
मधेशदृष्टि
जनकपुरधाम ।
नेपाली कांग्रेसको समर्थनमा नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारमा सबै मधेशी दलहरु सहभागी हुने देखिएको छ । मधेश प्रदेश सरकारमा पानी बाराबारको अवस्थामा उभिएका दलहरु केन्द्रीय सत्ता गठबन्धनमा सहभागी हुने अवस्थामा पुगेका हुन् । मधेशमा उदाएको जनमत पार्टीसँग परै बसिरहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारमा जाने देखिएको छ । उसो त जसपा नेपाललाई टक्कर दिइरहेको सिके राउत नेतृत्वको जनमत पार्टी पनि नयाँ सत्ता साझेदारीमा सामेल हुने बताइएको छ । जसपा नेपालका अध्यक्ष यादवले नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भई बनेको नयाँ गठबन्धनलाई साथ दिने घोषणा गरेका छन् ।
यस्तै, राउत नेतृत्वको जनमत नयाँ गठबन्धनमा पनि जोडिने भएको छ । मधेश प्रदेश सरकारलाई निरन्तरता दिन पनि उसलाई नयाँ सत्ता गठबन्धनसँग मिल्नै पर्ने दबाब छ । अन्यथा मधेश प्रदेश सरकारमा विश्वासको मत नलिँदै सरकार ढलने मात्र होइन फेरि उपेन्द्र यादव नेतृत्वकै जसपा नेपालले मुख्यमन्त्री पाउने सम्भावनाबारे जनमत जानकार छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि नयाँ गठबन्धनप्रति सकारात्मक देखिएको छ । यस्तै, जसपा नेपाल विभाजन गरेर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि कांग्रेस–एमाले गठबन्धनलाई सघाउने संकेत गरेको छ । लोसपा महासचिव मनिष मिश्र बदलिँदो परिस्थितिबारे पार्टीमा छलफल हुन बाँकी रहेको तर कांग्रेस–एमाले गठबन्धनप्रति दल सकारात्मक रहेको बताउँछन् ।
जसपाका महासचिव इस्तियाक राईले बदलिँदो नयाँ राजनीतिक परिस्थितिबारे पार्टीमा छलफल चलिरहेको बताउँछन् । मधेश प्रदेश सरकारमा मधेशी दललाई नै नेतृत्व दिने र संविधान संशोधनलगायतका जटिल विषयमा सर्वपक्षीय सहमति जुटाउनु पर्ने भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाहेक सबै दललाई सरकारलाई साथ दिन आव्हान गरेपछि मधेशी दलहरु केन्द्र सरकारमा सहभागितासँगै मधेश सरकारमा वर्चश्वका लागि पनि सकारात्मक देखिएका हुन् । तर मधेशको मुख्यमन्त्रीका विषयमा भने फेरि पनि जसपा नेपाल र जनमतबीच टकराव हुने अनुमान गरिएको छ ।
तत्काल मन्त्री फिर्ता नहुने
नेकपा एमालेले गजबको निर्णय गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अपिल गरेको छ तर सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई फिर्ता नबोलाउने निर्णय गरेको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिए । उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको खुलासा पनि गरे ।
मन्त्रीहरुलाई काम गर्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिएका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताए । अहिलेसम्म कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित काम जारी राख्न भनेको उनले उल्लेख गरे । उनले नियमित काम गर्न प्रधानमन्त्रीको निर्देशन भएको हुनाले आफूले मन्त्रालयका नियमित काम गरिरहेको बताए ।






