कांग्रेसबाट नयाँलाई सरकारमा अवसर

[mashshare]

प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको नेकपा एमाले ४ मन्त्रालय लिएर सरकारमा छ । एमालेले पनि कांग्रेस र आफूहरुको सरकारमा समान हैसियत हुन नसक्ने बताएको छ । कांग्रेसलाई चार मन्त्रालय दिए एमालेले थप एक मन्त्रालय पाउनुपर्ने एमालेको माग छ ।

मधेशदृष्टि
जनकपुरधाम ।
नेपाली कांग्रेसले मधेश सरकारमा सहभागी हुने ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ । आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो । यद्यपि मधेश प्रदेश सरकारमा कांग्रेसलाई ३ मन्त्रालय मात्र दिन सकिने भन्दै मुख्यमन्त्री सतिश कुमार सिंहले सन्देश पठाएका छन् । यसपछि कांग्रेसले सिफारिस भएका मन्त्रीहरुको नाम सार्वजनिक गरेको छैन ।

कांग्रेस स्रोतका अनुसार, रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाइन लागिएको हो । कांग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सिंहले तीनवटा मात्र मन्त्रालय दिने तयारी गरेका छन् । प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको नेकपा एमाले ४ मन्त्रालय लिएर सरकारमा छ । एमालेले पनि कांग्रेस र आफूहरुको सरकारमा समान हैसियत हुन नसक्ने बताएको छ । कांग्रेसलाई चार मन्त्रालय दिए एमालेले थप एक मन्त्रालय पाउनुपर्ने एमालेको माग छ ।

मुख्यमन्त्री सिंहले नेपाली कांग्रेस र नेकपा एमालेलाई यस विषयमा छलफल गर्न बोलाएका छन् । केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमति भएको थियो । कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।

यता, सरकारमा यसअघि अवसर नपाएकालाई मात्रै मन्त्री बनाउने मापदण्ड निर्धारण गरेर नेपाली कांग्रेसले नाम छनौट गरे पनि पार्टीभित्रका नेताहरुको गुटबाट नाम सिफारिस भएको पाइएको छ । मन्त्रीको नाम आधिकारिकरुपमा सार्वजनिक पनि गरिएको छैन भने अर्थ मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालय र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा दाबी गरिरहेकोक छ ।

कांग्रेसका विभिन्न चार जना नेताले प्रदेशमा आफ्ना नेताहरुलाई मन्त्री बनाउन लबिङ गरेको विषय पनि बाहिरिएको छ । कांग्रेस नेता रमेश रिजालका तर्फबाट जनार्दन क्षेत्री, महेन्द्र यादवका तर्फबाट शेषनारायण यादव, कृष्ण यादवका तर्फबाट सुनिल यादव र शेखर कोइरालाका तर्फबाट कौशल किशोर रायलाई मन्त्रीको अवसर बाँडफाँड भएको भन्दै कांग्रेस वृत्तमा नेताहरुको भागवण्डामा असन्तुष्टि पनि छाएको छ । उसो त प्रभावशाली नेता आनन्द प्रसाद ढुंगानाका तर्फबाट धनुषाका संजय कुमार महतोले यसअघि नै प्रदेशसभाको विषयगत समिति अन्तर्गत कृषि समिति सभापतिको मौका पाएको पनि सूचना बाहिर आएको छ । कांग्रेसले शनिबार मात्र प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button