
महेश कठायत
वीरगंज ।
करिब तीन साताअघि पर्साको जगरनाथपुरमा मृत फेला परेका दुई व्यक्तिको हत्या आफन्तबाटै भएको तथ्य खुलेको छ । पर्सा प्रहरीले घटनामा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा पर्सा, जगनाथपुर गाउँपालिका वडा नम्बर ५ का सन्तोषकुमार कुम्हार, महादेव महतो नुनिया र बारा, कैलया उपहानगरपालिका वडा नम्बर ५ का लक्ष्मणकुमार प्रजापति छन् । प्रहरीले उनीहरु तीनै जनालाई असार १८ गते मंगलबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।
जेठ २९ गते मगंलबार पर्सा, जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपूर्वा टोलस्थित ओरिया खोला किनारमा दुई वटा शव भेटिएका थिए । मृतकहरु थिए, बाराका सुरेश ठाकुर र रामएकवाल पण्डित कुम्हार । सुरेश र उनका साथी रामएकवाल विगतदेखि नै धामीझाँक्रीको काम गर्दै आएको र उनीहरुलाई बाराबाट धामीझाँक्रीको काम भएको विश्वास दिलाइ दुवै जनालाई घटनास्थलसम्म पुर्याएर हत्या गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरुको शव जेठ २९ गते फेला परेको भए पनि जेठ २५ गते साँझ नै हत्या भएको पाइएको छ ।
प्रहरी अनुसान्धानमा पक्राउ परेका लक्ष्मण, मृतक रामएकवाल पण्डितका भतिजा रहेको र उनी नै मुख्य योजनाकार रहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताए । लक्ष्मणले नै भिनाजु नाता पर्ने सन्तोषको सहयोगमा ८ लाख रुपैयाँको सुपारी दिएर हत्या गर्न लगाएको खुलेको हो । उनका अनुसार, हत्याको कारण पारिवारिक रिसइबी, जग्गाजमिन विवाद र अन्धविश्वास रहेको एसपी ढुंगेलले बताए ।
भतिजा लक्ष्मणकै योजनामा जेठ २५ गते ‘झारफुक गर्नुछ’ भनेर रामएकबाल र सुरेशलाई पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ बिसुनपूर्वास्थित ओरिया बोलाइएको थियो । सोही दिन साँझ बारा, कलैयाबाट बस चढेर वीरगंजको पावरहाउस चोक आइपुगेका रामएकबाल र सुरेश त्यहाँबाट गाडी चढेर पर्साको विन्दबासिनी चोक पुगेका थिए । विन्दबासिनी चोकबाट दुवै जनालाई हत्यामा संलग्न एक व्याक्तिले आफ्नो मोटरसाइकलमा राखेर बिसुनपूर्वास्थित ओरियाखोला (घटनास्थल) पुर्याएका थिए । ओरिया खोलाको दशगजा क्षेत्रमा राति पुगेकै बेला त्यहाँ लक्ष्मण र सन्तोषले हत्या गर्न ८ लाख रुपैयाँ (सुपारी) दिएर खटाएका व्यक्तिले गम्छाले दुवै जनाको घाँटीमा बेरेर थिचेर हत्या गरेको र शव बालुवामा गाडेर उनीहरु फरार भएको पाइएको एसपी ढुंगेलले जानकारी दिए ।
घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएको भन्दै एसपी ढुंगेलले उनीहरुको खोजी भइरहेको र चाँडै पक्राउ पर्ने बताए । मृतकको शव नेपाल भारत सीमानाको दशगजाभन्दा ८० मिटर नेपालको सरहदभित्र भेटिएकाले पनि अनुसन्धान गर्न सजिलो भएको प्रहरीले जनाएको छ । मुख्य योजनाकारसहित पक्राउ परेका तीनै जनामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






