‘कांग्रेस–एमाले सहमतिः नयाँ परिवर्तनको प्रारम्भ’

[mashshare]

महेश कठायत
वीरगंज ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र नेकपा एमालेबीच स्थानीय तहको संख्या घटाउने सहमति भएको बताएका छन् । कांग्रेस र एमालेबीच सोमबार राति भएको समझदारीमा संविधानमा सुधारदेखि पालिका संख्या घटाउने विषयमा पनि सहमति भएको नेता कोइरालाले बताए । नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्न लागेको गठबन्धन सरकारले संविधानमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहका विषयलाई गम्भीरताका साथ लिने उनको दाबी छ ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ ले मंगलबार वीरगंजमा गरेको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीमा सुधारको खाँचो औँल्याए । अहिलेको निर्वाचन प्रणाली खराब नभएको तर निर्वाचन प्रणाली खराब बनाइएकाले मिश्रित निर्वाचन प्रणालीबाट कुनै पनि दलको एकल बहुमत आउन नसक्ने कुरामा सत्यता रहेको उनले बताए । त्यसैका लागि निर्वाचन प्रणाली बदल्न खोजेको सुनाउँदै उनले निर्वाचन प्रणाली कस्तो बन्ने भन्ने विषयमा सहमति हुन बाँकी रहेको बताए । उनले भने, ‘निर्वाचन प्रणाली बदलेर कस्तो बनाउने भन्ने विषयमा सबैको आआफ्नै धारणा भए पनि विज्ञहरुको सुझावका आधारमा सहमति बन्न सक्छ भन्ने लाग्छ ।’

‘नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिन सक्यो भने एउटा गन्तव्यमा पुग्न सकिन्छ’ भन्ने विषय आफूले विगतदेखि पटकपटक भन्दै आएको स्मरण गर्दै नेता कोइरालाले अहिले त्यही विन्दुमा एमाले र कांग्रेसबीच समझदारी भएको बताए । अब बन्ने गठबन्धन सरकारले पार्टीभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्न सके समृद्ध देश बनाउन सकिनेमा दुई मत नभएको उनले दाबी गरे । नेता कोइरालाले कांग्रेस पार्टीभित्रको तिक्तता हटाएर एकजुट हुनसके कसैले हराउन नसक्ने दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे गिरिजाप्रसाद कोइरालाले सम्वाद, सहमति र सहकार्यको कुरामा जोड दिँदै आएको स्मरण गर्दै यो कांग्रेसको विशेषता भएको बताए । कांग्रेस पार्टीभित्र एकताको खोजी गर्नुपर्ने बताउँदै सहमहामन्त्री पाण्डेले भने, ‘नेपाली कांग्रेसका सबै जना एक ठाउँमा उभिऔँ । नेपाली कांग्रेसका सबैले रुख चिन्हमा मत हाल्यौँ भने नेपाली कांग्रेस कुनै वडामा, जिल्लामा, निर्वाचन क्षेत्रमा कमजोर छैन । त्यसैले त्यो एकता र सहकार्यको खोजी पार्टीभित्र गरिनु पर्छ ।’ सहमहामन्त्री पाण्डेले २०८१ सालभित्रै भ्रातृसंस्थाहरुको अधिवेशन गराउने र पार्टी महासमिति बैठक गर्ने, २०८२ मा पार्टी महाधिवेशन गर्ने, २०८३ लाई २०८४ को निर्वाचन तयारी वर्षका रुपमा लिई काम गर्नसके २०८४ मा पार्टीले सफलता हात पार्न सकिने धारणा व्यक्त गरे ।

सहमहामन्त्री पाण्डेले कांग्रेस र एमालेबीचको सहमतिले नयाँ परिवर्तनको सम्भावना देखिएको बताए । अहिले कांग्रेसले चालेको कदम कसैलाई प्रधानमन्त्री वा मन्त्री बनाउन नभई व्यवस्थामाथि उठेका प्रश्नको जवाफ दिन भएको उनको भनाइ थियो । साथै, उनले संविधान कार्यान्वयनको विगत दश वर्षको अवधि संविधानमाथि पुनरावलोकन गर्ने समय पनि भएकाले कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताए ।

त्यस्तै, पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अहिलेको निर्वाचन प्रणालीले कुनै दलको बहुमत आउनसक्ने अवस्था नभएको भन्दै संविधानमा व्यापक संशोधन आवश्यक रहेको बताए । देशमा ७ सय ५३ स्थानीय तह राख्नुपर्ने औचित्य नभएको भन्दै उनले स्थानीय तहलाई ३ सय ५० को हाराहारीमा राखेर शक्तिशाली बनाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन संगठन बलियो बनाउनुपर्ने र वडादेखि संघसम्म कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए ।

संघीय सांसद एवम् पूर्वमन्त्री शंकर भण्डारीले पार्टी गुटका नाममा एकले अर्कालाई स्वीकार्न नसकिने अवस्थामा पुगेको बताए । पार्टीमा अनुशासन उल्लंघनको समस्या देखिएकाले निरुपणका लागि वडा तहबाट नै छलफल आवश्यक रहेको उनले बताए । संविधानमा भएको प्रदेश संरचनाबारे पुनव्र्याख्या हुन आवश्यक रहेकाले त्यसका लागि बहस चलाइनुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेस पर्साका पार्टी सभापति एवम् प्रदेशसभा सदस्य जर्नादन सिंह क्षेत्रीले देशको सबैभन्दा ठूला दुई दल मिलेर सरकार सञ्चालन गर्न लाग्नुले जनतामा आशासमेत जगाएको बताए । कांग्रेस र एमालेको गठबन्धन सरकारले संविधानमा भएका कमजोरीसमेत सुधार गर्ने उनले विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री सुरेन्द्र चौधरीले देशको राजनीति परिर्वतनको दिशामा अघि बढिरहेको भन्दै त्यो स्वाभाविक भएको बताए । राजनीति सत्ताका लागि नभई लोकतन्त्रको स्थायित्वका लागि हुनुपर्नेमा उनले जोड दिए । प्रदेशसभा सदस्यहरु श्याम पटेल, शंकर चौधरी, राजेन्द्रबहादुर अमात्यले गिरिजाप्रसाद कोइरालाको योगदानको प्रशंसा गर्दै कांग्रेस र एमालेबीचको गठबन्धन सही उद्देश्यका लागि भएको जिकिर गरे ।

फेरि ठडियो गिरिजाको शालिक
करिब नौ वर्षपहिले मधेश आन्दोलनक्रममा तोडफोड गरिएको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक फेरि ठडिएको छ । पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २, छपकैयाको इदगाह चोकमा जिपी कोइराला फाउन्डेसनले पुनर्निर्माण गरेको स्वर्गीय कोइरालाको शालिक मंगलबार कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अनावरण गरे ।

कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित शालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, रमेश रिजाल, अजय चौरसिया, अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल, शंकर चौधरी, पूर्वमन्त्री ओमप्रकाश शर्मा, संविधनसभा सदस्य अजय द्विवेदी, वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button