बैंकमा आगलागी, साढे दुई घण्टापछि नियन्त्रणमा

सशस्त्रका एसपीसहित तीन प्रहरी घाइते

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंजको आदर्शनगरस्थित सिद्धार्थ बैँकको शाखामा भएको आगलागी साढे दुई घण्टापछि नियन्त्रणमा आएको छ । वीरगंज महानगरपालिका वडा नम्बर ६ आदर्शनगर स्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार अपरान्ह ५ः३० बजेबाट शुरु भएको आगलागी ७ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणक्रममा सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) राधेश्याम धिमाल नै घाइते भएका छन् । उनको हात जलेपछि नौ टाँका लगाइएको छ । यस्तै, अन्य दुई सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।

दोस्रो तलाबाट शुरु भएको आगो क्रमशः तेस्रो र चौथो तलामा सल्किएपछि भवनभर धुँवाको तुवालो फैलिएको थियो । स्थानीयले आफैँले भवनको सिसा फुटाएका थिए । सिसा फुटेर आधा दर्जन व्यक्ति सामान्य घाइते भएका थिए । आगलागीले कम्प्युटर, कागजपत्र र फर्निचर तथा सामान जलेर नष्ट भएको बताइएको छ । यद्यपि बैंकको रकममा भने आगलागीबाट क्षति नभएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार आगालागी सूचना प्राप्त भएपछि प्रहरी नायव उपरीक्षक दिपक भारतीको कमाण्डमा ९५ जना प्रहरी, ७५ जना सशस्त्र प्रहरी र २० जना नेपाली सेना खटिएका थिए । आगलागी नियन्त्रणका लागि वीरगंज महानगरबाट २ थान दमकल, जितपुरसिमरा बाराबाट १ थान, पोखरिया नगपालिकाबाट १ थान, कलैया उपमहानगरपालिकाबाट १ थान, पर्सागढी नगरपालिकाबाट १ थान, सखुवाप्रसौनी गाउँपालिकाबाट १ थान दमकल मगाइएको थियो ।

साथै, नेपाल प्रहरी विपद व्यवस्थापन गुल्मबाट १ थान, छिमेकी राष्ट्र भारतको रक्सौलबाट १ थान दमकल र विभिन्न संघसंस्थाहरुको सहयोगमा पानी ट्याङ्करको सहायतले आगालागी नियन्त्रणमा लिएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि अन्य क्षतिको विस्तृत विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button