
वीरेन्द्र रमण
जनकपुरधाम ।
मिटरब्याजी पीडित भनिएका भोगेन्द्र ठाकुरको परिवार र धनुषा प्रशासनबीच आठ बुँदे सहमति भएपछि मिटर ब्याज पीडितहरुको आन्दोलन स्थागित भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको पीडित परिवार र स्थानीय प्रशासनबीचको बैठकमा भएको सहमतिपछि पीडित परिवारले शव बुझेर दाहसंस्कार गरेका हुन् भने आन्दोलनको कार्यक्रम पनि फिर्ता लिएका हुन् ।
सहमतिअनुसार, धनुषाधाम नगरपालिका वडा नम्बर २ मंगलपुरमा भएको घटनामा सोही ठाउँका योगेन्द्र ठाकुर र उनकी पत्नी श्यामु ठाकुरलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्दा योगेन्द्रको मृत्यु भएको थियो । श्यामु ठाकुर घाइते भएकामा प्राप्त जाहेरीबमोजिम मिटर ब्याजी शिवजी यादवलगायतका व्यक्तिलाई तत्कालै पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने र घाइते श्यामु कुमारी ठाकुरको निःशुल्क उपचारको व्यवस्था मिलाउने सहमति भएको छ । यस्तै, मृतक ठाकुरलाई मिटर ब्याज संघर्ष समितिको मागअनुसार शहिद घोषणा गर्न गृहमन्त्रालयमा अनुरोध गरिने भएको छ । ठाकुरलाई किरिया खर्च, क्षतिपूर्ति र नाबालक २ छोरीको पालनपोषण एवम् विश्वविद्यालयसम्मको शिक्षादीक्षाका लागि निःशुल्क व्यवस्था गराउन गृहमन्त्रालयमा अनुरोध गर्ने सहमतिमा उल्लेख भएको छ ।
त्यसैगरी, मृतककी पत्नी श्यामुलाई योग्यता, क्षमताअनुसार रोजगारीको व्यवस्था मिलाउन धनुषाधाम नगरपालिकालाई अनुरोध गर्ने, मृतकको मिटर ब्याजसम्बन्धी मुद्दामा कानुन बमोजिम छिटोछरितो समाधान गरिदिन गृहमन्त्रालयलाई अनुरोध गर्ने, मृतकको शवलाई सामाजिक परम्पराअनुसार सद्गद् गर्ने, मृतकको परिवारलाई भरपर्दो शान्तिसुरक्षा र जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था जिल्ला प्रहरी कार्यालयमा मिलाउने तथा मृतकका विषयमा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो ।
सहमति भएसँगै उनीहरुले पीडितहरुले जारी राखेको आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । सहमति पत्रमा प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया, सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरि, प्रहरी नायब उपरीक्षक रञ्जन अवासहितले हस्ताक्षर गरेका छन् ।
भोगेन्द्रको पत्नी श्यामुदेवीका अनुसार उनी नुहाइरहेको समयमा मोबाइलमा भिडियो खिच्न खोज्दा विवाद शुरुवात भएको र लेनदेनको विषयलाई लिएर आफूहरुमाथि कुटपीट गरिएको र श्रीमानको हत्या गरिएको हो । मृतक ठाकुरले शिवजीबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । श्रीमती श्यामुले जग्गा बेचेर पैसा बुझाए पनि हिसाब दिन नमान्दा शिवजी यादवसँग पटकपटक विवाद हुँदै आइरहेको थियो ।
शिवजीले पटकपटक ज्यान मार्नेसम्मको धम्की दिएपछि केही दिनअघि ठाकुरले जिल्ला प्रहरी कर्यालय धनुषामा शिवजीमाथि मिटरब्याजसम्बन्धी उजुरी दिएका थिए । त्यसकै निहुँमा शिवजीकै योजनामा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको छ । उनको हत्या स्थानीय मिटरब्याजी शिवजी यादवको योजनामा भएको दाबी गर्दै उनीसहित घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने मिटरब्याज पीडितको माग थियो । उनीहरुले बिहीबार शवसहित जनकपुर नगरमा विरोध प्रर्दशन गरेका थिए ।






