
विकास अग्रवाल
रौतहट, २४ माघ ।
गौर भन्सार कार्यालयको मुख्य नाका भएर व्यापक तस्करी भईरहेको चर्चा भइरहेको बेला सुरक्षाकर्मीले तीन सय बोरा चामल छापा मारेको छ ।सुरक्षाकर्मीले सदरमुकाम गौरको एक चामल पसलमा छापामारी अवैध रुपले भित्रिएको चामल बरामद गरेपछि भन्सार नाकाबाट तस्करी बढेको पुष्टि भएको हो ।
भन्सार नाकामा खटिएका सुरक्षाकर्मीहरुको मिलेमतोमा तस्करहरुले दैनिक लाखौं मुल्य बराबरका सामानहरु अवैध रुपले भित्राएर सदरमुकाम स्थित गोदाममा सञ्चित गरी बिक्री वितरण गर्दे आएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालयले छापामारी गरेको हो । यस अघि गत मंसिरमा पनि यसैगरी छापा मारिएको थियो ।
जिल्ला प्रहरी, जिल्ला प्रशासन तथा गौर भन्सार कार्यालयबाट गएको संयुक्त टोलीले गौर नगरपालिका ५ स्थित रहेको नन्दलाल चिउरा भुजा चामल पसलमा छापामारी ठुलो परिणाममा भारतीय चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विगत लामो समय देखि भारतबाट अवैध रुपमा चामल भित्राएर जिल्लाको विभिन्न स्थानमा पुर्याउँदै आएको गुनासो आउन थालेपछि छापामारी गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीले आइतवबार अबेर साँझ गरिएको उक्त छापामारी करिब २ घण्टासम्म चलेको थियो । विभिन्न कम्पनीका मंसुली, कतरनी तथा बासमती चामलहरु भन्सार छली अवैध रुपले भित्राई गोदाममा सञ्चित गरीराखेको गोप्य सूचनाको आधारमा छापामारी गरिएको प्रहरी उपरीक्षक बीरबहादुर बुढा मगरले बताए । पटक पटक उक्त पसलमा भारतीय चामलको अवैध कारोबार भईरहेको गुनासो आएपछि यसअधि पनि दुई पटक छापामारी गरिएको एसपी मगरले जानकारी दिए ।
नन्दलाल चिउरा भुजा तथा चामल पसलबाट ९० प्रतिशत भन्सार छलीका खाद्यान्न बिक्री वितरण हुने गरेको सुरक्षाकर्मी भनाई छ । बोरामा २५ किलोग्राम चामल उल्लेख गरिएपनि उनले बिक्री वितरण गर्ने अधिकांश बोरामा करिब २४ केजी मात्र तौल रहने गरेको समेत सुरक्षाकर्मी श्रोत बताउँछ ।
छापामारीको क्रममा विभिन्न कम्पनीका २ सय ९७ बोरा चामल करिब साढे सात सय क्विन्टल भन्सार छलीको चामल बरामद भएको जिल्ला प्रहरीले जनाएको छ । बरामद चामललाई आन्तरिक राजस्व कार्यालय पथलैया बाराको कार्यालयमा दाखिला गरेको समेत जिल्ला प्रहरीले बताएको छ । छापामारीको क्रममा पसल सञ्चालक फरार रहेकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरीले कथन छ ।
रौतहट उद्योग वाणिज्य संघका एक सदस्य सुरक्षाकर्मीको दोहोरो भूमिका परिवर्तन हुनुपर्ने बताउँछन् । उनका अनुसार सुरक्षाकर्मीको मिलोमतोमा तस्करी हुन्छ, त्यसरी तस्करी भएको सामान छापामार गर्ने काम पनि सुरक्षाकर्मीबाटै बेलाबेलामा हुन्छ । ‘सुरक्षाकर्मीको मिलेमतोमा गौर भन्सार कार्यालयको मुख्य नाकाबाट हुने तस्करी कारोबारलाई नियन्त्रण गरेमा गौरका व्यवसायीहरु आर्थिक मारमा पर्देनन् ।’ सुरक्षाकर्मीको दोहोरो भूमिकाको विरोध हुनुपर्ने उनी बताउँछन् ।
वैघ चामल रहेको सञ्चालकको दाबी
जिल्ला प्रशासन कार्यालयबाट लिलाम साकार गरेको चामललाई सुरक्षाकर्मीले अवैध भन्दै लगेको आरोप पसल सञ्चालक नन्दलाल साह तेलीले लगाएका छन् । साहका अनुसार गौर नगरपालिका १ स्थित रहेको ओम गल्ला भण्डारबाट कालोबजारी मुद्धामा जिल्ला प्रशासनले मंसिर १४ मा लिलाम गरेको चालम सकार गरी गोदाममा भण्डारण गरिराखेको अवस्थामा सुरक्षाकर्मीले छापामारी गरेको हो ।
कालोबजार मुद्धामा ओम गल्ला भण्डारबाट बरामद भई जिल्ला प्रशासन कार्यालयले लिलाम गर्दा २ लाख ५ हजार ५ सय रुपैयामा कतरनी चामल ६९ क्विन्टल, मंसुली चामल साढे १४ क्विन्टल र चुनि भुष साढे ८ क्विन्टल सकार गरी गोदाममा राखिराखेको अवस्थामा जिल्ला प्रहरीबाट आएको प्रमाण स्वरुप त्यसबेलाको पत्र देखाउँदै साह भन्छन् ‘ वैध चाललाई अवैध भन्न मिल्दैन ।’
सुरक्षाकर्मीहरु भने नन्दलालको पसलबाट दैनिक एक ट्रक जस्तो चामल विक्री हुने गरेको बताउँदै कारवाहीबाट बच्न कागजी आड लिएको टिप्पणी गर्दछन् । एक सुरक्षाकर्मीले भने ‘ लिलाम भएको चाममल र अहिले पाइएको चामलनै फरक छ, बोराहरुनै फरक छन् ।’






