
सञ्जय मिश्रा
रौतहट ।
संसदीय निर्वाचन क्षेत्र नम्बर २ बाट नेतृत्व गरिरहेका नेकपा एमालेका सांसद किरण कुमार साहले हिन्दूहरूको आस्थाका देवतामाथि अभद्र व्यवहार गर्नेलाई कारबाही माग गरेका छन् । संघीय सदनको शून्य समयमा सांसद साहले आकस्मिक समय लिएर हिन्दूको आस्थासँग खेलवाड गर्ने उपद्रवीलाई कारबाहीको दायरामा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केही दिनअघि सम्पन्न मुस्लिम समुदायको पर्व मोहरम (दाहा) का दिन रौतहटको राजपुर नगरपालिका–६ कुडिया बजार छेउमा केही अराजक, उदण्ड, सामाजिक उपद्रवीले हिन्दूहरूले लोकपर्व छठीको पूजा गर्न बनाएको छठी माताको (आकृति) श्रीस्पतामाथि जुत्ता, तलवार, लठ्ठी राखेर आस्थाको अपमान गरेको सांसद साहले जिकिर गरे ।
यसरी उपद्रवीले हिन्दू सनातन सभ्यता संस्कृतिमाथि ठूलो आघात पुर्याउँदै छठी स्थानमा मुस्लिम समुदायको झण्डा गाड्न खोज्दा ठूलो संख्यामा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरीले विरोध गरेर रोकेका थिए । सो क्रममा हजारौँको संख्यामा रहेका उनीहरूले प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गर्दा डेढ दर्जन प्रहरीलाई चोटपटक लागेको थियो । अवस्था साम्य पार्न प्रहरीले केही सेल अश्रु ग्यास र केही राउन्ड हवाई फायरसमेत गरेको थियो ।
सांसद साहले घटनामा घाइते सुरक्षाकर्मीको र सर्वसाधारणको शिघ्र स्वास्थ लाभको कामना गर्दै सदनको ध्यानाकर्षण गराउदै संलग्न उपद्रवीहरुलाई कडा कारबाही गर्न गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए । मुस्लिम समुदायले त्यस दिन गरेको ज्यादतिपूर्ण व्यवहारको भिडियो सामाजिक सञ्जाल मेटामा भाइरल बनेको थियो ।






