कबाडी करका नाममा गुण्डागर्दी शैलीमा असुली

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

भ्रष्टाचाररहित सुशासन र अशल आचरणयुक्त देश बनाउने भनेर युवा पुस्ताले आन्दोलन गरेको बल्ल एक हप्ता भएको छ । सरकार बन्दैछ । प्रदेश सरकार अहिलेसम्म बोल्न सकेको छैन । प्रदेश सरकार छ कि छैन, प्रदेश सरकारको धुकधुकी मात्रै चलेको अनुभूत छ । नेताहरु बल्ल सडकमा आउन सक्ने भएका छन् । धेरै नेता अझै सेनाको ब्यारेकमै सुरक्षाघेरामा छन् । अब त देश सुधार हुन्छ भन्ने सबैलाई छ ।

तर कोही कोहीलाई भने लुट्ने धन्दा र नानीदेखि लागेको बानी अनि जति मीठो घाँस दिए पनि चोर बाख्रा अरुको बारीमा पसिहाल्छ भन्ने नेपाली उखानजस्तै छ बानी सुधार्न मन लागिरहेको छैन । जस्तो वीरगंज शहरका केही असुलीधन्दाका ठेकेदारहरुको शानशौकत र रवैयाले यही संकेत गरिरहेको छ । देशभर भ्रष्टाचार र गुण्डागर्दीविरुद्ध ऐतिहासिक ‘जेन्जी आन्दोलन’ चल्दा अछुतो नरहेको वीरगंजमा भने पुनः पुरानै बानी संस्थागत भएका छ । वीरगंज महानगरभित्र खुलेयाम गुण्डागर्दी शैलीमा असुली धन्दा फेरि शुरु भएको छ ।

वीरगंजस्थित जगन्नाथपुरमा रहेको कबाडी करको ढाटमार्फत भारतीय नम्बरका ट्रकलाई जबर्जस्ती रोकेर प्रतिट्रक ४ सय रुपैयाँका दरले रसिद काटेर पैसा असुल शुरु भएको छ । मधेशदृष्टि सोमबार साँझ त्यहाँ पुग्दा अधिकांश चालकहरुले आफू अनाहकमा लुटिएको, जबर्जस्ती पैसा असुल भइरहेको र शक्ति प्रदर्शन गरेर रकम ठगी भइरहेको बताए ।

वीरगंज महानगरले तोकेको व्यवस्थाअनुसार ढाटलाई स्थानीय जडिबुटी, जनावर तथा व्यावसायिक कारोबार हुने सामग्रीबाट कर उठाउने अधिकार दिइएको हो । तर, ठेक्का पाएको अमित ठेक्कापट्टा कम्पनीले महानगरको निर्णय र अनुमतिविपरीत गुण्डागर्दी शैलीमा भारतबाट भन्सारमार्ग हुँदै आउने वा औद्योगिक करिडोरतर्फ माल लोड गर्न आएका खाली भारतीय ट्रकसमेत रोकेर पैसा असुल गरेको छ ।

ढाटमा ८–१० जना युवा दिनरात सडकमै बसेर भारतीय ट्रक रोक्ने, जबर्जस्ती रसिद काट्ने र पैसा नदिने ट्रक चालकलाई धम्काउने तथा कुटपिट गर्ने कार्य गरिरहेका छन् । रातकै समयमा करिब ९ बजे भारतको नम्बर ९४१४ नम्बर ट्रक रोकेर ४ सय रुपैयाँ असुल गरिएको थियो । अशुलीको रसिद नम्बर ११८७९, प्यान नम्बर ६१३२९४९५७ थियो ।

दैनिक करिब ४ सयदेखि ५ सय ट्रकबाट यसरी गुण्डागर्दी शैलीमा पैसा असुल्ने गरिएको अनुमान छ । स्थानीय स्रोतले यस कार्यमा पर्साको प्रहरी र प्रशासन, वीरगंज महानगरका प्रतिनिधि र स्थानीय केहीलाईसमेत रकम बाँडचुँड हुने भएकाले निर्भिकरूपमा खुलेयाम असुली भइरहेको दाबी गरेका छन् । देश भ्रष्टाचारविरुद्ध आन्दोलित भइरहेका बेला वीरगंजमै यस्ता अवैध क्रियाकलाप खुलेआम हुनु दुर्भाग्यपूर्ण र चिन्ताजनक बनेको छ । सडकमा खाली हिँडेका सवारी साधनलाई समेत रकम असुलेर अमिट ठेक्कापट्टा कम्पनीले बदमासी गरिरहँदा वीरगंज महानगर किन कारबाहीको प्रक्रिया अघि बढाउँदैन भनेर स्थानीयले प्रश्न पनि गरेका छन् ।

सम्पर्कमै आउँदैनन् अली
अमित ठेक्का पट्टाका प्रमुख अली भनिने हुन् । उनी केहीदिन अघिसम्म ह्वाट्स एपमा पनि आफूलाई पहुँचवाला राजनीतिक नेताको आशीर्वाद पाएको देखाउन प्रोफाइलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग खिचेको तस्बिर राख्थे । उनको कम्पनीबारे केही जानकारी लिन फोन गर्नेहरुलाई कर्मचारीहरु सिधै अली सरसँग सम्पर्क गर्न भनेर उनको नम्बर दिन्थे । तर अली न फोन उठाउँथे, न ह्वाट्स एप कल उठाउँथे । अहिले आन्दोलन भएर दलका नेताहरुको अवस्था कमजोर भएपछि अलीले ह्वाट्स एपमा पत्नीसहितको तस्बिर राखेका छन् ता कि उनको तस्बिरसमेत मिडियाले सजिलै क्याप्चर नगरोस् भन्ने चतुरता उनी देखाइरहेका छन् । तर भारतबाट वीरगंज र हेटौँडा आउने भारतीय नागरिकले उनको ठेक्कापट्टाका कारण चरम दुःख पाइरहेको बरोबर हामीले सूचना सम्प्रेषण गरिरहेका छौँ । वीरगंज महानगरले पनि यसबारे चासो लिन जरुरी छ । अन्यथा भारतीय नागरिकहरु महानगरमै आउने चेतावनी दिन्छन् ।

हेटौँडामा पनि यही कम्पनीको ठेक्का
हेटौँडा उपमहानगरमा पनि अमित ठेक्कापट्टाले नै ठेक्का पाएको छ । हेटौँडा बजार र बाइपास सडकको करमा यहाँ पनि उस्तै गुण्डागर्दी भएको भनेर भारतीय मिडियामा समेत समाचार आउने गरेका छन् । भारतबाट आउन पर्यटकहरुले हेटौँडा प्रवेश क्रममा अनावश्यक तनाव भोग्नु पर्ने, असुरक्षा महसुस हुने, ठूलो रकमको नोट दिए फिर्ता नहुने भन्दै यो गुण्डागर्दी रोक्न बागमती प्रदेशका मुख्यमन्त्रीलाई भारतबाट ज्ञापन पत्र दिन आउनेसमेत तयारी भएको भारतीय सञ्चारकर्मीहरुले बताएका थिए । विषम परिस्थिति भएकाले उनीहरु आएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button