शिक्षिकाका विषयमा नगरप्रमुख र वडाध्यक्षबीच घम्साघम्सी

[mashshare]

मधेशदृष्टि
बारा ।
जीतपुरसिमरा उपमहानगरपालिकामा शिक्षक हाजिर गराउने विषयलाई लिएर नगरप्रमुख र वडा अध्यक्षबीच हात हालाहाल भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र नगरप्रमुख राजन पौडेलबीच मंगलबार दिउँसो विवाद चर्किएर हात हालाहालसम्म पुगेको हो । विवादको जड भने सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई नगर प्रमुख पौडेलले हाजिर गराउन खोज्दा भएको थियो ।

नगरप्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर गराउने प्रयास गरेपछि विद्यालयमै वडाअध्यक्ष श्रेष्ठ र नगरप्रमुखबीच विवाद भएको थियो । विवादपछि, नगरप्रमुख पौडेलको शिक्षिका अधिकारीलाई हाजिर गराउने प्रयास विफल भएको छ । वडा नम्बर–१६ का अध्यक्ष हरिदेव खरेलले घटनाको पुष्टि गर्दै नगर प्रमुख र वडा अध्यक्षबीचको विवादको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको बताए ।
शिक्षिका अधिकारीको हातबाट हाजिर रजिस्टर खोसिएको भन्दै प्रश्न गरेपछि वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडलबीच बढेको घम्साघम्सीमा परिणत हुँदा नगर प्रहरी, जिल्ला प्रहरीका प्रहरीहरु पनि थिए । अधिकारीले हाजिर गर्न खोज्दा श्रेष्ठले रजिस्टर खोसेको खबरपछि पौडेल विद्यालय पुगेका थिए ।

प्रधानाध्यापकले हाजिर गराइसकेको शिक्षकलाई हाजिर गर्न तथा कक्षा पढाउनबाट रोक्न नमिल्ने बताउँदै हाजिर रजिस्टर मागेपछि वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडेलबीच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विवादमा नगरप्रमुख पौडेलको चश्मा भूइँमा झरेको छ ।

जीतपुरबाट जेठ १७ गते नगर शिक्षा समितिले दरबन्दी मिलान तथा व्यवस्थापनको निर्णयअनुसार सिमरास्थित विद्यालयमा अधिकारीलाई सरुवा गरेको थियो । यता, वडाअध्यक्ष श्रेष्ठले विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरेर अधिकारीलाई हाजिर नगराउने निर्णय गराएका थिए । विद्यालयका प्रधानाध्यापकले भने उनलाई असार ६ गते हाजिर गराएका थिए । वडाध्यक्षकै निर्देशनमा अधिकारीलाई स्कुलमा हाजिर गराए पनि कक्षामा पढाउन नदिने र हाजिर लुकाइदिने गतिविधि हुँदै विवाद चर्किएपछि नगरप्रमुख विद्यालय पुग्दा यस्तो घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button