सडक मर्मतको माग गर्दै सडकमै धर्ना बसे गाउँपालिका अध्यक्ष

[mashshare]

मधेशदृष्टि
सप्तरी ।
राजविराज–छिन्नमस्ता सडक खण्डको मर्मत कार्य यथाशीघ्र सम्पन्न गर्न माग गर्दै बुधबार छिन्नमस्ता गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरू सडकमै धर्ना बसेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ कोचाबखारी सडक खण्डमा बिहान १० बजे देखि १२ बजेसम्म बीच सडकमै उनीहरु धर्ना बसेका हुन् । छिन्नमस्ता मन्दिर सम्म जाने मूल सडकको विषयमा मेयरसँग संवाद कार्यक्रमका आयोजना गरी दुई घण्टा बीच सडकमै धर्ना दिनुका साथै बहस समेत चलाइएको थियो ।

धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्ष, सवारीचालकका साथै भक्तजन र स्थानीयवासी समेत सहभागी थिए । मुलुककै प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको छिन्नमस्ता गाउँपालिका स्थित छिन्नमस्ता मन्दिर पुग्ने बाटो विगत दुई वर्षदेखि ठाउँ ठाउँमा भत्किएर लथालिङ्ग छ । भारतीय दर्शनार्थीहरू समेत ठूलो संख्यामा आउने छिन्नमस्ता मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि जीर्ण बाटोका कारण यात्रुले सास्ती खेप्नु परिहेको छ ।

राजविराजबाट १० किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटो ठाउँ ठाउँमा खाल्डा खुल्डीका कारण पानी जमेर पोखरी बनेपछि थप समस्या भएको स्थानहरूको भनाई छ । बाटो बिग्रेका कारण १० किलोमिटरको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेको छ । बाटो ठिक रहँदा ३० रुपैयाँ भाडा लाग्ने ठाउँमा अहिले ७० रुपैयाँ तिरेर यात्रा र सास्ती खेप्नु परेको भन्दै स्थानीयले अविलम्ब उक्त जीर्ण सडक मर्मत सम्भार गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उक्त सडक मर्मतको माग गर्दै आफूहरू गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौँ पुगेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको सुनाए । हिन्दूहरूको महान चाड वडा दसैं आउन झण्डै डेढ महिना बाँकी रहँदा समेत बाटो जीर्ण छन् । दसैंमा छिन्नमस्ता मन्दिरमा ठूलो भिड लाग्ने गर्दछ । यस अवस्थामा मन्दिर आवतजावत गर्ने एक मात्र यही मार्ग रहेकोले सडक निर्माण कार्य जतिसक्दो चाँडो सम्पन्न गराउनेतर्फ स्थानहरूको माग समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button