महायज्ञबाट ‘हाम्रो मायाघर’लाई ९३ लाख जुट्यो

[mashshare]

मधेशदृष्टि
महोत्तरी ।
‘हाम्रो मायाघर’ निर्माण सहयोगार्थ बर्दिबासमा जारी शिवपुराण महायज्ञमा श्रद्धालुको सहभागिता र उत्साहजनक दानदातव्यले आयोजक निकै उत्साहित भएका छन् । नेपालकै चर्चित कथावाचिका राधिका दासीले निःशुल्क रुपमा कथावाचन गरेर भक्तजनलाई कथाको रसामृत गराइरहेकी छन् । दासीले महायज्ञ मानवसेवाको पवित्र उद्देश्यसहित प्रारम्भ भएकाले यसको सफल समापनसँगै ‘हाम्रो मायाघर’ निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले ‘हाम्रो मायाघर’ निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । १० करोड ६९ लाख ४५ हजार चार सय ७७ रुपैयाँको लागतमा ‘हाम्रो मायाघर’ बर्दिबास–२ मा निर्माण हुन लागेको हो । दाताबाट प्राप्त पाँच कठ्ठा १० धुर जग्गामा बन्ने दुई वटा भवनको विस्तृत परियोजना प्रस्ताव पनि तयार भएको हाम्रो मायाघर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए ।

बालबालिका र अपाङ्गतामैत्री तथा भूकम्पप्रतिरोधी बनाइने भवनमा १२ कोठा, सभा भवन, वडा कक्ष र अध्ययन कक्ष हुनेछन् । दुई सय सडकमानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्ध गरिने समितिले जनाएको छ । महायज्ञ तयारी र व्यवस्थापनका लागि हीरालाल गौतमको संयोजकत्वमा १९ वटा उपसमिति बनाइएका छन् ।

महायज्ञमा भवनका लागि विभिन्न दाताबाट सहयोग प्राप्त हुने क्रम चलेकाले चाँडै भवन बन्न शुरू हुने अपेक्षा गरिएको महायज्ञ व्यवस्थापन समितिका सचिव तथा प्रवक्ता चेतकुमार थापाले बताए । महायज्ञमा मायाघर निर्माणार्थ दुई करोड रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको र सञ्चालनमा २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रवक्ता थापाले जानकारी दिए । पुराणवाचिका राधिका दासी मुख्य संरक्षक रहेको हाम्रोे माया घर निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने समितिले जनाएको छ । भवन सञ्चालन नभएसम्म अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व समितिले लिइरहने र इटहरीस्थित मायाघरमा व्यवस्थापन गरिने जनाइएको छ । महायज्ञ साउन २९ गते समापन हुनेछ । महायज्ञमा आइतबार मध्यान्हसम्म ९३ लाख रुपैयाँ संकलन भएको छ ।

यसमध्ये एक जनाले १ लाख २ हजार रुपैयाँ गोप्य दान गरेको महायज्ञ मूल आयोजक समितिका सचिव चेत कुमार थापाले बताए । महायज्ञको छैठौँ दिनसम्ममा रसिद काटेर ६ सय ५३ जनाले आर्थिक सहयोग गरेका छन् । पाँच सय रुपैयाँ भन्न्दा तल दान गर्नेहरुका लागि शिव पुराणमा महायज्ञ स्थलमा चार वटा दानपेटीका राखिएको छ । महायज्ञ समापन भएपछि मात्रै दानपेटिका खोलिने छ । महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँट्ट र बर्दिबास नगरपालिका वडा नम्बर १४ का चन्द्रेश्वर साहले १ सय ५ बोरा सिमेन्ट दिएका छन् ।

महायज्ञ मूल आयोजक समितका संयोजक हीरा गौतम सडक आश्रित मानवको उद्धार गरेर राख्न जनस्तरबाट सहयोग संकलन गरेर हाम्रो मायाघर निर्माण गर्न महायज्ञ लगाइएको बताउँछन् । उनले श्रद्धालुहरुको उल्लेख सहभागिताले निकै उत्साहित बनाएको बताए ।
‘हामी महायज्ञबाट डेढ करोड रुपैयाँ संकलन गर्ने लक्ष्यमा थियौँ । महायज्ञको छैठौँ दिनसम्ममा ८१ लाख रुपैयाँ र जिन्सी सरसमाग्री संकलन भइसक्यो,’ उनले भने, अझै दाताहरु थपिँदै गएका छन् । हाम्रो उद्देश्य पूरा हुन्छ ।’ महायज्ञलाई त्रुटीरहित बनाउन सबै प्रयास गरेको उनले बताए । महायज्ञमा सकेको दान गर्न महायज्ञ आयोजक समितिले सबैमा आग्रह गरेको छ ।

‘प्रदेश सरकारको सहयोग हुनेछ’
सतिश कुमार सिंह, मुख्यमन्त्री, मधेश सरकार
महायज्ञ गरेर जुन अभियान यहाँहरुले चलाउनु भएको छ । यसका लागि मधेश प्रदेश सरकारबाट हाम्रो मायाघर निर्माणका लागि यथासम्भव सहयोग गरिने जानकारी गराउन चाहन्छु । हाम्रो मायाघर निर्माणका लागि प्रदेश सरकारले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । हाम्रो मायाघर निर्माणमा सहयोग गर्नेहरुलाई आभार प्रकट गर्न चाहन्छौँ । यो महाअभियानले एउटा सपना सार्थक हुनेमा विश्वस्त छु । प्रदेश सरकारले बजेट त निर्माण गरिसकेको छ । तर पनि यो अभियानलाई सकेको सहयोग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button