
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति आफ्नो पार्टीबाट बन्ने दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेस सुर्खेतले आज आइतवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।’
महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वाभाविक रहेको बताउनुभयो ।
पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटिका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उहाँले त्यसमा कसले के कति गल्ती गर्यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताउनुभयो । अबको केही दिनमा पुरानै गठबन्धन बिउँतिने उहाँको भनाइ थियो ।






