
मधेशदृष्टि
हेटौँडा ।
सोमबार हेटौँडा उमपहानगरपालिका–१० बसपार्कस्थित होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला भेटियो । आइतबार अपरान्ह होटल पसेका जोडीमध्ये एलिसा न्यौपानेको शव फेला परेको थियो भने सँगै आएका युवक अहिलेसम्म फरार छन् । उनीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालले बताए ।
फरार हुने युवा हेटौँडाकै हुन् । समीर भनिने चाँद खान पठान र न्यौपाने होटलमा बसेको र न्यौपानेको हत्यापछि उनी फरार भएको पाइएको छ । उनको बुबाआमा, पत्नी, छोरा पनि हेटौँडामा रहेको पाइएको छ । रौतहटबाट हेटौँडा बसाइँ सरेर आएका उनीहरुको परिवार हेटौँडा बसे पनि समीर भने काठमाडौँमा बस्ने गरेको पाइएको छ । ‘उनीहरु ५ वर्ष जति लिभिङ टुगेदरमै बसेको पाइएको छ, केटा म्यानपावरमा मान्छे संकलन गर्ने र केटी ब्युटी पार्लरतिर काम गर्नेक्रममा संलग्न रहेको पाएको छ,’ एसपी न्यौपानेले भने, ‘दुई महिनाअघि केटी केटाको घरमा गएर झगडा गरेको पनि भेटिएको छ, उनीहरुको सम्बन्धमा दरार आएपछि काठमाडौबाट हेटौँडा आएर होटलमा बोलाएर हत्या भएको देखिन्छ ।’
हेटौँडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपाने सोमबार होटलको कोठामा रगताम्मे भेटिएकी थिइन् । आइतबार अपरान्ह ४ बजेतिर उनी होटलमा युवकसहित पुगेकी थिइन् । न्यौपानेसँगै आएका युवक भने आइतबार बेलुका ८ बजेतिर नै कोठाबाट भागेको पाइएको छ ।
युवतीलाई २ वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ । सोमबार बिहान अबेरसम्म पनि कोठा नखुलेपछि होटलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत भेटिएकी हुन् । उनको बुबाको मृत्यु भइसकेको, आमाले अर्कोले विवाह गरेको र भाइ अनाथ आश्रममा रहेको पाइएको छ । यता, न्यौपानेको हत्या गर्ने मनसायले नै समीरले होटल बुक गर्दा नाम र मोबाइल नम्बर गलत लेखाएको देखिन आएको प्रहरीले जनाएको छ ।






