
मधेशदृष्टि
काठमाडौँ ।
भदौ १६ गते अवकाश हुने प्रहरी अधिकृतहरू ३० वर्षे हदम्याद हटाउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । ट्राफिक प्रहरी प्रमुखसमेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठसहितले वारिसमार्फत बुधबार सर्वोच्चमा रिट दायर गराएका हुन् । एसएसपी, एसपी, डिएसपी र इन्स्पेक्टरसहित २१ जनाको वारेस कुमार बस्नेतमार्फत् रिट दायर भएको छ । बिहीबारका लागि पेशी तोकिएको छ ।
२०५१ सालमा असईमा भर्ना भएका, त्यहीवर्ष सँगै इन्सपेक्टरमा पनि नाम निकालेका केहीले असईको नियुक्ति लिएकै मितिबाट ३० वर्षे अवधि शुरु गरिएको भन्दै विरोध गरेका हुन् । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश दिने व्यवस्था रिट दायर भएको मितिबाटै लागू नहुने गरी प्रबन्ध गर्न उनीहरूले आदेश माग गरेका छन् ।
उनीहरुले एकसाथ ९० प्रहरी अधिकारी अवकाश हुँदा राज्यलाई आर्थिक भार पर्ने भएकाले आफूहरूलाई नै निरन्तरता दिन माग गरेका छन् । इन्सपेक्टरदेखि डिआईजीसम्म ८९ जना ३० वर्षे सेवा अवधिका कारण भदौ १६ गते एकसाथ बिदा हुँदैछन् ।






