‘मधेश सरकार पनि मधेशी जनता लुट्दै’

[mashshare]

मधेशदृष्टि
कलैया ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले मधेश सरकार मधेशी जनतालाई लुट्नकै लागि बनेको दावी गरेका छन् । मधेशवादी दलको भ्रष्ट चरित्रले मधेश बदनाम भएको उनले बताए । बाराको खुटुवा प्रर्सौनीमा आजपाद्वारा बिहीबार आयोजित भेलामा साहले मधेशी जनतालाई लुट्न, ठग्न मधेश सरकार र मधेशवादी दलका नेताको पेशा नै बनिसकेको ठोकुवा गरे । ‘छोरीलाई वितरण गरिने साइकल चोरेका छन्, दलितको घर निर्माणमा भ्रष्टाचार गरेको, राहतको पैसा समेत लुटेका छन्, बजेट किनबेच एवम् कृषकको अनुदानमा कमिसन भ्रष्ट र चोर नेताको पेशा भएको छ,’ साहले भने, ‘भ्रष्टाचार र लुटमा पिएचडी गरेका भ्रष्ट र चोर नेताले मधेशको व्यापार गरेर मधेशलाई नै बदनाम गरिसकेका छन् ।’

किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराले मधेशलाई समृद्ध बनाउने काम गर्नै नसक्ने साहले बताए । ‘मानव विकास सूचांकमा तल रहेको मधेश जस्तो सानो र गरिब प्रदेशमा उच्चतहको तलब सेवासुविधासहितको जम्बो मन्त्रिमण्डल किन चाहियो ? मधेशलाई समृद्ध बनाउने, मधेशी युवालाई रोजगार दिने कुनै काम नगरी केबल लुटने हो र लुट मच्चाउनकै लागि लागेका छन्,’ साहले भने ।

भ्रष्टाचारबाहेक मधेश सरकारले कुनै कामै नगरेको बताउँदै उनले जनता ढाँटने, लुट्ने, ठग्ने पेशा नै बनेको बताए । कुनै पनि सरकारको काम देश र जनताका लागि विकास, समृद्धिजस्तो राम्रो काम गर्नु भए पनि मधेश सरकारले हरेक योजनामा लुट मच्चाएको उनले बताए । उनले मधेशलाई समृद्ध बनाउने अनेक सम्भावना रहेको बताए । तर त्यसलाई सदुपयोग गर्नुको साटो लुटको व्यापारमा मधेशवादी दलका नेताहरु लागेको आरोप उनले लगाए । ‘मधेश प्रदेशलाई देशको मोडेल प्रदेश बन्ने सम्पूर्ण सम्भावना हुँदाहुँदै भ्रष्ट नेताका कारण नेता नै बदनाम भएका छन्,’ साहले भने ।

भ्रष्ट नेताको अन्त्य र आमजनताको शासनव्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्रविरुद्ध जनआन्दोलनको तयारीमा जुट्न आह्वान गरे । लुटेरा र भ्रष्ट नेताको अन्त्य हुनै पर्ने बताउँदै उनले देश लुटने नेतालाई राज्यले कारबाही गर्न नसकेकाले अब जनताले नै जनकारबाही गनुपर्ने बताए ।

‘भ्रष्ट नेता मालामाल भएका छन्, आमजनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवा विदेशमा मर्नुपर्ने स्थिति अन्त्यका लागि तेस्रो जनआन्दोलनको विकल्प छैन,’ साहले भने, ‘भ्रष्टाचारी अहिले सम्मानित भइरहेका छन् तर स्वाभिमानी युवा अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्था अन्त्य हुनैपर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउने सम्मान गर्ने कामले देश कंगाल बन्दै गइरहेको छ । आमजनताको शासनव्यवस्थामा सहभागिताका लागि युवा उठनैपर्छ ।’ आजपाका स्थानीय नेता गणेश रामको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, सचिव उमेश कुशवाहालगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button