वीरगंजका क्यासिनोहरुमा प्रहरी प्रशासनको छापा, ग्राहकहरु पछाडिबाट भगाइए, सवारीसाधनमा लक

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार राति वीरगंजका विभिन्न क्यासिनो जुवाघरमा अनुगमन गरेको छ । क्यासिनोमा चाडपर्वको मौका पारेर नेपाली ग्राहकहरुसमेत पुगेको खबरपछि प्रहरी प्रशासनले अनुगमन गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जनगुनासोपछि नियमित अनुगमनमा टोली पुगेको तर कुनै अवाञ्छित गतिविधि र नेपाली ग्राहक नभेटिएको बताउनु भयो । उहाँले यस्तो अनुगमन नियमित भइरहने बताउनु भयो ।

दीपावली र पर्व छठको आगमनसँगै सडकमा सर्वसाधारणको चाप बढिरहँदा प्रहरीको सुरक्षा व्यवस्था सडककेन्द्रित भइरहेको मौका पारेर वीरगंजका क्यासिनो भरिभराउ भएको पाइएपछि प्रहरी प्रशासनले अनुगमन गरेको हो । तर प्रहरी प्रशासन आउँदैछ भन्ने थाहा पाएर क्यासिनो व्यवस्थापनले ग्राहकहरुलाई पछाडिको ढोकाबाट भगाएको स्रोतको दाबी छ । सोमबार राति वीरगंजमा सञ्चालित किङ्स क्यासिनो र फर्चुन सिटी गेमिङ क्लब, सुरज, दियालो र क्लार्क क्यासिनो अर्थात् मिनी जुवाघर भरिभराउ भएको पाइएको थियो । प्रहरी प्रशासन पुग्दा क्यासिनो खाली देखिए पनि भारत तथा सीमावर्ती क्षेत्रका नेपाली ग्राहकले प्रयोग गर्ने एक दर्जन भन्दा बढी भारतीय नम्बरप्लेटका सवारी साधन भने ग्रिनसिटीको पार्किङमा लक गरेर राखिएको पाइएको छ ।

स्रोतका अनुसार ती सवारीसाधनका मालिक जुवाघर आएर हारेकाले सवारी साधन लक भएका हुन् । पर्साकै पटेर्वा सुगौली गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण चौधरीले समेत छ करोड रुपैयाँ विभिन्न क्यासिनोमा जुवा खेलेर हारेका खबर बाहिर आएको छ । क्यासिनोहरूले दीपावलीको अवसरमा स्वदेशी र विदेशी जुवाका सौखिनलाई आकर्षक छुट र मनोरञ्जनको अफर दिएर आकर्षित गरिरहेको पाइएको छ । वीरगंज आसपासकै लक्ष्मनवा, पिपरा र नगवाका सैयौँ युवा जुवाको कुलतमा फसेर घरबार गुमाउने अवस्थामा पुगेका छन् । पर्सामा नयाँ प्रहरी उपरीक्षकसँगै अन्य एरिया इन्चार्जहरु पनि हेरफेर भएकाले क्यासिनो सञ्चालकहरुको मनोबल बढेको हो । क्यासिनोमा नेपालीको प्रवेश र कारोबार नियन्त्रण पर्सा प्रहरीका लागि चुनौती बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button