
मधेशदृष्टि
बारा ।
प्रहरीलाई कानून परिपालना गर्ने पहिलो शक्तिका रुपमा लिइन्छ । समाजका ससाना अपराध पनि प्रहरीकै मदतमा निमिट्यान्न पारिन्छ । यस्तै, नेपालको कानूनले बहुविवाहको परिकल्पना नै गरेको छैन । बहुविवाह बर्जित छ । बहुविवाहकै कारण कैयौँको राजनेताहरुको चरित्र सिध्दिएको छ । कार्यालय प्रमुख, प्रहरी अधिकृतहरुको पनि उन्नति, प्रगति रोकिएको छ ।
तर नेपाल प्रहरीमै कार्यरत एक प्रहरी सहायक निरीक्षक लक्ष्मी नारायण कुर्मी (असइ, अवकाश प्राप्त)ले भने पदीय मर्यादा दुरुपयोग गर्दै बहुविवाह गरेको र जेठी पत्नीलाई अंश लिएर सम्बन्ध विच्छेद गर्न दबाब दिएको खुलासा भएको छ । उनले शक्ति दुरुपयोग गर्दै जेठी पत्नीलाई ताडना दिएको र सोझी पत्नीको फाइदा उठाउँदै अदालतबाट समेत आफ्नो पक्षमा फैसला गराएको खबर मधेशदृष्टिलाई प्राप्त भएको छ ।
उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजमा बारा, बहुअरी वडा नम्बर ५ (हाल परवानपिुर–५)का लक्ष्मीनारायण प्रसाद कुर्मीलाई पत्नी अनिता देवी पटेल, छोरा कुमार पटेल र छोरी पुस्तिका देवी पटेलले मुद्दा दायर गरेको र अदालतले जिल्ला अदालत बाराकै फैसला सदर गरेको पाइएपछि परिवार न्याय माग्दै मिडियामा आएका हुन् ।
२०८० चैत ९ गते प्रमाणिकरण भएको मुद्दा फैसलामा पनि नेपाल प्रहरीका सहायक निरीक्षक पदमा कार्यरत पति लक्ष्मीनारायणकै पक्षमा फैसला भएको छ । उनले घरपरिवारलाई वास्ता नगरेको, कुनै खर्च नदिएको परिवारजनको आरोप छ भने बारा जिल्ला अदालतले २०७९ असार १ गते गरेको फैसलापछि परिवारले उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । बारा अदालतले उनीहरुलाई मासिक १० हजार रुपैयाँ भराइदिने फैसला गरेपछि बहुविवाह गरेर पतिबाटै अंश मुद्दामा हारेका अनितादेवीसहित छोराछोरी उच्च अदालत पुगेका थिए ।
नेपाल प्रहरीमा रहेका लक्ष्मी नारायणले सप्तरीमा कार्यरत भएका बेला बहुविवाह गरेको पाइएको छ । अनितदेवीले भनिन्, ‘कोसँग विवाह गरेको भन्ने समेत थाहा छैन, अहिले उहाँ अवकाश लिइसक्नु भएको छ, हामीसँग सम्पर्कमा पनि हुनुहुनछ, अंश लिएर सम्बन्ध विच्छेद गर्न मुद्दा हालेर हामीलाई हराइसक्नु भएछ, हामीलाई केही थाहा छैन ।’ ‘ससाना छोराछोरी पालेँ, हुर्काएँ, दुः पाएँ, अहिले उल्टै मलाइ छोड भनेर उहाँले नै अर्को मुद्दा हालेपछि मरेतुल्य भएकी छु,’ उनले भनिन्, ‘बहुविवाह उहाँले गर्ने, मुद्दा पनि उहाँले हाल्ने, हामी त कसरी बाँच्ने भन्ने भएको छ ।’






