मोबाइलकै कारण छोरा मारिएको परिवारको दाबी

[mashshare]

विनय कर्ण
सप्तरी ।

‘आमा मासु पकाएर राख्नु, भोलि मलाई काठमाडौँ जानु’छ,’ छोराले भनेका थिए । तर छोरा फर्केनन् । र, अब फर्कँदैनन् पनि ।
आइतबार बिहान रुपनी गाउँपालिका वडा नम्बर १ रायपुरस्थित रुपनी–राजविराज सडकखण्ड अन्तर्गत नेपाल विद्युत प्राधिकरणको कार्यालयदेखि २ सय मिटर दक्षिणमा रहेको सडकबाट २५ मिटर पश्चिम खेतमा बिहानै स्थानीयले मृतअवस्थामा युवकको शव देखे । शम्भुनाथ नगरपालिका वडा नम्बर २ स्थित खैरवोनाका २२ वर्षीय मो. तफेजुल संसार छाडेर सदाको लागि गइसकेको सबैले थाहा पाए ।
उनको मृत्युको खबर बाहिरिएपछि परिवारजनले पूर्वपश्चिम राजमार्गस्थित रुपनीमा चक्काजाम गरे । टायर बालेर प्रदर्शन गरे । प्रहरीले परिवारजनसँग कुरा गर्दा २ घण्टापछि जाम खुल्यो र प्रहरी अनुसन्धानमा लाग्यो ।

मृतक तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर सुक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता नरेशकुमार सिंहले बताए । घटना थाहा पाएपछि प्रहरीले शंकास्पद तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
‘हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ, अहिले अनुसन्धान जारी नै रहेकाले हत्याको प्रकृति र कारणपछि खुल्नेछ,’ प्रहरी प्रवक्ता सिंहले भने ।

मृतकको शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यता, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले घटना दुःखद र निन्दनीय भएको बताए । उनले घटनामा जो कोही संलग्न भए पनि कडा कारबाही माग गरे ।

पीडामा परिवार
शम्भुनाथ नगरपालिका वडा नम्बर २ स्थित खैरवोनाका मो.लुकमान र वासिरन खातुनका २२ वर्षीय छोरा तफेजुलको मृत्युको खबर सुनेदेखि उनीहरु शोकमा परेका छन् । ‘मलाई शनिबार साँझ मासु पकाएर राख्नु, भोलि काठमाडाँै जान्छु भनेर गएको छोरालाई यो अवस्थामा देख्नु परेको कल्पनासमेत गरेको थिइनँ,’ तफेजुलका आमा वारिसनले आँखाबाट आँसु झार्दै भनिन् ।

‘वैदेशिक रोजगारीमा गएको जेठो छोराको २ वर्षअघि नै कतारमा मृत्यु भइसकेको छ, अर्को छोरा तफेजुलको पनि यसरी मृत्यु हुँदा अब कसको आशामा कसरी बाँच्ने ?’ उनले पीडा पोखिन् ।

उनले तफेजुललाई साथीहरुले नै मारेको आरोप लगाइन् । ‘शनिवार दुईजना उनका साथी मेरो घरमा आएर छोरालाई बोलाएर लगे, त्यसपछि रातभर फर्केर आएनन्, उनीहरुले नै मेरो छोरालाई मारेको हो,’ वारिसनको दाबी छ । तर, ती साथीलाई उनी अनुहारबाट चिन्छिन्, नाम भने थाहा छैन ।

घट्ना र मोबाइल
केही दिनअघि तफेजुलको मोबाइल हराएको थियो । त्यो मोबाइल फेला पार्ने व्यक्तिले एकजनालाई बेचे । पछि तफेजुलले आफ्नो मोबाइल चिनेपछि किन्ने व्यक्तिसँग मोबाइल माग्न गए र त्यहीँबाट विवाद सुरु भएको मृतकका ठूलीआमा नसो खातुनले बताइन् ।
उनले तफेजुलका साथीहरुको नाउँ आफूलाई थाहा नभएको तर मोबाइलकै कारण घटना हत्यासम्म पुगेको तर्क राखिन् । नसोले घटनाबारे बताइरहँदा त्यसमा ठूलो बुबा मो. सुहान र सानी आमा सकली खातुनले पनि सहमति जनाइन् ।

तफेजुलको शवनजिक प्रहरीले मोबाइल फेला पारेको छ भने करिब ४० मिटर पूर्व मृतकको सर्ट, कालो टोपी र चप्पल पनि फेला परेको छ । दोषी उम्कन नपाओस् भन्ने उद्देश्यले पक्राउ परेको व्यक्तिको नाम पनि प्रहरीले गोप्य राखेको छ । तर मृतकका आमाले प्रहरीले समातेको सबै छोराको साथी भएको दाबी गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button