
मधेशदृष्टि
महोत्तरी ।
एमाले–कांग्रेस गठबनधनको सरकारमा सामेल भएकै दिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजनको संघारमा पुगेको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले सरकारमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाएपछि पार्टीभित्र असन्तुष्टि चर्किएको हो । असन्तुष्ट पक्षले पार्टी विभाजनको तयारी गरिरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार, लोसपाका नेता तथा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले यसको नेतृत्व गरिरहेका छन् । लोसपा महासचिव मुकेश झाका अनुसार पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको छ । मधेश प्रदेशका नौ सांसदमध्ये चार र लुम्बिनी प्रदेशका ३ जनाले शुक्लालाई साथ दिने महासचिव झाले बताए । लोसपा पदाधिकारीमध्ये २७ जना आफूहरूको साथमा रहेको उनको दाबी छ ।
सहअध्यक्ष शुक्लाले पार्टीभित्र असन्तुष्टि बढेको स्वीकार गरे । ‘पार्टी विभाजन भइसकेको छैन तर अवस्था त्यस्तै सिर्जना भएको छ,’ उनले भने । अध्यक्ष ठाकुरले मन्त्री चयन गर्ने निर्णय न्यायोचित ढङ्गले नगरेको आरोप लगाउँदै शुक्लाले भने, ‘बैठकमै उपस्थित नभएका व्यक्तिलाई मन्त्री बनाइएको छ । यसको मतलब पहिलादेखि नै निर्णय गरेर राखिएको थियो ।’
पहिलादेखि निर्णय गरेर मन्त्री चयन गर्ने तय भइसकेको थियो भने बैठक गर्ने नाटक किन गरेको भन्ने उनको प्रश्न छ । यस सम्बन्धमा आफूले पार्टीभित्रका अन्य साथीहरूसँग सरसल्लाह गरिरहेको उनको भनाइ छ । उनले भने, ‘विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता सम्पर्कमा आइराखेका छन्, अब के गर्ने भन्ने विषयमा छलफल गरेरमात्रै अगाडि बढ्छौँ ।’






