
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिन नपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँ आफैं बनाउने भएकाले बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन् । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ ।
‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन् । धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्याँस उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरूले पुनर्जीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ, ‘प्रधानमन्त्री ओलीले भने ।
देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको योगदानको प्रशंसा गर्दै उनले भने, तपाईँहरू लगानी गर्नुस्, लगानी खोन्दै अरुलाई खोला दिइरहनु पर्दैन ।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा पेश गरी दुई महिनाभित्र पारित गर्ने जनाए ।






