
मधेशदृष्टि
रौतहट ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित ११ कर्मचारीलाई सामुदायिक भवनमा अनियमितता भएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मेयर अजय प्रकाश र उपमेयर रीता देवी तथा प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित १ज्ञ जना कर्मचारीविरुद्ध बिहीबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८–७९ मा टायल्सको कामका लागि रकम बिनियोजन भएकामा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । यससम्बन्धमा अनुसन्धान हुँदा अनियमित ढंगले १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिई–दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएसँगै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।
अख्तियारले प्रमुख प्रशासकीय अधिकृत साह र इन्जिनियर राजेश कुमार साहविरुद्ध पनि सोही बराबर कैद र बिगोबमोजिमको जरिवाना मागदाबी गरेको छ । यस्तै मेयर अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पन्चानब्बे पैसा कायम गरी कैद र बिगो बमोजिम जरिबानाको मागदाबी गरिएको छ ।
यस्तै, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्धसमेत बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैया पन्चानब्बे पैसा बिगो मागदाबी लिएर मुद्दा दायर भएको घिमिरेले जानकारी दिए । यस्तै, उपप्रमुख रीता देवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश बिक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलमको हकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।






