भन्सार छलीको सामानसहित स्कुल बस नियन्त्रणमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
प्रहरीले भन्सार छलीको सामानसहित स्कुल बसलाई नियन्त्रणमा लिएको छ । शुक्रबार प्रदेश २–०३–००१ क ०११६ नम्बरको दिल्ली पब्लिक स्कुलको बसले आफ्नो स्कुलमा अध्यायनरत रक्सौल निवासी विद्यार्थीहरुलाई भारतको रक्सौल छोडी नेपालतर्फ आउने क्रममा अबैध रुपमा भन्सार छलीको सामानसहित बस नियन्त्रणमा लिएको हो ।

बसमा लुकाई छिपाई लोड गरी नेपालतर्फ अबैध रुपमा सामानहरु ल्याउदै गरेको छ भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्र.सि.सु.गुल्म वीरगंज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेट स्थित चेकप्वाईन्ट डिउटिमा खटिएको टोलीले चेकजाँच गर्दा दुई लाख ६३ हजार सात सय रुपैयाँ बराबरको कपडा तथा मोविल लगायतका सामानहरु बरामद गरेको हो ।

बरामद गरिएको उक्त सामानसहित बसका चालक बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय किशोरी राम र सहचालक वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ४२ वर्षीय दिपक गिरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त बसको ३० लाख रुपैयाँ मूल्याकंन गरी कूल ३२ लाख ६३ हजार सात सय रुपैयाँ बराबरको समान तथा सवारी साधनसहित निज चालक र सहचालकलाई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

साथै शुक्रबार नै भारतबाट अबैध रुपमा भन्सार छली स्कुटर तथा विभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको आठ लाख ८६ हजार रुपैयाँ बराबरको किराना सामान, कपडा, डाटा केबल र व्यक्तिले प्रयोग गर्ने नर्मल औषधी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पोखरिया नगरपालिका वडा नम्बर २ बकाहबाट भारतबाट अबैध रुपमा भन्सार छली ल्याई विभिन्न स्थानमा लुकाई छिपाई राखेको ६ लाख ३६ हजार रुपैयाँ बराबरको बदाम, लावा मिठाई, नरिवल, चिउरा, चिनि र चामल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button