
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रज्ञा प्रतिष्ठानले गरेको शब्दकोश निर्माणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आइतबार भएको छ । मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरको अध्यक्षतामा भएको गोष्ठीमा नेपालका चर्चित भाषा वैज्ञानिक डा. रामावतार यादव, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, भाषाविद् डा. दानराज रेग्मीलगायत भाषा विज्ञानका ज्ञाताको उपस्थिति थियो ।
त्यस्तै, विभिन्न तप्का र क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका २० जना विद्वानको रचनात्मक उपस्थितिमा अध्यक्ष भ्रमरद्वारा प्रस्तुत अवधारणापत्रकै आधारमा दुई दिनसम्म चलेको कार्यशाला गोष्ठीको प्रथम दिनमा शब्दकोष निर्माणको आवश्यकता र सम्भावित स्वरुपमाथि विमर्श भएको थियो भने दोश्रो दिन आइतबार प्रतिष्ठानले अब बनाउने शब्दकोश समावेशी नै हुने र यो नेपालको लागि नौलौ प्रयोग हुने दाबी गरिएको थियो ।
डा. रामावतार यादवले समावेशी शब्दकोष निर्माणमा गणकको दक्षता महत्वपूर्ण हुने भएकाले उनीहरुलाई प्रशिक्षण व्यवस्था गरिनु पर्ने बताए । डा. दानराज रेग्मीले नेपालको शब्दकोशको इतिहासमा यो शब्दकोश कोशेढुंगा हुने विश्वास व्यक्त गर्दै यसले अन्य क्षेत्रलाई पनि यतातिर प्रेरित गर्ने आशा व्यक्त गरे ।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले यस्तो महत्वपूर्ण कार्यमा आफ्नो पूर्ण सहयोग र सहकार्य रहने विश्वास दिलाए । गोष्ठीमा मैथिली, भोजपुरी, बज्जिका, मगही, थारु, उर्दू, नेपालीसमेतका भाषाविज्ञको सहभागिता थियो ।






