
मधेशदृष्टि
जनकपुरधाम ।
‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै मधेश प्रदेशमा भइरहेको छ । मधेस प्रदेशमा १२ मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सत्तारुढ गठबन्धनको आवश्यककतामा अझै मन्त्रीको संख्या बढाउने योजनामै छन् ।
आठ वटा मात्रै जिल्ला भएको मधेश प्रदेश भूगोलको आधारमा सानो छ । तर यतिधेरै मन्त्री किन बनाएको भन्दै सरकारको आलोचना भइरहेको छ । सर्वसाधारण नागरिकदेखि विभिन्न क्षेत्रका बुद्धिजीबी, राजनीतिक दल, पेशा व्यवसायीलगायतका व्यक्तिहरुले सरकारको यस्तो गैरजिम्मेवार कामको आलोचना गरिरहेका छन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मधेश प्रदेश कमिटीले आठ जिल्ला रहेको सानो भूगोलको प्रदेशमा १२ मन्त्रालय र २० मन्त्रीको आवश्यक्ता किन भन्दै प्रश्न उठाएको छ । आजपा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले सानो प्रदेशमा यति ठूलो मन्त्रिमण्डलको गठन आवश्यकता हो कि मधेशको बिकास बजेट लुट्ने प्रपञ्च हो भन्दै प्रश्न गरेका छन् ।
‘देशमा सुशासन, विकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताइरहँदा मधेश प्रदेशमा ठीक उल्टो २० सदस्यीय मन्त्रिमण्डल बिस्तार भएको छ । देशको सबभन्दा सानो प्रदेशमा यति ठूलो मन्त्रिमण्डलको गठन आवश्यकता हो कि मधेशको विकास बजेट लुट्ने प्रपञ्च हो ?’ कुशवाहाले प्रश्न गरेका छन् ।
मधेश प्रदेशमा दलित, गरिबको घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन । मधेश प्रदेशमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षक अभाव रहेको अनि शिक्षा तथा स्वास्थ्य सेवाको स्तर खस्किरहेको बताउँदै उनले यहाँको व्यापार चौपट भएको, युवाले रोजगार पाउन नसकेको, सिंगै मधेश प्रदेश मानव विकास सूचकांकमा पछाडि परेको अवस्थामा सरकारले मिहीन तरिकाले काम गर्नुको साटो मन्त्री नियुक्त, विस्तार, भागबण्डा, भ्रष्टाचार र अनियमितताको खेलमा लागेको आजपाले जनाएको छ ।
कुशवाहले भने, ‘आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० वटा मन्त्रीको रेकर्डले के मधेशको नाम बढ़ाउने छ कि बदनाम गर्नेछ ? सिके राउतसंग सोधन चाहन्छु । आज मधेशमा दलित र गरिबहरु घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन, विद्यार्थीको अनुपात शिक्षक छैन, शिक्षा र स्वास्थ्यको स्तर खस्किँदो छ, उद्योगव्यापार चौपट छ, युवाले रोजÞगार पाएका छैनन्, सिंगै मधेश मानव बिकास सूचकांकमा पछाडि छ । यस्तो अवस्थामा अनावश्यक मन्त्रिमण्डल बिस्तार कुनै पनि हिसाबले सही छैन । यस विषयमा गठबन्धनका नेताहरुले समयमा ध्यान देओस, नत्र जनता चुप लागेर बस्दैनन् ।’ मधेशको विकासका लागि ध्यान दिनुपर्ने सरकारले भ्रष्टाचारमा लिप्त रहेको र सत्तारुढ गठबन्धनमा रहेका पार्टी, नेतालाई भागबण्डाको आधारमा कमाउने धन्दामा लागेको आरोप उनले लगाए ।






