
वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा छलफलपश्चात विनियोजन विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो । छलफलक्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिएपछि मुख्यमन्त्री सतिश कुमार सिंहले विनियोजन विधेयक पारित गर्न प्रदेशसभामा प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।
विनियोजन विधेयकको विपक्षमा कुनै सांसदले मत जाहेर नगरेकाले सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा आगामी आवको लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ अर्थात कुल बजेटको ३६.४५ प्रतिशत रहेको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात ६३.५५ रहेको छ । बजेट ल्याएको चोथो हप्तामा मात्र बजेटमाथि छलफल शुरु भएको थियो । बजेट ह्याक भएको भन्दै जनता समाजवादी पार्टी नेपाललगायतका दलले विरोध जनाएपछि बैठक अवरुद्ध हुँदै आएको थियो ।
आइतबार सर्वदलिय बैठकपश्चात बसेको बैठकमा सभामुख मण्डलले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको जानकारी गराएपछि छलफल पश्चात बजेट पारित भएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले ५० लाख रुपैयाँ भन्दा तलका कुनै योजना नराख्ने नीति लिएका कारण दुई तीन वटा योजना एउटैमा समेटने प्रयास गरिएको बताए । उनले यस किसिमको विवाद नआउने बताए । विनियोजन विधेयकअन्र्तगत उनले सम्हालेको मन्त्रालयको प्रश्न उठेपछि जवाफ दिनेक्रममा योजना माग्दा सामाजिक विकासका क्षेत्रमा थोरै माग्ने गरिएको बताउदै बढी भन्दा बढी योजना भौतिकसँग मात्रै माग्ने गरिएको बताउँदै प्रदेश सभामा ठूला कुराहरु गर्ने गरिएको बताए । उनले भने, ‘कृषि, वन पर्यटनसँग सम्बन्धित योजना लिएर कुनै पनि प्रदेश सभाका सदस्य नआएको बताउँदै रोष्ट्रममा उभिएर ठूलो भाषण गर्ने गरेको बताए ।
मुख्यमन्त्री सिंहले गाडी दुरुपयोग भइरहेको बताउदै कानूनविपरीत गाडी प्रयोग गर्नेलाई आउने दिनमा कानूनअनुसार कारबाही गरिने बताए । सिंहले भने, ‘६ वर्षमा बढी दुरुपयोग गर्नेहरु अहिले आएर ठूला कुरा गरिरहेका छन्, आप किये तो चत्कार हम किये तो कैरेक्टर ढिला ।’ उनले विगतमा भएको कमजोरी सुधार गर्दै सरकार अगाडि बढ्ने बताए । सिंहले सरकार प्रदेश सभाप्रति प्रतिवद्ध रहेको बताए ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सीमित समयका बाबजुद पनि आफूहरुले राम्रो बजेट ल्याएको बताए । उनले विगतका सरकारले बनाएको बजेट भन्दा यसपटकको बजेट अग्रगामी रहेको बताउदै थोरै समयमा पनि राम्रो बजेट निर्माण गरिएको बताए ।
विनयोजन विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै यसपटक धेरै नयाँ बजेट आएको बताउदै एक क्षेत्र एक पक्की पुलको निर्माण जस्ता योजना ल्याइएको उनले बताए । यादवले गाडी दुपयोग रोक्नसमेत सरकार प्रतिवद्ध रहेको बताउँदै सरकारी सोधनस्रोतको दुरुपयोग नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताए ।
त्यसैगरी, शिक्षा तथा संस्कृतिमन्त्री राजकुमार लेखीले शिक्षा, प्रदेश सरकारको प्राथमिकतामा नपरेको बताउँदै सीमित स्रोतका आधारमा अगाडि बढेको बताउँदै शिक्षालाई राम्रो बनाइएको बताए । उनले भने, ‘नमूना विद्यालय कार्यक्रम ल्याएका छौँ, यसले विद्यालयको शिक्षा सुधारमा बल पुग्नेछ । त्यसैगरी, गरिब विपन्न विद्यार्थीका लागि सहयोगको वातावारण निर्माण गरिएको छ ।’ लेखीले शिक्षा सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह कोइरीले विगतमा योजनाको दुरुपयोग हुने गरेको र यसलाई रोक्न सरकारले प्रयास गरिरहेको बताए । उनले सानातिना त्रुटि भए पनि बजेट राम्रो आएको बताउँदै मन्त्रालयमा धेरै भ्रदगोल देखिएकाले त्यसलाई सच्याउन आफू त्रियाशील रहेको बताए ।
खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले थोरै बजेट पाएका कारण सबै सन्तुष्ट बनाउने गरी योजना आउन नसक्ने बताउँदै अगामी दिनमा खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले खेलकुद र समाज कल्याणको विकासको लागि सरकार प्रतिवद्ध रहेको बताए । वन तथा वातावरण मन्त्री त्रिभुवन साहले बजेट निर्माणमा कुनै पनि किसिमले भेदभाव नगरिएको र योजना एकनास रुपमा विनियोजन गरिएको बताए । उनले वन मन्त्रालयले सबै क्षेत्रलाई समेटेर योजना निर्माण गरिएको बताए ।






