ट्रायलमा १६ प्रतिशत पास, दलालहरुको रुवाबासी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

तपाईंलाई थाहै छ, पर्सा जिल्लाको यातायात व्यवस्था कार्यालय, वीरगंज देशमै लाइसेन्स वितरण मामलामा बदनाम छ । पछिल्लो समय यसलाई सुधार गर्ने भनेर अनेक सुधारका कुरा गरिए पनि ‘नानीदेखि लागेको बानी’ कारण सुधार हुन सकेको छैन । अर्कातिर ‘मिलजिुली खाने’हरुको समूहको प्रमुख आम्दानीको स्रोत भएकाले पनि यातायात व्यवस्था कार्यालयको हुलिया बदल्न सानोतिनो कसरतले नहुने पक्का छ । यसैले यसपटक पनि झण्डै २ हजार मानिस लाइसेन्स प्रक्रियामा जाँदा चाडपर्वको मुखमा मोटो रकम कमाइ हुने आसा गरेको समूह भने आइतबार र सोमबार हेटौँडाबाट अख्तियार आइदिएपछि निरास बनेको छ । स्रोतको दाबी पत्याउने हो भने सोमबार साँझ यातायात कार्यालयका कर्मचारी र कर्मचारीसँग मिलेमतोमा मोटो कमाइको सपना देखेका स्थानीय दलालहरु रातभर तनावमा थिए । उनीहरुको एक हिसाबले वीरगंजका होटलहरुमा रुवाबासी नै चलेको खबर मधेशदृष्टिलाई प्राप्त भएको छ ।

भएको के हो ?
यातायात व्यवस्था कार्यालय अन्तर्गत ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगातार दोस्रो दिन पनि निगरानी गर्दा लाइसेन्स पासमा तलमाथि गर्न समस्या भएको थियो । हेटौँडा कार्यालयबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर २३, प्रसौनी विर्तास्थित ट्रायल सेन्टरमा अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएपछि यस्तो भएको हो । तीन महिनादेखि अवरुद्ध ट्रायल प्रक्रिया शनिबारदेखि पुनः शुरु गरिएको थियो । कात्तिक ४ गते सवारी चालक अनुमतिपत्रका लागि सूचना प्रकाशित भएसँगै ९ गते शुक्रबार लिखित परीक्षा भएको थियो भने शनिबार र आइतबार क्रमशः मोटरसाइकल, स्कुटर तथा कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा र इरिक्साको प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन भएको थियो ।

अख्तियारका प्रहरी निरीक्षक बिमल गिरीको नेतृत्वमा आएको टोलीले ट्रायल प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन प्रत्यक्षरुपमा सबै गतिविधिमा निगरानी गरेपछि सेटिङमा पास गराउने समूह तिल्मिलाएको थियो । कुनै पनि अनियमितता वा त्रुटि हुन नदिन टोलीले गहनरूपमा परीक्षा प्रक्रियामा सहभागीलाई निरन्तर अवलोकन गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख उमाकान्त आचार्यले सेवाग्राहीबाट प्राप्त उजुरी र गुनासोका आधारमा निगरानी गरिएको बताएका थिए । अख्तियारको अनुगमनले ट्रायल सेन्टरमा उपस्थित सेवाग्राहीलाई बढी विश्वास प्रदान गरेको र कार्यालयका कर्मचारीलाई उत्तरदायी बनाएको देखिएको थियो । अख्तियारको निरन्तर निगरानीले सेवाग्राहीको गुनासो समाधान हुने र सेवामा पारदर्शिता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिँदा सेटिङमा ठूलो संख्यामा लाइसेन्समा पास गराउने काम रोकिएको छ ।

कति थिए परीक्षार्थी
लामो समयदेखि रोकिएको र आवेदन खुलेपछि यसपटक वीरगंजमा धेरैले सवारी चालक अनुमति पत्रका लागि फारम भरेका थिए । नारायणगढ, हेटौँडादेखि बारा, पर्साका सेवाग्राही सवारी चालक अनुमति पत्रका लागि फारम भर्न पुगेका थिए । कार्यालयका अनुसार, १ हजार ९ सय ८३ जनाले फारम भरेका थिए । तीमध्ये सबै गरेर ३ सय ३२ जना मात्र पास भएका छन् । यस हिसाबले कुल परीक्षार्थीको १६ प्रतिशतको हाराहारीमा मात्र पास भएको देखिएको हो । १ हजार २ सय ५० जनाले मोटरसाइकल, स्कुटरका ट्रायल दिएकामा २ सय ६१ जना पास भएका छन् । यस्तै, आइतबारको कारजीप ट्रायलमा ४ सय १९ मा जम्मा ३४ जना पास भएका छन् । यस्तै, हेभी सवारी चालक ट्रायलमा ३ सय १४ जनामा ३७ जना पास भएका छन् । यसरी अख्तियारको निगरानीमा भएको ट्रायलमा लिखित पास गरेकामध्ये ठूलो संख्याका परीक्षार्थी फेल भएपछि मोटो रकम कमाउने सपना तुहिएको हो । कार्यालयका अनुसार, १ हजार ६ सय ९० जनाले लिखित परीक्षा दिएकामा दलालहरुले सेटिङ गरेर १ हजार २ सय ४८ लाई उत्तीर्ण गराएका थिए । उनीहरुसँग सवारी साधन हेरेर रकम असुलेर लाइसेन्स दिने तयारी थियो ।

कसरी गराइन्छ लिखित पास ?
सवारी चालक अनुमति पत्रका लागि २५ वटा प्रश्नको उत्तर दिनु पर्छ । दलालहरुले जोसँग लाइसेन्स पास गराउने सहमति गरेका हुन्छन् र रकम डिल भएको हुन्छ, उनीहरुले परीक्षार्थीलाई भनेका हुन्छन्, ‘उत्तर आउनेमा मात्रै टिक लगाउनुहोला, बाँकी छाडिदिनु होला ।’ यसरी उनीहरुले ५–७ प्रश्नमा मात्रै टिक लगाउने र बाँकी पुस्तिका जाँच गर्नेले नै टिक लगाएर पास गर्ने गरी दलालहरुले सेटिङ गरेका थिए । यो विषय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालको सूचनामा पनि नयाँ र नौलो थियो । यतिका परीक्षार्थी कसरी पास भए भन्ने प्रशासनको जिज्ञासाको भित्री रहस्य यस्तै सेटिङ थियो, कपी जाँच्नेले नै टिक लगाएर सेटिङ भएकाहरुलाई पास गराइदिने । यही सूत्र अनुसार १ हजार २ सय ४८ जना पास भएका थिए । लाइसेन्स वितरणमा ट्राफिक प्रहरी, यातायातका कर्मचारीसहित ३ जनाको टोली सहभागी हुने गर्दछ ।

कति छ लाइसेन्सको दर ?
लाइसेन्स पास गराएबाट दलालहरुले सेवाग्राहीसँग फरक फरक दर राखेका छन् । उनहीरुले राखेको दर यस्तो छः
मोटरसाइकल, स्कुटी, अटो, इरिक्साः १५ हजार रुपैयाँ
कारजीपः २० हजार रुपैयाँ
हेभी सवारी साधनः २५ हजार रुपैयाँ
विदेशमा जानेहरुसँगः ३० हजार रुपैयाँ
अस्ट्रेलिया, क्यानडा, जापान जानेहरुसँगः ३५ हजार रुपैयाँ

दलालहरुको रुवाबासी
यातायात व्यवस्था कार्यालय वीरगंजमा नयाँ हाकिम आएका छन् धर्मेन्द्रलाल कर्ण । उनी आएको र ३ महिनादेखि लाइसेन्स वितरण रोकिएको अवस्थामा सेटिङमा रकम लिएर लाइसेन्स वितरणको तयारी भएको थियो । लाइसेन्स वितरणका लागि कर्मचारी, विभिन्न सेक्टरका दलालहरुको मिलेमतो थियो । तर अख्यिारले दुई दिन लगातार निगरानी गरेर ट्रायलमा ‘सेटिङ’मा भएकाहरु पनि फेल भएपछि लाइसेन्स दिएबापत रकम असुल्ने योजना चौपट हुँदा सोमबार राति दलालहरुको रुवाबासी भएको छ । अख्तियार मात्र होइन, यसपटक वीरगंजका यातायात कार्यालयमा लाइसेन्स वितरणमा बदमासी हुने सूचना पाएपछि मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयले पनि सुक्ष्म अनुगमन गरेको थियो । सबैतिरको अनुगमनमा लाइसेन्स दिन्छु भनेर लिखितमा पास गराइएकाहरु पनि ट्रायलमा फेल भएपछि वीरगंज यातायात कार्यालयबाट लाइसेन्स लिन सजिलो भन्ने सन्देश जाँदा दलालहरुको भने चाडपर्वको मुखमा लाखौँ रुपैयाँ कमाउने सपना भताभुंग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button