
मधेशदृष्टि
वीरगंज ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदैछ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहिआएको छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन नागदेवताको पूजाअर्चना गर्न दूध, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । यस दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प, बिच्छीलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको छ ।
वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहँदै आएको छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा लिइन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएका कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।






