
मधेशदृष्टि
वीरगंज ।
पर्साको ग्रामीण भेगका विभिन्न नाकाबाट धमाधम तस्करीको लाइन खुलेपछि तस्करलाई भ्यानभ्याइजस्तै भएको छ । पर्सा सदरमुकाम वीरगंजमा प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरु ग्रामीण भेगका नाकातिर आकर्षित भएका हुन् । सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी र त्यस क्षेत्रका नेपाल प्रहरीका युनिटको मिलोमतोमा तस्कारी मौलाएको स्थानीय बताउँछन् ।
ग्रामिण भेगको प्रसौनीभाठ्ठालगायतका नाकाबाट केही दिनदेखि चोरीतस्करी खुलेआम भइरहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार यहाँका नाकाबाट दर्जनभन्दा बढी तस्कर लाइन मिलाएर काम गरिरहेका छन् । तस्करबाट सशस्त्र प्रहरीका अधिकृतहरु त मालामाल भएकै छन्, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन ढकाललाई पनि आकर्षक महिनावारी मिलिरहेको छ । दुई महिनापहिला मात्र इलाका प्रहरी कार्यालय पोखरिया आएका इन्स्पेक्टर ढकालले तस्करसँग सेटिङ गर्न सफल भएका छन् । शुरुमै केही तस्कर र दलालहरुसँग हिमचिम बढाएका इन्स्पेक्टर ढकालले तस्करलाई ‘दिलखुश’ भएर तस्करीको ‘लाइन’ दिएका हुन् ।
इन्स्पेक्टर ढकालले तस्करीको लाइन दिएपछि उनी मातहतका प्रहरी युनिटको मिलोमतोमा तस्करहरुले प्रसौनीभाठ्ठा सिमानाका हुँदै भारतबाट घरायसी सामान, चिनी, चामल, मैदा, काजु, चकलेट, बच्चाले पिउने पाउडर दूध, हर्लिस, बिस्कुट, कुर्मुरे, पास्ता, आलुप्याज, फलफूल, तरकारी, माछा, प्रतिबन्धित औषधी, पानमसला, राजनिवास रजनीगन्धा, पराग, सुर्तीजन्य पदार्थ, लुगा धुने डिटर्जेन्टदेखि कुखुराको चल्ला, तयारी ब्वइलर कुखुरा र राँगाभैँसीसम्मको कारोबारलाई गति दिएका छन् । कुनै पनि बेला तस्करी बन्द हुन सक्ने भन्दै लाइन पाएका बेला तस्करहरुले तस्करी धन्दालाई बेहिसाब गति दिएर तस्करी गरिरहेका छन् ।
यस्तै, लत्ताकपडाका थान तथा तयारी पोशाक, जुत्ता–चप्पल, कस्मेटिक्स, भाँडाकुँडाका सामान, इलेक्ट्रिक पार्टस्, मोबाइल पार्टस्, हार्डवेयर, मेसिनरी पार्टस्, पानी तान्ने मोटर, मलखाद तथा केमिकल फर्टिलाइजरलगायतका सामान पनि यतिखेर राजस्व मार्दै आरामसँग तस्करको साथमा रहेर प्रहरीको स्कर्टिङ जस्तै गरेर नेपाल भित्रिइरहेको छ । नेपालबाट चैँ स्थानीय घरेलु मदिरा र कम गुणस्तर भएको लिची, कस्तुरी, सोफीलगायतका रक्सी भारत पठाउन कारोबारीहरुलाई भ्याइनभ्याइ छ ।
यस्तै, प्रहरीले तस्करलाई अपत्यारिलो ढंगमा सहजीकरण गरिदिएपछि दिनभर तस्करीका सामान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राति पिकअपमा लोड गरी नेपालका विभिन्न ठाउँमा पठाउने काम भइरहेको छ । यस्तै, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकाले भारतीय कोक, प्mयान्टा, स्प्राइट, म्यांगो जुसलगायतका पेय पदार्थ तस्करहरुले नेपाली बजारमा ल्याइरहेका छन् । यसले एकातिर राजस्व मारिरहेको छ । अर्कातिर नेपाली उत्पादनलाई मार पारिरहेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया मातहतका प्रहरी चौकी धोरे, प्रसौनीभाठालगायतको प्रहरी युनिटको मिलोमतोमा तस्करीका सामान प्रसौनीभाठ्ठा गाउँमा भण्डारण हुने गरेको छ । जब अरु साँझ परेपछि सुत्ने तर्खर गर्छन् । त्यसपछि तस्करहरु पिकअप गाडी लिएर पुग्छन् र लोड गरी पठाउन थाल्छन् । नजिकका प्रहरी कार्यालयहरु नदेखे झैँ गर्छन् ।
प्रसौनीभाठ्ठा सीमानाकाबाट प्रहरी प्रशासनले तस्करीका लागि मौखिक लाइसेन्स बाँडे झँै लाइन क्लियर गरिदिएपछि तस्करहरुले खुलेयाम दिनदहाडै भन्सार छलेर अवैधरूपमा भारतीय सामान तस्करी गरी पर्साका ग्रामीण बजार पोखरिया, केहुनिया, महुवन बजार, विश्रामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जीतपुरलगायतका ठाउँमा सञ्चालनमा रहेका पसलमा दिने गरेका छन् । भारतसँग जोडिएको पर्साको ग्रामीण बजारका अधिकांश पसलहरु सरकारका कुनै निकायमा दर्ता छैनन् र त्यसमा पनि ९० प्रतिशत चोरीतस्करीबाट भित्रिएका भारतीय सामान बेचबिखन हुने गरेको छ । तर सम्बन्धित निकायको यस्तो गम्भीर विषयमा सामान्य ध्यान पुग्न नसकेर हो या ‘आकर्षक महिनावारी’को मोहले हो, सबै ‘तैँ चुप–मै चुप’मा देखिन्छन् ।






