
वीरेन्द्र रमण
जनकपुरधाम ।
रोगजारीको प्रलोभनमा बेचबिखनमा परेका २८ मजदुरलाई भारतको कश्मिरबाट उद्धार गरिएको छ । उनीहरुलाई रोजगारीको प्रलोभन देखाएर कश्मिरमा लगेर बन्धक बनाएर राखिएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा उद्धार गरिएका २८ जनालाई उनीहरुको परिवारसँग पुनर्मिलन गराइएको छ ।
किन इन्डियाको सहयोगमा उद्धार गरिएका मजदुरलाई मन्त्रालयको जिम्मा लगाइएकामा मन्त्रालयले धनुषा र सिरहाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्धार गरिएका कामदारलाई उनीहरुको परिवारको जिम्मा लगाउन जिम्मा दिएका थिए । करिब ५ महिनादेखि बन्धक बनाइएको सिरहाका २१ र धनुषाका ७ जनालाई रक्सौल नाँका हुँदै धनुषा ल्याइएको थियो । उद्धार गरिएका मजदुरलाई मन्त्रालयलाई हस्तान्तरण गर्दै किन इन्डियाका एक्ज्युकेटिभ डाइरेक्टर नवीनराज जोशीले बिहारबाट केही मान्छे आएर गाउँगाउँ पुगेर रोड बनाउने काम लगाइदिन्छु, राम्रै पैसा हुन्छ जस्ता प्रलोभनमा पारेर भारतको विभिन्न शहरमा लगेर कश्मिर पुर्याउने गरिएको बताए । उनले ५०–५० जनालाई पञ्जाव भनेर लगिने गरेको र त्यहाँबाट जम्मु भनेर कश्मिर पुर्याएपछि उनीहरुसँग भएको मोबाइल, नागरिकता, विभिन्न परिचय पत्र लिएर बन्धक जस्तो बनाइने गरिएको बताए । उनीहरुलाई डर त्रास देखाउन एक, दुईजनालाई एउटा कोठामा लगेर कुटपिट गरी केही पनि भन्न नसक्ने अवस्थामा पुग्ने गरेको बताए ।
जोशीले यसअघि पनि आफुहरुले मधेश प्रदेशकै ३५ जनालाई उद्धार गरेर ल्याएको भन्दै उनले भने, ‘एक महिनाअघि करिब ३० देखि ४० कामदारलाई कश्मिरमा राखिएको जानकारी पाएपछि गृह कार्य सुरु गरेका हौँ, डकुमेन्ट पालिकाबाट, जिल्ला प्रशासन कार्यालयहरुबाट मगायौँ । हामीलाई थाहा भइसकेपछि हाम्रो टिमले मन्त्रालयलाई जानकारी गरायौँ ।’
उनले कश्मिरमा जानमा समेत आफूहरुलाई रोक लगाएपछि भारतस्थित नेपाली दुतावासमा एसएसपी उमा चर्तुवेदी, काउन्सिलरलगायत अन्य एजेन्सीमा फोन गरेपछि मात्र जान दिइएको बताए । फुलवा, कश्मिरलगायत तीन जिल्लामा उनीहरु राखिएकामा जोशीले मन्त्रालय र एम्बेसीसँग हौसला पाएपछि आफूहरुले छानबिन शुरु गरेको भन्दै एम्बेसी आउने कुराकानी रहेपनि भारतले कश्मिरमा डिप्लोमेटलाई जान रोक लगाएकाले उनीहरु प्रत्यक्षरुपमा सहभागी नभएको बताए । ‘भारत सरकारले हामीलाई डाइरेक्ट अपरेशन गर्न एनओसी दिएन्, हाम्रो संस्था त्यहाँ दर्ता भएको हुनाले, हामी त्यहाँदेखि काम गर्ने हुनाले र हाम्रो सम्बन्ध त्यहाँ पहिलादेखि नै रहेकाले रेकी गर्न सक्यौँ,’ उनले भने, ‘हामीले रेकी गरिसकेपछि त्यहाँका प्रशासनसँग, क्राइम ब्रान्चसँग, लोकल प्रहरीसँग सहकार्य गरेर राति ३ बजेको समयमा पुगेर ४ बजे रेड गयोैँ ।’
कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मधेश प्रदेशमा रोजगारीका कारण यस्ता समस्या देखिएको बताए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले तराई मधेशमा बढिरहेको विकराललाग्दो समस्या देखिएको कारणले गर्दा यसखालको समस्या देखिदिएको बताउँदै सर्वसाधारणलाई प्रभोेलनमा नपर्न आग्रह गरे ।






