
मधेशदृष्टि
राजविराज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले आफ्नै भान्जालाई नगरपालिकामा कर्मचारीको रुपमा भर्ना गराएका छन् । मेयर मलाहले आफ्नो भान्जालाई पोखरीको माछा रुँग्न नियुक्ति दिएका हुन् । मलाहले आफ्नो नीजि पोखरीमा माछा पालन गरेका छन् ।
जसलाई रुँग्न उनले भान्जा रामदेव मुखियालाई नियुक्त गरेका छन् । मेयर मलाहको वडा नम्बर ८ स्थित पोखरीमा पालिएको माछा रुँग्न गत साउनदेखि भान्जालाई दैनिक ज्यालादारीमा उनले नगरपालिकाको कार्यालयबाट नियुक्त गराएका छन् । मेयर मलाहले आफ्नो भान्जा मात्र होइन्, वडा अध्यक्षका छोरीलाई समेत जागिर उपलब्ध गराएका छन् । वडा नम्बर ८ का अध्यक्ष सीताराम पण्डितकी छोरी गंगा पण्डितलाई वडा कार्यालयमा जागिर दिइएको छ ।
गंगालाई श्रेणीविहीन पदमा नियुक्त गरिएको छ । वडा कार्यालयमा जागिर गरिरहेकी गंगाको भने भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको रजैला भन्ने ठाउँमा बिवाह भइसकेको छ । आफ्नै भान्जालाई नियुक्त गरिएको सन्दर्भमा बुझ्न खोज्दा मेयर मलाह भने यो बिल्कुलै असत्य भएको दाबी गर्छन् । ‘यो गलत, भुठो हो’ उनले भने । वडाअध्यक्षकी छोरी गंगालाई अहिले नियुक्त नगरिएको उनी बताउँछन् । ‘पुससम्म श्रेणीविहीन पदमा तलव खुवाइएको हो’ उनी भन्छन्, ‘त्यसपछि उनलाई नियुक्ति दिइएको छैन् ।’ नगरपालिकाका प्रशासन प्रमुख रमेश प्रसाद साह आफू समक्ष हाजिरी प्रमाणित गर्न पठाउँदा आदेशानुसार गरिदिएको बताए ।






