
मधेशदृष्टि
वीरगंज ।
वीरगंजका उद्योगी, व्यवसायीले व्यवस्थित उद्योग सञ्चालनका लागि वीरगंज महानगरसँग जग्गा उपलब्ध गराइदिन माग गरेका छन् । महानगरले जग्गा उपलब्ध गराइदिए व्यवस्थित र वैज्ञानिक ढंगले एकै स्थानमा उद्योग सञ्चालनका लागि सहज हुने उद्योगी व्यवसायीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीसहितको टोलीले वीरगंज महानगरका प्रमुख राजेशमान सिंहसँग बुधबार बिहान उद्योग व्यवसायबारे छलफल गरेका छन् ।
छलफलमा उद्योगीहरुले एकैठाउँमा उद्योग सञ्चालनका लागि कम्तीमा दुई सय बिघा जमीन उपलब्ध गराउन माग गरेका थिए । यस्तै, भएका उद्योगहरु चलायमान गराउने वातावरण बनाइदिन पनि उनीहरुले महानगरलाई अपिल गरेका थिए ।

यस्तै, उद्योगहरुले गर्ने प्रदूषण नियन्त्रण गर्न वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न सकिने र यसका लागि महानगर र सरकारले प्लान्ट जडान गरिदिनु पर्ने उद्योगी व्यवसायीको माग थियो । हेटौँडामा जस्तै, प्लान्ट जडान गरेर प्रशोधित पानी फाल्न सके प्रदूषण नियन्त्रण हुने उनीहरुको तर्क थियो ।
छलफलमा विदेश जानेहरुलाई देशमै र वीरगंजमै रोकेर उद्योगधन्दामा सरिक गराउन तालिममूलक कक्षाहरु सञ्चालनका लागि अशोक टेमानीले पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन उचित हुने बताएका थिए । यसो गर्दा भारतीयका ठाउँमा नेपालीले रोजगारी पाउने टेमानीको तर्क छ ।
‘राज्यले उद्योग र उद्योगीलाई हेर्ने नीति देख्दा सबै उद्योगी राज्यलाई साँचो बुझाउने अवस्थामा छन्,’ टेमानीले भने, ‘उद्योग चलाउने वातावरण राज्यले बनाउन सकेको छैन, बैंकहरुले उस्तै तनाव दिएका छन्, साँचो बैँकलाई बुझाउने कि राज्यलाई भन्ने अवस्थामा उद्योगी पुगेका छन् ।’
उद्योगीहरुले गुठीको पुरानो जग्गा राखेर एनआइसी बैंकले आफ्ना मान्छेलाई कर्जा दिइएको पाइएको विषय उठाएका थिए । उनीहरुले सिर्सिया नदी प्रदूषणमा संलग्न उद्योगलाई कारबाही, औद्योगिक क्षेत्र निर्माणका विषयसँगै आगामी बजेटमा उद्योगव्यवसायलाई राहत हुने कार्यक्रम ल्याउन आग्रह गरेका थिए । यस्तै विभिन्न करहरुबारे पनि छलफल भएको थियो ।

जवाफमा महानगर प्रमुख सिंहले भने, ‘गुठीको कर्जा प्रवाहको जग्गा महानगरले ल्याउन पहल गर्नेछ, उद्योग व्यवसाय चलायनमान बनाउने विषयमा हामी यहाँहरुको सल्लाह अनुसार नै काम गर्न तयार छौँ । जग्गाको परिमाण धेरै भएकाले तत्काल उपलब्ध हुन नसक्ने देखिन्छ, मिलेर पहल गरौँ ।’ उनले करका विषयमा पनि छलफल गर्न सकिने बताए ।
सिंहले महानगरसँग रहेको १७ कठ्ठा जग्गा पनि उद्योग व्यवसायका लागि दिन तयार रहेको बताए । महानगर प्रमुख सिंहले उद्योगहरुले दर्ताका बेला गरेका प्रतिवद्धता अनुसार प्रदूषण नियन्त्रणको काम गर्नु पर्ने दोहो¥याए ।
रात्रीबजारलाई जग्गा चाहियो
वीरगंज उद्योग वाणिज्य संघले रात्री बजार सञ्चालनका लागि निश्चित क्षेत्र माग गरेको छ । महानगर प्रमुख सिहंसँगको छलफलमा संघले कुनै क्षेत्रमा बजार लगाउने तोक्न अपिल गरेको हो । कुनै निश्चित क्षेत्रमा बजार लगाउने व्यवस्था गरिदिएपछि बाँकी व्यापारीहरु त्यहीँ आउने संघको भनाइ छ । अब ठूला मञ्च बनाउने, सजाउने काम भन्दा पनि बजार ठूलो बनाउने काममा लाग्नु पर्ने संघको भनाइ छ ।
बिहीबार पनि छलफल
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले बिहीबार बिहान फेरि छलफलका लागि मेयर सिंहले बोलाएको जानकारी दिए । ‘आज उहाँहरु बजेटकै विषयमा जुटिरहनु भएको रहेछ, हामीले सामान्य जानकारी गरायौँ, भोलि फेरि बोलाउनु भएको छ,’ पटवारीले भने, ‘बिहीबार बिहान छलफल गर्नेछौँ, छलफलमा करका विषयमा बढी केन्द्रित हुनेछौँ, महानगरको करको दायरा पनि बढोस्, उद्योगी व्यवसायी पनि मारमा नपरुन् भनेर हामी सुझाव दिने पक्षमा छौँ ।’






