मधेश सरकारमा आआफ्नै दाबी

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
हठात् केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुअघि नै मधेश प्रदेश सरकारमा संकट देखिएको छ । संसदका पहिलो र दोस्रो शक्ति नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केन्द्र र प्रदेश सरकार सञ्चालनको सहमतिपछि मधेश सरकारको आयुबारे अन्यौलत बढेको हो । २७ दिनअघि जनमतका सतिश कुमार सिंहलाई मुख्यमन्त्री बनाएका दलहरु तितरबितर हुँदा र नयाँ पार्टीहरुको गठबन्धन बन्दा शनिबार मुख्यमन्त्री सिंहले लिने विश्वासको मतबारे प्रश्न उठेको हो ।

केन्द्रीय गठबन्धनले मधेशमा मधेशवादी दलहरुलाई नै सरकारको नेतृत्व दिने भनेपछि जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोसपा नेपाल मधेश सरकारमा आफ्नो दाबी पेश गरिरहेका छन् । आफ्नो मुख्यमन्त्रीले निरन्तरता पाउनु पर्ने जनमतको दाबी छ । यसका लागि जनमतले अब बन्ने एमाले–कांग्रेस गठबन्धनलाई साथ दिने पनि बताइसकेका छन् । तर एमाले र कांग्रेसको धारणा नआएकाले सबै प्रतिशोधको राजनीतिमा उत्रेर मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । आफ्नै दलको नेतृत्वमा बनेको सरकारलाई सहयोग गर्न जनमत पार्टी अध्यक्ष सीके राउत प्रयासरत छन् ।

६ वर्षसम्म आफ्नो हालिमुहाली रहेकामा जनमतले २७ दिन अघि खोसेको सत्ता फिर्ता गराउन नयाँ गठबन्धनलाई साथ दिने घोषणासहित जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव पनि प्रदेश सरकार फिर्ता पाउनु पर्ने मुद्दामा दौडधूपमा छन् । विश्वासको मत लिने दिनलाई नै लक्षित गरेर दुवै पार्टीका अध्यक्षले राजनीतिक भेटघाट तीव्र बनाएका मात्रै छैनन्, जनमत पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत र जसपा नेपाल कांग्रेस सभापति शेरबहादुर देउवामार्फत आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन क्रियाशील भएका छन् ।

एमाले र माओवादी गठबन्धनले पार्टी फुटाएर दुःख दिएको झोक फेर्न पनि जसपा नेपाल कांग्रेस गठबन्धनमा जोडिएको थियो तर कांग्रेस एमाले नै गठबन्धनमा उत्रिएपछि पनि जसपा नेपाल कांग्रेसमार्फत आफ्नो गुमेको साख फिर्ता गराउन क्रियाशील बनेको हो ।
यस्तै, लोसपा अध्यक्ष महन्थ ठाकुर अब लोसपा नेतृत्वमा मधेशमा सरकार बन्नु पर्ने लबिङमा छन् । तीन पार्टीका नेतृत्व मधेशमा आफ्नो सरकार स्थापित गर्ने होडमा दौडधूप गरिरहेका छन् ।

एमालेको २४ र कांग्रेसको २२ प्रदेश सांसद रहेको मधेशमा जनमत, लोसपा, जसपा नेपालमध्ये एउटा मात्र पार्टी लिँदा पनि बहुमतको सरकार बन्ने अवस्था छ । तर दुई तिहाइ जुटाएर केन्द्रमा संविधा नै संशोधनको मुद्दासहित एक भएको एमाले कांग्रेस गठबन्धनलाई सबै दलहरुको समर्थन जरुरी छ । यस्तो अवस्थामा मधेश सरकारबारे बिहीबार रातिसम्म एमाले–कांग्रेसले केही बोलेका छैनन् । उसो त मधेशमा लामो समयदेखि नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने ध्याउन्नमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button