
मधेशदृष्टि
वीरगंज ।
अभिनेता एवं चलचित्र निर्देशक रमित ढुंगानाले एसिडको उपलब्धतामा कडाइ गरिनुपर्ने बताएका छन् । शनिबार वीरगंजमा यही भदौ ७ गतेबाट प्रदर्शनीमा आउन लागेको नेपाली चलचित्र ‘नमेटिने घाउ’का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता ढुंगानाले यस्तो बताएका हुन् । उनले आफूले निर्देशन गरेको चलचित्र ‘नमेटिने घाउ’ सत्य घटनामा आधिरित रहेको र चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको बताए ।
चलचित्र ‘नमेटिने घाउ’मा मुस्कान खातुन, प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसदद्वय देवेन्द्र पौडेल, ज्ञानेन्द्र साही, प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत १२५ कलाकार रहेको निर्देशक ढुंगानाले जानकारी दिए ।
सो अवसरमा मुस्कान खातुनले आफूमाथि पाँच वर्ष अघि भएको एसिड आक्रमणको घटना सुनाउँदै देशमा अहिले एसिड आक्रमणसम्बन्धी कानुन बनेको बताइन् । एसिड आक्रमणका घटनाहरुमाथि बनेको चलचित्र ‘नमेटिने घाउ’ले आगामी दिनमा त्यस्ता घटनाकाविरुद्ध लड्न प्रेरणा मिल्ने खातुनले विश्वास व्यक्त गरिन् ।
करिब तीन करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त चलचित्र ५८ दिन लगाएर वीरगंज, नवलपरासी, चपुर, बनेपा, काठमाडौलगायतका स्थानमा छायाँङकन गरिएको छ ।
००००






