के मधेश सरकारबाट जनमत बाहिरिँदैछ ?

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश कुमार सिंह छन् । उनलाई मुख्यमन्त्री बनाउन जनमत पार्टीले उपेन्द्र यादवको जसपा नेपालले जस्तै कांग्रेस एमाले गठबन्धन सरकारलाई समर्थन गरेको थियो । मधेशमा मधेशवादी दललाई नै सरकार बनाउन दिने कांग्रेस एमाले गठबन्धनको निर्णयमा आफ्नो सात वर्षको सत्ता कायम रहन्छ कि भनेर उपेन्द्र यादवले नयाँ गठबन्धनलाई काँध हाले । उनलाई आफ्नो पार्टी फुटाइदिएकामा तत्कालीन प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोश पनि थियो । यसैले उनले नयाँ गठबन्धनलाई सहयोग गरे । तर दुःखको कुरा, उपेन्द्र यादवका लागि मधेश प्रदेश सत्ता पनि हाता लागेन र केन्द्र सरकारमा पनि उनकै पार्टी फुटाएर बनेको जसपाका दुई मन्त्री छन् । अहिलेसम्म उनको पार्टीको आधिकारिक अपडेटसमेत निर्वाचन आयोगले गरेको छैन । उनको पार्टी विभाजनबारे परेको मुद्दा पनि विचाराधीन छ ।

केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारमा फुटेको जसपाका दुई मन्त्री छन् प्रदीप यादव र नवलकिशोर साह सुड्डी । यादव स्वास्थ्यमन्त्रीबाट खानेपानी मन्त्रीमा सारिएका हुन् भने सुड्डी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री छन् । पछिल्लो तीन महिनामा सुड्डी मन्त्री छन् भन्ने त समाचार पनि आउँदैन, जनताले राम्ररी चिनेका पनि छैनन् । केन्द्रमा अशोक राई पक्षधर जसपाकै हालिमुहाली भएपछि उपेन्द्र यादवले मधेश प्रदेश सरकारमा आफ्नो सत्ता फर्काउन आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओली उपेन्द्र यादवसँग पनि खुशी थिएनन् । यसैले कांग्रेसले भन्दा प्रधानमन्त्रीले आफ्नै कार्यकालमा जसपा नेपाललाई सरकारमा समेट्न र अहिले मधेशमा जनमत र केन्द्रमा जसपा मात्रै राख्ने भनेपछि कांग्रेस मौन रह्यो, उपेन्द्रका लागि केन्द्र र प्रदेश सरकार दुवै टाढाको विषय बन्यो ।

यसरी मधेशमा उपेन्द्र यादवको विकल्पमा तयार भएको जनमत पार्टीको प्रदेश सरकार बीचमै संकटमा परेको थियो । अर्थमन्त्री कांग्रेसलाई दिन मुख्यमन्त्री सिंह तयार नभएपछि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेपछि हतारमा जनमत अर्थमन्त्री कांग्रेसलाई बुझाएर मधेश सरकारको नेतृत्वमा स्थायी भएको हो । तर सरकार बनाएको तीन महिनामै गठबन्धनमा रहेको जनमत पार्टीका अध्यक्ष डा.सिके राउत गठबन्धनप्रति असन्तुष्टि जनाइरहेका छन् । हुँदाहुँदा उनले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेको प्रकरणमा मुख खोलेनन् मात्र, सत्ता गठबन्धनको चर्को विरोध पनि गरे । उनले ‘फ्रेमिङ’ गरेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको दाबी गरे ।

लामिछाने पक्राउ परेपछि अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘२१ सिट भएको नयाँ–राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ ।’ आफूहरूको बीचमा धरातल र कैयन एजेन्डा फरक होला, कतिपय ठाउँमा विपरीत धारमा पनि उभिएको उल्लेख गर्दै अध्यक्ष राउतले लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा आफूहरूको एकमत रहेको उल्लेख गरे । सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रुणमै हत्या गर्न खोजिएको उल्लेख गर्दै उनले यो पक्राऊ राज्यद्वारा ’फ्रेमिङ्ग’ गरिएको दाबी गरे । पछिल्लो दशकमा सरकारद्वारा ऐन कानूनको दुरुपयोगबाट सर्वाधिक दमनको सिकार आफू भएको बताउँदै अध्यक्ष राउतले दुई दर्जनभन्दा बढी पटक हिरासत–जेल जानु परेको दाबी गरे । उनले भने, ‘यहाँको ऐन कानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तो सुकै निर्दोषलाई समातेर २५–५० दिन त अनुसन्धानका नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे पनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन ।’

सरकारमा बस्ने पार्टी र शीर्षनेता तथा राज्य चलाउनेहरू कानूनको दुरुपयोग गरेको आरोप लगाउँदै उनले शीर्ष नेताहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेलाई तह लगाउन, आफ्नो पार्टीमा जबर्जस्त प्रवेश गराउन, अनुचित आर्थिक असुली गर्न त्यसको प्रयोग हतियारको रूपमा गर्दै आएको दाबी गरे । एउटा निमुखा, गरिब आम मानिसको त हत्या हुँदा समेत प्रहरीले उजुरी दर्ता गर्न नमानिराखेको पनि उनको दाबी छ । राउतको यति ठूलो मन दुखाइ प्रकट भएपछि उनलाई अब मधेश प्रदेश सरकारको मोह पनि सकिएको आभाष गरिँदैछ । कुनै एउटा मुद्दामा समातिएका रवि लामिछानेप्रति उनको अगाध स्नेह र चिन्ताले संकेत गर्दैछ कि मधेश प्रदेश सरकारबाट जनमतको बिदाइको दिन नजिकिएको छ । वश, कांग्रेस एमाले यसमा लय मिलाउँदैछन्, जनमतले सरकार एकलौटी चलाएको, मधेशमा विवादैविवाद खडा गरेको, सरकारका विवादित कामका कारण एमाले–कांग्रेसका मन्त्रीहरुले प्रदेश सरकारको गरिमा र स्वामित्व ग्रहण गर्न नसकेको भनेर छलफल सतहमै पुगेको छ । यसमा पार्टीका केन्द्रीय अध्यक्षले नै केन्द्र सरकार र गठबन्धनप्रति यसरी खुलेर फेसबुकमा लेखेपछि छोटै समयमा जनमत प्रदेश सरकारबाट बाहिरिने अनुमान गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button