
बीरगंज २२ माघ ।
भेडाहा खोलामा गिट्टी, ढुङ्गा, बालुवाको उत्खनन कार्य तत्काल रोक्न माग गर्दै आज बीरगंज महानगरपालिका वडा नम्बर २८ का स्थानिय वासिन्दाले बीरगंजमा प्रदर्शन गरेका छन ।
बीरगंज महानगरपालिका वडा नम्बर २८ मा पर्ने भेडाहा खोला महानगरपालिकाको कार्यालयले ठेक्कामा लगाएको र खोलाबाट गिट्टी, बालुवा उत्खनन गर्दा सयौं किसानहरु प्रभावित हुने भन्दै आज स्थानिय वासिन्दाले वीरगंजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
भेडाहा खोलाबाट गिट्टी, बालुवा उत्खनन गर्दा सयौं किसानको सम्पति नदी कटानमा पर्ने र किसानहरु विस्थापित हुने अवस्था आउने भन्दै तत्काल महानगरपालिकाले लगाएको ठेक्का रद्द गरी किसानको माग सम्बोधन गर्न स्थानिय प्रशासन तथा महानगरपालिकालाई आग्रह गरिएको छ ।
भेडाहा खोला नदी विस्तार गर्ने नाममा महानगरपालिकाले कानुन विपरित पिडित किसानहरुको जग्गा हकभोग गर्ने अधिकारबाट बञ्चित गराउदै गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्ने कार्य हाल जारी रहेको र यसबाट किसानको हजारौ विगाहा जग्गा नदी डुवान तथा कटान हुने भएपछि आफूहरुसँग आन्दोलन गर्नुको विकल्प नभएको संघर्ष समितिका संयोजक शर्मालाल ठाकुरले बताउनु भयो ।
बीरगंजको घण्टाघरबाट जुलुस निकालेर पिडित किसानहरुले जिल्ला प्रशासन कार्यालय तथा बीरगंज महानगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएका थिए । किसानहरुकोमाग सम्बोधन नभए आफूहरु कडा आन्दोलनमा उत्र्ने चेतावनी प्रदर्शनमा उत्रिएका स्थानियवासिन्दाले दिएका छन ।
गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोक्नका लागि शनिवार बीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा सम्पन्न भेलाले शर्मालाल ठाकुरको संयोजकत्वमा ५४ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।






