्त गरी खातामा पैसा पठाइदिएको पाइएको छ ।

अख्तियारमा उजुरी
सखुवाप्रसौनी गाउँपालिकामा भएको बदमासीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । आयोगमा उजुरी परेपछि आयोगले वैशाख ३१ गते पालिकालाई पत्र लेखेको छ । पत्रमा विभिन्न शीर्षकमा भ्रष्टाचार भएको भन्दै कागजपत्र माग गरिएको हो । बाटो मर्मत, इन्धन, कर्मचारी भर्ना, एसी खरिद लगायतका बजेटमा रकम हिनामिना गरेको भन्ने समेत बेहोराको उजुरीको छानबिनका लागि अख्तियारले कागजपत्र मागेको हो ।

कागजात सुरक्षित छन्
हामी कुनै पनि पालिकाका जनप्रतिनिधिविरुद्ध एकतर्फी, राजनीतिक द्वेष राखेर आक्षेपयुक्त सामग्री प्रकाशन गर्दैनौँ । यहाँ पनि हामीले जनप्रतिनिधि कुन पार्टीका हुन्, चासो राखेका छैनौँ । हाम्रो खोजपड्तालमा फेला परेका कागजातका आधारमा यो समाचार सामग्री तयार पारिएको हो । रकममा करकट्टीले केही तलमाथि होला । तर यहाँ उल्लेख गरिएका सामग्रीसम्बन्धी कागजात मधेशदृष्टि दैनिकसँग सुरक्षित रहेको जानकारी गराउँदछौँ । उसै पनि सखुवाप्रसौनीमा भ्रष्टाचार भएको भनेर अख्तियारमा उजुरी परेपछि राज्यको अंगले नै छानबिन गरिरहेकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button